• बुधबार, ५ असार, २०८१
  • ०८:५१:३१

धौलागिरि हिमाल आरोहणको ६३ वर्षे इतिहास 

  • Netizen Nepal
  • मंगलबार, २ जेठ, २०८०- १६:५८:००/ Tuesday 05-16-23

ध्रुवसागर शर्मा
गलेश्वर, २ जेठ । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जना आरोही चुचुरोमा पुग्न सकेका छन् । 

कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने गरेका छन् । सन् १९६० मई १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धौलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे धौलागिरि हिमालको चुचुरोमा पुगेका थिए । 

पर्यटन विभागका अनुसार सन् १९६० देखि सन् २०२० सम्म विदेशी र स्वदेशी गरी पाँच सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् । धौलागिरि हिमाल आरोहणका लागि जारी वसन्त ऋतुमा २५ पुरुष र १२ महिला गरी ३७ आरोहीले अनुमति लिएका छन् । 

पछिल्लो समय पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोहीहरु काठमाडौँबाट विभिन्न सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् । साथै आधार शिविरसम्मका लागि पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ । 

अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । विसं २०६८ यता आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । 

यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् । 

धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोसले दुई दशकयता १३औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राख्न सकेका छैनन् ।

सन् १९५० मा मोरिस हर्जोगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए । त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे । त्यसपछि २००९ सम्मको ४९ वर्षमा चार सय १३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका थिए । त्यस यताको १४ वर्षमा एक सय ३७ जनाले गरी सन् २०२० सम्ममा पाँच सय ५० जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका छन् । 

नेपालको पर्यटन तथा वनस्पति विज्ञ डा तीर्थबहादुर श्रेष्ठका अनुसार धौलागिरिलाई नेपालकै भूमिबाट परिक्रमा गर्न सकिन्छ । हिमालयको भूपरिधि पश्चिममा सिन्धुनदीको घाँटीदेखि पूर्वमा ब्रह्मपुत्रको घाँटीसम्म फैलिएको छ । जसको लम्बाइ अन्दाजी २५०० किमि हुन्छ । 

कालीगण्डकी पूर्वका हिमाललाई पूर्वी हिमाल र पश्चिमकालाई पश्चिम हिमाल भन्ने चलन छ । धौलागिरि हिमशिखर ८३ डिग्री पूर्वी देशान्तरमा पर्दछ । यही रेखाको सहायताले वनस्पतिविद् पूर्वीय र पश्चिमी वानस्पतिक प्रान्त छुट्याउँछन् । 

धौलागिरिले उत्तरतिरको डोल्पा, मुस्ताङ मरुभूमि क्षेत्र र दक्षिणकाखको अतिवृष्टि हुने म्याग्दी(पर्वत र कास्की क्षेत्रलाई पनि जोड्दछ । यस अर्थमा धौलागिरि र यसको फेदमा बग्ने कालीगण्डकी क्षेत्रले जैविक विविधता र वातावरणका लागि एक चौराहको काम गरेको छ । 

धौलागिरि क्षेत्रमा देवदार, लेकपाङ्ग्रो, साइप्रस धूपी, गोब्रे सल्ला (पिन्ड्रो), झुलेसल्ला, वन दारिम, जैतुन तथा चन्द्रा (पियोनिया) आदि वनस्पति छन् । चराचुरुङ्गी र अरू जीवप्राणीका लागि पनि धौलागिरि-अन्नपूर्ण र कालीगण्डकी यस्तै सङ्गम क्षेत्रको रूपमा प्रस्ट देख्न सकिने वनस्पतिविद् डा श्रेष्ठको भनाइ छ । 

धौलागिरि, अन्नपूर्ण र कालीगण्डकीका अरू थुप्रै विशेष मौलिकता पनि छन् । एकातिर धौलागिरि र अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्ला छन् भने कालीगण्डकी लगभग तीन हजार मिटरको उचाइमा बग्दछ । यस हिसाबले पाँच हजार मिटर गहिरो उपत्यकाको चौडाइ भने ३५ किमि मात्र फराकिलो छ । रासस ।