नक्कली भूटानी शरणार्थी प्रकरणमा २९ करोड बिगोसहित ३० जनाविरुद्ध मुद्दा दर्ता
- Netizen Nepal
- बुधबार, १० जेठ, २०८०- १९:३७:००/ Wednesday 05-24-23

नेटिजन सम्बाददाता
काठमाडौँ, १० जेठ। सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् ।
मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।
मुद्दा दायर गरिएकामा बालकृष्ण खाण, आङटावा शेर्पा, शम्शेर मिया, टेकनाथ रिजाल, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी छन्। त्यसैगरी राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी, प्रतिक थापा,रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई छन् ।
उनीहरुमध्ये इन्द्रजित राईका छोरा निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बू, निरन्जनकुमार खरेल, सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक पनि फरार छन्। त्यस्तै केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्वज, अशोक पोखरेल, धिरेन राई र दीपा हुमागाईं फरार छन्।
दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ । काठमाण्डू जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ भने कैद सजाय ठगी र किर्तेमा ७ वर्ष कैद, राज्यविरुद्धको कसुरमा ५ वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।