• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:१३:५६

फुटाएको गितारको मूल्य ८ करोड !

  • Netizen Nepal
  • सोमबार, ८ जेठ, २०८०- १२:१५:००/ Monday 05-22-23

नेटिजन संवाद्दाता
काठमाडौं,८जेठ । अमेरिकी रक ब्यान्ड 'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाइदिएको एउटा गितार झन्डै छ लाख डलरमा लिलाम भएको छ।

न्यूयोर्कस्थित हार्ड रक क्याफेमा भएको लिलाम बढाबढमा कालो रङ्गको उक्त 'फेन्डर स्ट्र्याटोक्यास्टर' गितार उक्त रकमभन्दा १० गुना कममा विक्री हुने अपेक्षा गरिएको थियो।सन् १९९४ मा आत्महत्या गरेका कबेन सशक्त साङ्गीतिक प्रस्तुतिहरूका कारण चर्चित थिए।सन् १९९० को दशकको सुरुमा आफ्नो एल्बम 'नेभरमाइन्ड'का लागि काम गरिरहँदा उनले उक्त गितार बिगारेका थिए।

उक्त गितारलाई फेरि जोडिएको थियो। तर त्यो बजाउन मिल्ने अवस्थामा छैन।उक्त गितारमा निर्भाना समूहका तीनै सदस्यले सिल्भर मार्कर प्रयोग गरेर आआफ्नो हस्ताक्षर गरेका छन्।कर्ट कबेन आफ्नो नाम अशुद्ध लेख्ने गर्थे । त्यसमा कबेनले आफ्ना मित्र तथा सहकर्मी मार्क ल्यानिग्यान लागि मायालु भावमा अभिव्यक्त गरेको सन्देश पनि छ।ल्यानिगनको गत वर्ष मृत्यु भइसक्यो। गितारमा हस्ताक्षर गर्दा कवेनले आफ्नो नामको हिज्जे अलि फरक किसिमले लेखेछन्।उनी प्रायः आफ्नो नाम अशुद्ध लेख्थे।

उनले आफ्नो सक्रिय सङ्गीतिक जीवनको बेला धेरैवटा गितार फुटाएका थिए।“उनी रिसाहा थिए। त्यो तपाईँले मञ्चमा र उनले आफूले प्रयोग गर्ने साम्रागीप्रति देखाउने व्यवहारमा अनुभव गर्न सक्नुहुन्थ्यो,” जुलिएन्स् अक्शनका कोडी फ्रेडेरिकले एएफपी समाचार संस्थासँग भनेका छन्। उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ।विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ सात करोड ८६ लाखजति हुन्छ।सो लिलामी घरका अनुसार कबेनले सो गितार सन् ११९२ को उत्तर अमेरिका नेभरमाइन्ड साङ्गीतिक यात्राका क्रममा ल्यानिग्यानलाई दिएका थिए।

कसले किने

जुलिएन्स् अक्शनका अनुसार विगतमा उक्त गितार टोनी पाल्मरको स्वामित्वमा थियो। तर नयाँ खरिदकर्ताको पहिचान खुलिसकेको छैन। कबेनले उनको सन् १९९३ को चर्चित एमटीभी प्रस्तुतिमा प्रयोग गरेको अकूस्टिक गितार दुई वर्षअघि ६० लाख अमेरिकी डलरमा बिक्री भएको थियो। उक्त वाद्ययन्त्र त्यति बेलासम्म लिलाममा सर्वाधिक मूल्य पाउने गितार बनेको थियो।

रोड माइक्रोफोन्सका संस्थापिक पिटर फ्रीडम्यानले उक्त गितार किनेका थिए। त्यसअघि सन् २०१९ को जुलनमा पिङ्क फ्लोइडका डेभिड गिल्मोरको गितार ४० लाख डलरमा बिक्री भएको थियो। सोही वर्ष अक्टोबरमा कबेनको 'कार्डिगन' ३,३४,००० डलरमा बिक्री भएको थियो। कबेनले सन् १९९३ मा कठालोबिनाको हरियो रङ्गको उक्त स्वेटर लगाएका थिए।चुरोटले पोलेको र दाग लागेको उक्त वस्त्र झन्डै तीन दशकदेखि नधोईकन राखिएको थियो।जुलिएन्स्‌मा आयोजित तीनदिने लिलामीमा एल्भिस प्रेस्ली, फ्रेडी मर्करी, ज्यानेट ज्याक्सन र डली पार्टनजस्ता साङ्गीतिक हस्तीका सामान पनि बिक्रीका लागि राखिएका थिए। विविसीबाट