• बुधबार, ५ असार, २०८१
  • ०८:०५:५५

प्रदूषणले कसरी पुरुष प्रजननमा सङ्कट निम्त्याउँदैछ ?

  • Netizen Nepal
  • बिहीबार, ११ जेठ, २०८०- १०:३५:००/ Thursday 05-25-23

नेटिजन संवाददाता 
काठमाडौँ, ११ जेठ । विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको देखिएको छ। बाँझोपनाका निम्ति एक प्रमुख कारक मानिएको यस्तो खस्कँदो गुणस्तरको कारण चाहिँ के हो भन्नेबारे धेरै चर्चा गरिँदैन। तर अहिले आएर वैज्ञानिकहरूले ती कारणबारे निकै जानकारी बटुलेका छन् । "हामी तपाईँको समस्या समाधान गर्न सक्छौँ," चिकित्सकले जेनिफर ह्यानिङ्टनलाई भने। त्यसपछि ती चिकित्सक उनका पति सिआरानतर्फ फर्किए अनि भने: "तर तपाईँलाई भने हामीले खासै मद्दत गर्न सक्दैनौँ।"

इङ्ग्ल्यान्डको योर्कशरमा बस्ने यी दम्पतीले दुई वर्षदेखि सन्तान जन्माउने कोसिस गर्दैछन्। जेनिफरलाई प्रजनन क्षमतालाई प्रभाव पार्न सक्ने पोलिसिस्टिक ओभरियन सिन्ड्रम भन्ने बिमारी थियो। त्यसैले गर्भधारण गर्न अप्ठेरो हुने उनीहरूले ठानेका थिए। तर सिआरानको स्वास्थ्य अवस्थामा पनि समस्या होला भनेर उनीहरूले सोचेका थिएनन्। परीक्षणहरू गर्दा उनको वीर्यमा थोरै सङ्ख्यामा र कम गतिशील शुक्रकीट भएको पाइयो। अनि उपचार हुनसक्ने कि नसक्ने भन्ने सन्दर्भमा यी समस्या भनेको जेनिफरको समस्याभन्दा पनि गम्भीर थिए।

चिकित्सकको कुरा सुनेर उनी स्तब्ध भए। "मैले मेरी पत्नीलाई निराश पारेको जस्तो अनुभव भयो।" त्यसपछिका वर्षहरूमा उनको मानसिक स्वास्थ्य पनि बिग्रियो।

बाँझोपनाको लगभग आधा मामिला पुरुषका कारण हुन्छन्। करिब ७% पुरुषमा त्यस्तो समस्या हुने बताइन्छ। तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। प्रजनन क्षमताबारे समस्या बेहोर्ने पुरुषहरूको हकमा अधिकांशमा यकिन कारण थाहा हुँदैन - र विद्यमान सामाजिक मान्यताका कारण उनीहरू चुपचाप समस्या भोग्न बाध्य हुन्छन्।

अनुसन्धानहरूका अनुसार यो समस्या बढ्दो छ। अनि शुक्रकीटको गुणस्तरसहित पुरुष प्रजनन क्षमतामा प्रभाव पार्ने एउटा तत्त्व भनेको प्रदूषण रहेको पाइएको छ। यसको सम्भाव्य परिणाम व्यक्ति एवं समाजहरूमै धेरै पर्ने देखिन्छ।

लुकेको सङ्कट ?

गत शताब्दीमा संसारको जनसङ्ख्या नाटकीय ढङ्गले बढ्यो। करिब ७० वर्ष पहिले मात्र यो पृथ्वीमा जम्मा अढाई अर्ब मानिस थिए। सन् २०२२ मा त्यो सङ्ख्या ८ अर्ब पुग्यो। तर सामाजिक तथा आर्थिक कारणले जनसङ्ख्या वृद्धिदरको गति भने घट्न थालेको छ।

विश्वभरि नै जन्मदर कीर्तिमानी स्तरमा कम हुन थालेको छ। ५० प्रतिशतभन्दा धेरै मानिसहरू त्यस्ता देशमा बसिरहेका छन् जहाँको औसत जन्मदर २ बालबालिकाभन्दा कम छ - जसको अर्थ भनेको बाहिरबाट आप्रवासी नआए ती ठाउँमा जनसङ्ख्या सङ्कुचित हुँदै जानेछ।

