• शनिबार, ८ बैशाख, २०८१
  • ०१:५१:४१

आइकम नेपालमा नयाँ नेतृत्व

  • Netizen Nepal
  • आइतबार, ७ जेठ, २०८०- ०७:५१:००/ Sunday 05-21-23

नेटिजन संवाददाता 
काठमाडौं, ७ जेठ । अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम )को  नेपाल च्याप्टर आइकम नेपालको छैठौ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । संग्रहालय क्षेत्रमा काम गर्ने व्यक्तिहरुको संगठनको रुपमा रहेको यो संस्थाले  आगामी तीन वर्षका लागि  रमेशप्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ । १२ जना प्रतिस्पर्धीका वीचबाट निर्वाचन प्रक्रिया मार्फत ९ जनाको नयाँ नेतृत्व छनौट गरिएको हो । निर्वाचित  नयाँ नेतृत्वमा अध्यक्ष रमेशप्रसाद दवाडी, सचिव सन्तमान महर्जन र कोषाध्यक्ष ओमप्रकाश घिमिरे रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा राजन जोशी, विजय कुमार शाही, विरेन्द्र महतो, सन्त बहादुर गुरुङ, मीना लामा र पवित्रा थपलिया रहनुभएको छ । ११ सदस्यीय कार्य समितिमा युनेस्को नेपालका प्रतिनिधि र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको नवर्विाचित अध्यक्ष रमेश प्रसाद दवाडीले जानकारी दिनुभयो । 

आइकम नेपाल विगतका वर्ष देखि संग्रहालयको क्षेत्रमा काम गर्दै  आए पनि पछिल्लो समयमा सक्रिय बन्न थालेको  छ । नेपालमा संग्रहालयको संख्या र अवलोकनकर्ताको चासो बढ्दै गएको तर उक्त अनुपातमा संग्रहालयको व्यवसायिकता बढ्न नसकेकाले यसका लागि आइकम नेपालले पहल गर्ने अध्यक्ष दवाडीले बताउनुभयो । 
विश्व संग्रहालय परिषद्को मान्यता प्राप्त आइकम नेपाल विगत लामो समयदेखि नै नेपालमा कार्यरत रहेता पनि यसले संस्थागत रुप लिएको  २०७३ साल भदौमा हो । उक्त मितिमा आइकम नेपाल लाई विधिवत रुपमा दर्ता  गरी संस्थागत रुप दिइएको थियो । त्यस यता यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संग्रहालयको सचेतना, छलफल, पैरवी तथा अध्ययन लगायतका विभिन्न कामहरु गर्दै आएको छ ।