• बुधबार, ५ असार, २०८१
  • ०७:०७:२५

गोरखा–जितगढी पदयात्रा टोलि पाल्पामा   

  • Netizen Nepal
  • सोमबार, ४ बैशाख, २०८०- ०६:००:००/ Monday 04-17-23

नेटिजन सम्बाददाता

काठमाडौं,४ बैशाख।  गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको हो । 

नेपाली सेनाले अङ्ग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले गोरखाबाट निस्केको टोली पाल्पा हँुदै बुटवलको जितगढी हिँडेको थियो । सो टोलीका सदस्यलाई रामपुरमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतले स्वागत गर्नुभएको थियो ।

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हँुदै उक्त टोली पैदलै बुटवल पुग्ने योजनामा छ । एकीकरणमार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताउनुभयो ।

सहायक रथी ललिबहादुर कुँवरले गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको जानकारी दिनुभयो । “राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवद्र्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।    
 जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले नेपाल एकीकरणमा हाम्रा वीर पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै अहिले जुन कार्य भइरहेको छ त्यसले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । यस अभियानबाट विभिन्न किल्ला, गढीको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्रामा भित्र्याउन सघाउ पुग्ने र नयाँ पुस्तालाई पनि विगतका ऐहासिक क्षण स्मरण गराउने अपेक्षा गरिएको छ ।    

नेपालको राष्ट्रिय झन्डाको साथमा नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको छ । टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई, तनहुँको टोलीले पाल्पाको केलादीघाट आई पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रमअनुसार पदयात्रा अघि बढेको छ ।   यात्रामा गोरखाको रिपुमर्दनी गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुनेछन् ।  रासस