• शुक्रबार, १८ फाल्गुण, २०८०
  • १०:३९:११

चौरङ्गेफेदीको चारतले 'काउली–घर'

वेद भट्टराई

काठमाडौँ, २२ चैत । चैते दशैँको दिन बिहानै चिया पिएर यसपाली हामी काठमाडौंबाट पूर्वतिर लाग्यौँ । गाउँका मानिसहरुलाई भेट्ने अनि विगत र वर्तमानसँगै भविष्यको कार्ययोजनाका सम्बन्धमा पनि छलफल गर्ने हाम्रो लक्ष्य थियो । गाउँका मानिस भन्नासाथ हाम्रो मस्तिष्कले सोझै विपन्नतातिर लैजाने गर्छ । गरिबी, अभाव, अशिक्षा र अचेतनको अवस्थासम्म पनि सोच्दछ । त्यस्तो सोचाइमा आंशिक सत्यता भएता पनि बदलिएको अहिलेको परिस्थितिमा गाउँमा बस्ने मानिसहरु सामाजिक वा राजनीतिक सचेतना, आय आर्जन र जीवन–निर्वाह कला, प्रविधि र विकास, लगनशीलता, इमान्दारिता र सहयोगी भाव, समन्वय, सहकार्य र आत्मीयता आदि अनेक पक्षबाट उनीहरु शहरमा रहने मानिसहरु भन्दा कयौँ गुणा बढी अब्बल भेटिन्छन् । आय आर्जनको कला के हो ? र कसरी आय आर्जन गर्न सकिन्छ भन्ने कुरामा उनीहरु निकै सबल भइसकेका छन् । सीमान्तकृत भन्ने गरिएको वर्ग र महिलाहरुमा समेत यो भाव अझ टड्कारो बन्दै गएको छ । 

त्यस दिन काभ्रेको जोरसल्ला र चौरङ्गेफेदीका केही किसानहरुलाई भेटेपछि मेरो मनमा यस्ता भावहरु क्रमशः आइरहे । किसानहरुलाई यसरी सबलीकरण गर्ने श्रेय अरु ज–जसको भागमा जेजति परेपनि उनीहरुकै भनाइअनुसार वातावरण तथा कृषिको क्षेत्रमा करिब तीन दशकभन्दा अधिदेखि कृयाशील रहेको सिप्रेड नामक संस्थाको भागमा बढी परेको रहेछ भन्ने मलाई त्यस दिन अनुभूति भयो । हाम्रो साथमा सिप्रेडका कार्यकारी सदस्य तथा बरिष्ठ कृषि विज्ञ इन्द्रराज पाण्डे पनि हुनुहुन्थ्यो । झण्डै दश वर्षपछि भएको उहाँसँगको त्यो भेटलाई किसानहरुले कतै हराइरहेको आफ्नो अभिभावक एक्कासी फेला परेजस्तो अनुभूति गरे । त्यहाँका किसानहरुले उहाँलाई जोरसल्लामै बस्न अनुरोध गर्दै घरसमेत बनाइदिने बाचा गरे । उहाँको लागि र हामीसमेतको लागि यो एउटा चरम आनन्दको क्षण थियो ।

महिला, दलित, जनजाती तथा सीमान्तकृत वर्गका ५०० जनाभन्दा बढीको संख्यामा किसानहरु हरियो तरकारी तथा बिऊ उत्पादन प्रकृयामा सक्रिय रुपमा सहभागी भएका रहेछन् ।

 

सिप्रेडले उहाँकै सल्लाह, सुझाव र प्रशिक्षणमा जोरसल्ला र आसपासका किसानहरुमा तरकारी खेती र तरकारीको उन्नत बीऊ उत्पादन गर्ने ज्ञान, प्रविधि र कला सिकाएको थियो । र, कृषि कर्मप्रति भोक जगाउँदै वर्षेनी उनीहरुको आय आर्जनमा अनपेक्षित रुपमा उपलब्धि हासिल गराउन सफल भएको थियो । सिप्रेडका अन्य कर्मचारीहरु गाउँमा किसानहरुसँगै बसी दिन र रात नभनी दशकौँ अघिदेखि उनीहरुले बाँडेको यही ज्ञान र शीपबाट आज पनि त्यहाँका कतिपय किसानहरु दुई आना जग्गाबाट तीन लाख रुपैँयाभन्दा बढीको तरकारीको बिऊ उत्पादन गरेर बिक्री गर्न सफल भएका रहेछन् ।

महिला, दलित, जनजाती तथा सीमान्तकृत वर्गका ५०० जनाभन्दा बढीको संख्यामा किसानहरु हरियो तरकारी तथा बिऊ उत्पादन प्रकृयामा सक्रिय रुपमा सहभागी भएका रहेछन् ।