यसो हुनुका पछाडि कैयन् सकारात्मक कारणहरू पनि छन् - जस्तो महिलाको बढ्दो वित्तीय स्वतन्त्रता र प्रजनन स्वास्थ्यमा उनीहरूको बढ्दो नियन्त्रण। अर्कोतर्फ अनुसन्धानहरूले के पनि देखाएका छन् भने थोरै जन्मदर भएका देशका कतिपय महिलाहरूले परिवारहरूलाई थप सामाजिक तथा आर्थिक सरसहयोग हुने हो भने थप बच्चा जन्माउने थिए।

यही समय व्यक्तिहरूको बच्चा जन्माउने क्षमतामा पनि ह्रास आएको देखिएको छ। पुरुषहरूको हकमा शुक्रकीटको सङ्ख्या घटिरहेको देखिन्छ भने उनीहरूको टेस्टोस्टेरोनको स्तर पनि कम भइरहेको छ। बढ्दो सङ्ख्यामा पुरुषहरूमा उत्तेजनाको समस्या अनि अण्डकोषमा क्यान्सरजस्ता बिमारी हुन थालेका छन्।

पौडने कोष

"शुक्रकीट भनेका विशिष्ट किसिमका कोषहरू हुन्," डन्डी विश्वविद्यालयमा प्रजनन औषधिसम्बन्धी क्लिनिकल रिडर एवं गाइनेकोलजिस्ट सारा मार्टिन्स डा सिल्भा भन्छिन्। "ती साना हुन्छन्, ती पौडन सक्छन्, ती शरीरभन्दा बाहिर पनि बाँच्न सक्छन्। अन्य कुनै पनि प्रकारका कोषले त्यसो गर्न सक्दैनन्। ती असाधारणरूपमा विशिष्ट प्रकृतिका हुन्छन्।"

ती कोषमा स-साना परिवर्तनका पनि ठूलो असर पर्छ। खासगरी तिनको अण्डा निषेचन गर्ने क्षमतामा त्यस्तो असर पर्छ। निषेचनका निम्ति खासगरी तीनवटा कुरा महत्त्वपूर्ण हुन्छ - तिनको गतिशीलता, तिनको आकारप्रकार, र निश्चित परिमाणको वीर्यमा तिनको सङ्ख्या। पुरुषले आफ्नो प्रजनन क्षमता जचाउँदा यिनै विषय हेरिन्छ।

"सामान्यतया, एक मिलिलिटर वीर्यमा ४ करोडभन्दा कम सङ्ख्यामा शुक्रकीट रहेछन् भने प्रजनन क्षमतामा असर पर्न थाल्छ," जेरुसलेमस्थित हिब्रु विश्वविद्यालयका इपिडेमियोलोजीका प्राध्यापक हेगाइ लेभिनले भने।

धेरै शुक्रकीट हुँदैमा गर्भ रहने सम्भावना धेरै नहुने भए पनि एक मिलिलिटर वीर्यमा ४ करोडभन्दा कम शुक्रकीट भएपछि चाहिँ त्यो सम्भावना द्रुत गतिमा घट्न थाल्छ।

सन् २०२२ मा लेभिन तथा उनका सहयोगीहरूले विश्वभरि औसत शुक्रकीट सङ्ख्यामा आइरहेको गिरावटको प्रवृत्तिबारे एक समीक्षा प्रकाशित गरेका थिए। उक्त अनुसन्धानअनुसार सन् १९७३ र २०१८ को बीचमा त्यो सङ्ख्या हरेक वर्ष १.२% प्रतिशतको औसत दरमा घटेको थियो - १० करोड बाट घटेर औसत ४ करोड ९० लाख प्रतिमिलिलिटर हुने गरी। सन् २००० यता उक्त गिरावट दर प्रतिवर्ष २.६% पुगेको पाइएको छ।

लेभिनका अनुसार यो द्रुत गिरावटका पछाडि 'इपिजेनेटिक' परिवर्तनहरू कारक हुन सक्छन्। त्यो भनेको वातावरणीय वा जीवनयापन शैलीका कारण जीनले गर्ने काममा आएका परिवर्तन हुन्। अर्को छुट्टै अनुसन्धानले पनि तिनै कारक ठम्यायो।

