• बिहीबार, १३ बैशाख, २०८१
  • १०:२४:०९

शरणार्थी प्रकरणमा अहिलेसम्म के के भयो ?

  • Netizen Nepal
  • शुक्रबार, १२ जेठ, २०८०- ११:०२:००/ Friday 05-26-23

नेटिजन संवाददाता 
काठमाडौँ, १५ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणबारे थप अनुसन्धानको बाटो खुलेको प्रहरीले बताइरहँदा उसको उच्च नेतृत्व पनि प्रश्नको घेरामा परेको छ ।

उक्त प्रकरणमा प्रहरी महानिरीक्षक वसन्त कुँवरको भूमिकामाथि कतिपयले प्रश्न गरिरहेका छन् । एक आरोपित र कुँवरबीच भएको संवादसम्बन्धी विवरण सार्वजनिक भएपछि कतिपयले त्यसबारे पनि प्रश्न गरेका छन्।

त्यसैगरी शरणार्थी प्रकरणमा गत वर्ष दुईजना पक्राउ परे पनि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेको दबावमा उनीहरूलाई छाडेको आरोप कुँवरमाथि छ । कुँवर काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख भएका बेला कैयौँ पीडितका तर्फबाट उजुरी परेको र गिरोहका सदस्य पक्राउ गरिएको भए पनि राजनीतिक नेतृत्वको दबावमा उनीहरू छुटेका विवरण सञ्चारमाध्यममा आएका छन्।

पूर्वप्रहरी अधिकारी के भन्छन् ?

प्रहरीका दुई पूर्वअधिकारीले उच्च नेतृत्व नै सो प्रकरणमा मुछिएपछि त्यसबारे छानबिन गरी निष्कर्षमा पुर्‍याउनु सङ्गठनको हितमा हुने बताएका छन् ।

पछिल्लो प्रकरणका कारण प्रहरी सङ्गठनभित्र विभाजन ल्याउन दिन नहुने प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारीको सुझाव छ । “अनुसन्धान गर्ने निकायकै अथवा उसका कुनै पात्र विशेषको नियतमाथि प्रश्न उठ्यो भने तालुकवाला निकायले तुरुन्त छानबिन गरी टुङ्गोमा पुर्‍याउनुपर्छ,” भण्डारीले भने।

यद्यपि प्रहरी नेतृत्व नै घटनामा मुछिएको आरोप सत्य भए त्यसलाई व्यक्ति विशेषमाथि लागेको आरोपको रूपमा लिनुपर्ने उनको तर्क छ । “यसलाई ‘पोजिशनल पावर’भन्दा पनि ‘पर्सनल पावर’का रूपमा हेर्नुपर्ने हुन्छ,” भण्डारीले थपे।

गृह मन्त्रालय के भन्छ ?

प्रहरी महानिरीक्षक कुँवरमाथि लगाइएका आरोप सत्य भए त्यसबाट प्रहरी सङ्गठनमाथि नकारात्मक असर पर्न सक्ने प्रहरीका पूर्वनायब महानिरीक्षक हेमन्त मल्ल औँल्याउँछन् । “आरोप लगाउँदैमा सत्य हो भन्ने छैन। तर सत्य साबित भए प्रहरीमा त्यसको असर पर्छ,” उनले भने । “एकअर्काप्रति अविश्वास बढ्छ भने टिम वर्कको मर्मलाई त्यसले बिथोल्छ,” मल्लले थपे।

तर प्रहरीले कसैसँग कुराकानी गरेकै आधारमा ऊ दोषी हुन्छ भनेर भन्न नसकिने उनको तर्क छ । “अनुसन्धानको सिलसिलामा प्रहरीले अनेक मान्छेसँग भेटघाट वा कुराकानी गर्नपर्ने हुन्छ। मुख्य कुरा नियत के हो भन्ने कुरामा निर्भर गर्छ,” मल्लले प्रस्ट्याए ।

अनुसन्धानकै क्रममा कतिपय कुरा सञ्चारमाध्यममार्फत्‌ सार्वजनिक भएपछि त्यसबारे गृहमन्त्री नारायणकाजीले छानबिन गर्न निर्देशन दिएका विवरण आएका छन् । कतिपयले महानिरीक्षक कुँवर शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि मन्त्रालयको तर्फबाट छानबिन हुन लागेको तर्क गरेका छन् ।

यसबारे मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतसमक्ष जिज्ञासा राख्दा भनेः “फर्मल डिसिजन भएको मेरो जानकारीमा छैन।” तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले त्यस विषयमा गृहमन्त्रीले छानबिन गर्न भनिसकेकाले त्यसमा प्रहरीले केही नगर्ने प्रतिक्रिया दिए । “हाम्रो तर्फबाट यसमा आन्तरिक छलफल हुँदैन। गृहमन्त्रीले छानबिन हुने भनिसक्नुभएको छ नि त,” बीबीसीसँग सङ्क्षिप्त कुरा गर्दै उनले भने।

नेपाल प्रहरी के भन्छ ?

तर शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक कुँवरको संलग्नता रहेको भन्ने विवरणहरूप्रति पूर्ण असहमति रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षकको संलग्नता रहेको भन्ने समाचारले “जनमानसमा भ्रम सिर्जना हुने र सङ्गठनकै विश्वसनीयता, छवि तथा ‘चेन अफ कमान्ड’मा आँच आउने” प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। “कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तान्नु अत्यन्त निन्दनीय छ । दोषी नछुटून् र निर्दोष नफसून् भन्नेमा प्रहरी सचेत र प्रतिबद्ध रहेको” पनि विज्ञप्तिमा उल्लेख छ ।

“अपराधी जोसुकै होओस् उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य र प्रमाणबिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र सङ्गठनको छविमा आँच पुगेको छ,”अगाडि भनिएको छ ।

शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो ?

१० जेठः ३० जना आरोपितविरुद्ध मुद्दा दायर

८ जेठ: प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२ जेठ: भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत १३ जनाको बयान सकियो

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: पूर्वउपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