कथा सुनेर मलाई आश्चर्य पनि लाग्यो तर अविश्वास गर्ने ठाउँ भने थिएन – खास सिजनमा दैनिक २०० क्विण्टलसम्म भाण्टा उत्पादन गरी बिक्री गर्ने गरेका रहेछन् उनीहरुले । टमाटर, काउली, बोडी, सिमी, फर्सी, खुर्सानी, गाजर, मुला, काँक्रो आदि अनेक चिज उत्पादन गर्न सक्षम भइसकेका रहेछन् ।

कुन बिऊ उत्पादन कसरी गर्ने ? परागसेचन कहिले र कसरी गराउने ? कुन बाली कहिले भित्र्याउने ? भन्ने बारे प्रत्येक किसानलाई स्पष्ट जानकारी रहेछ । कस्तो रोग लागे के उपचार गर्ने वा कुन औषधि प्रयोग गर्ने ? शत्रुजीव र वाली नष्ट गर्ने पुतलीलाई कसरी नियन्त्रण गर्ने ? मल्चिङ्ग कसरी र किन गर्ने ? दैनिक प्रयोगमा खेर जाने पानी वा वर्षाको पानीलाई कसरी संचय या संरक्षण गर्ने ? र वालीमा प्रयोग गर्ने झोल मल कसरी बनाउने ?, भर्मी कम्पोष्ट र भर्मी–वास कसरी बनाउने ? त्यसको प्रयोग कसरी, केमा गर्ने ? भन्ने जानकारी पनि उनीहरुलाई छ । उत्पादन गरिएको सबै बिऊको बिक्री आफ्नै सहकारीमार्फत बनेपास्थित लाइफ सीड नामक संस्थाले गरिदिने प्रबन्ध मिलाइएको रहेछ । जोरसल्ला एउटा लयमा हिँडिरहको गाउँ रहेछ ।

आफूले चार वर्षमा उत्पादन गरेको काउली मात्रै बिक्री गरेर किसान भरत न्यौपानेले एउटा चारतले पक्की घर बनाउनु भएको रहेछ । चौरङ्गेफेदीमा त्यो घर काउली–घरको नामले नै प्रसिद्ध छ ।

 

त्यस्तै उत्साहजनक कार्य अर्कोतिर पनि हुँदै आएको रहेछ । दिउँसो खाना खाएर हामी चौरङ्गेफेदी पुग्यौँ । चौरङ्गेफेदीका किसानहरुको आर्थिक अवस्थामा सिप्रेडद्वारा संचालन गरिएको परियोजना र अभियानमार्फत झनै अपत्यारिलो प्रगति भएको रहेछ । तर किसानकै मुखबाट इतिवृत्तान्त सुनेपछि जो कोहीले पनि यसलाई पत्याउनै पर्छ, र पत्याइन्छ पनि ।

आफूले चार वर्षमा उत्पादन गरेको काउली मात्रै बिक्री गरेर किसान भरत न्यौपानेले एउटा चारतले पक्की घर बनाउनु भएको रहेछ । चौरङ्गेफेदीमा त्यो घर काउली–घरको नामले नै प्रसिद्ध छ । विभिन्न देशबाट आउनु भएका मन्त्री तथा राजदूतहरुले उहाँको त्यो घर र त्यस क्षेत्रको जैविक अनुकुलन कृषि कर्मको अवलोकन गर्ने गरेका रहेछन् ।

आम नागरिकलाई यथासक्य जैविक खाद्यान्न (organic food) र त्यो नसके सुरक्षित खाद्यान्न (safe food) उपलब्ध गराउने अवधारणाअनुरुप उहाँहरुले आजपर्यन्त यो कृषि कर्मलाई निरन्तरता दिइरहनु भएको छ । सिप्रेडबाट आर्जित ज्ञान, शीप र उहाँको लगनशीलता र मेहनतबाट आफ्नो सन्ततीलाई विदेशको विश्वविद्यालयमा उच्च शिक्षाका लागि पठाउन सक्नु भएको मीठो अनुभूति साक्षात्कार गर्ने मौका मिल्यो । दिन ढल्किँदै गएपछि हामी विस्तारै चौरङ्गेबाट ओरालो लाग्यौँ । 

नेपालमा कृयाशील सबै नागरिक संस्थाहरुले आ–आफ्नो उद्देश्यअनुरुप सीमान्तकृत र आवाजविहीन मानिसहरुको लागि यसरी दीर्धकालसम्म प्रभाव पार्ने गरी कार्य गर्न सके नेपालको सामाजिक र आर्थिक रुपान्तरण धेरै टाढाको विषय होइन रहेछ जस्तो मेरो मनमा लागिरह्यो । आशा गरौँ, समयले हामी सबैलाई त्यतै डोर्याओस् ।