"पुस्ता पुस्तामा यो थपिँदै गएका सङ्केत मिल्छन्," उनले भने।

"यो गिरावटले पुरुषहरूको खस्कँदो स्वास्थ्यको मात्र नभई समस्त मानव जातिकै खस्कँदो स्वास्थ्य दर्शाउँछ," लेभिनले भने। "हामी जनस्वास्थ्य सङ्कट बेहोरिरहेका छौँ - र यो उल्ट्याउन सकिन्छ कि सकिँदैन भनेर हामीलाई थाहा छैन।"

पुरुष प्रजनन क्षमतामा आएका ह्रासले भविष्यमा अन्य स्वास्थ्य समस्या समेत निम्तने आकलन अनुसन्धानहरूले गरेका छन्। एउटा सम्भावना के छ भने निश्चित प्रकारका जीवनशैलीले प्रजनन क्षमता लगायत अन्य स्वास्थ्य समस्या निम्त्याउँछन्।

"बच्चा जन्माउने इच्छा र त्यो पूरा गर्न नसक्नुको अनुभूति एकदमै नराम्रो हो। तर यो त त्योभन्दा पनि ठूलो समस्या हो," डा सिल्भाले भनिन्।

व्यक्तिहरूले जीवनशैली परिवर्तन गरेर मात्र पनि शुक्रकीटको गुणस्तरमा आएका ह्रास नियन्त्रण गर्न सकिँदैन। बढ्दो प्रमाणले त यसको पछाडि अझ विस्तृत, वातावरणीय कारण रहेको देखाइरहेका छन्: विषाक्त प्रदूषक।

विषाक्त विश्व

यूकेको नटिङ्घम विश्वविद्यालयकी भेटरीनरी टिचिङ असोसिएट तथा अनुसन्धानकर्ता रेबिका ब्लांकार्डले घरभित्रै फेला पर्ने वातावरणीय रसायनहरूको पुरुष प्रजनन स्वास्थ्यमा सम्भाव्य प्रभावबारे अनुसन्धान गर्दैछिन्। उनले त्यसको लक्षण देखाउन कुकुरहरूको पनि अनुसन्धान गरिरहेकी छन्।

"कुकुरहरू हामीजस्तै वातारणमा हुर्किरहेका छन्," उनले भनिन्। "ती एकै घरमा बस्छन् र तिनै प्रदूषक रसायन बेहोर्छन्। हामीले कुकुरमा अध्ययन गर्‍यौँ भने मानिसमा कस्ता प्रभाव परिरहेका छन् भनेर छनक पाउन सक्छौँ।"

उनले आफ्नो अध्ययनलाई प्लास्टिकहरूमा पाइने रसायन, अग्नि शमनमा प्रयोग हुने रसायन र घरका अन्य सामान्य सर सामग्रीमा केन्द्रित गरिन्। त्यस्ता कतिपय रसायनको प्रयोगमा प्रतिबन्ध लागिसकेको भए तापनि पुराना सामग्रीमा अनि वातावरणमा तिनका अवशेष अझै भेटिन्छन्। तिनले मानिसको हर्मोन प्रणालीमा गडबडी उत्पन्न गराएर कुकुर अनि मानिसहरूको पनि प्रजनन क्षमतामा असर पारिरहेको उनको अध्ययनले पत्ता लगायो।

"हामीले कुकुर र मानिस दुवैमा शुक्रकीटको गतिशीलतामा ह्रास आएको पायौँ," ब्लांकार्डले भनिन्। "डीएनए खण्डीकरणको परिमाण समेत बढेको पाइयो।"

शुक्रकीटको डीएनए खण्डीकरण भनेको शुक्रकीटको आनुवंशिक संरचनामा क्षति पुग्नु वा भत्कनुलाई जनाउँछ। त्यसले प्रजनन क्षमताबाहेक अन्य प्रभाव पनि पार्छ: उदाहरणका लागि डीएनए खण्डीकरण बढ्दै जाँदा गर्भपतन हुने समस्या पनि बढ्ने ब्लांकार्डले बताइन्।

यो अध्ययनको निचोड अघिल्ला अनुसन्धानहरूका निचोडसँग पनि मेल खान्छन्। यस्ता विषाक्त तत्त्वहरूले महिला, पुरुष अनि शिशुहरूलाई पनि असर गर्छन्। गर्भाशयमै भएका शिशुमा समेत यस्ता ब्ल्याक कार्बन, फरेभर केमिकल्स तथा थालेट्सजस्ता हानिकारक रसायन भेटिएका छन्।

जलवायु परिवर्तनले पनि पुरुष प्रजनन क्षमतालाई नकारात्मक असर गर्ने ठानिन्छ। बढ्दो तापक्रमले शुक्रकीटलाई प्रभाव पारेको कैयन् पशुमा गरिएका अध्ययनले देखाएका छन्। सन् २०२२ मा गरिएको एउटा अनुसन्धानले पनि धेरै तापक्रममा काम गर्दा शुक्रकीटको गुणस्तर घट्ने बताएको थियो।

कमजोर खानपान, तनाव अनि मदिरा

यी वातावरणीय तत्वहरूका अतिरिक्त व्यक्तिगत व्यवहारले पनि पुरुष प्रजनन शक्तिमा फरक पार्छ। कमजोर खानपान, हिँडडुलमा कमी हुने जीवनशैली, तनाव अनि मदिरा तथा लागुऔषधको दुर्व्यसनले हानि पुर्‍याउँछ।

पछिल्ला दशकहरूमा अलि उमेर चढिसकेपछि मात्र बच्चा जन्माउन चाहने प्रवृत्ति मौलाएको छ - महिलाहरूलाई चाहिँ उनीहरूको जैविक घडीबारे बारम्बार स्मरण गराइने भए पनि पुरुषहरूको हकमा उमेर र प्रजनन क्षमताबीचको सम्बन्ध नरहने बताइन्थ्यो। तर त्यो मान्यतामा अब फेरबदल आइरहेको छ। बढी उमेरमा शुक्रकीटको गुणस्तर तथा प्रजनन क्षमतामा ह्रास आउने बताइएको छ।

पुरुषको प्रजनन क्षमता ह्रासबारे निदान, उपचार अनि रोकथामका बारे थप जान्न जरुरी भएको महसुस हुन थालेको छ - साथै प्रदूषणलाई तत्काल सम्बोधन गर्न आवश्यक चेतना पनि जरुरी ठानिएको छ। यसबीच व्यक्तिगत तहमा कुनै एक मानिसले शुक्रकीटको गुणस्तर रक्षा गर्न वा बढाउन चाहिँ के गर्न सक्छ?

शारीरिक अभ्यास एवं स्वास्थ्य खानपान शुक्रकीटको गुणस्तरसँग जोडिएका छन्। अर्ग्यानिक खानेकुराको प्रयोग गर्न एवं बीपीए (बिस्फेनल ए) भनिने तत्त्व नभएका प्लास्टिक प्रयोग गर्न ब्लांकार्ड सुझाउँछिन्। "यस्ता स-साना कुरा तपाईँले गर्न सक्नुहुन्छ," उनले भनिन् । अनि, चुपचाप समस्या सहेर नबस्न ह्यानिङ्टन सुझाउँछन्।

पाँच वर्षसम्मको उपचार अनि आईसीएसआई भनिने एउटा शुक्रकीटलाई डिम्बाशयको केन्द्रमा पुर्‍याइदिने आइभीएफ विधिको तीन चरणको प्रयोगपश्चात् उनी र उनकी पत्नीले दुई सन्तान प्राप्त गरे। आफ्नै खर्चमा उपचार गर्नुपर्नेहरूका निम्ति यी उपचार अलि महँगो हुनसक्छ। अमेरिकामा आइभीएफको एक चरणका निम्ति नै ३० हजार डलरभन्दा धेरै पर्छ। कुन राज्यमा तपाईँ बसोबास गर्नुहुन्छ अनि तपाईँको रोजगारदाता को हुन् भन्ने विषयले यसको बिमा निर्धारण गर्छ। त्यसबाहेक यसले पार्ने मानसिक असर ह्यानिङ्टन बिर्सन सक्दैनन्। "हरेक दिन मेरा सन्तानका निम्ति म आभारी छु। तर त्यो तनाव भुल्न सक्दिन," उनले भने। "सधैँको निम्ति त्यो मेरो जीवनको अङ्ग भएको छ।" विविसी।