• बिहीबार, १० जेठ, २०८१
  • १२:४०:४८

कृषक परिवार बढ्दा पनि खेती हुने क्षेत्र घट्नुको कारण के ?

  • Netizen Nepal
  • सोमबार, २५ भदौ, २०८०- ११:५०:००/ Monday 09-11-23

नेटिजन संवाददाता 
काठमाडौं,२५ भदौ ।
नेपालमा कृषक परिवारको सङ्ख्या बढे पनि खेती गरिने जग्गाको क्षेत्रफलमा कमी आउनु र युवा जनसङ्ख्याको कृषिमा आकर्षण कम हुनुको प्रभाव ‘दीर्घकालसम्म पर्नसक्ने’ जनसङ्ख्या विज्ञहरूले बताएका छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषिगणना-२०७८’ अनुसार नेपालमा पछिल्लो १० वर्षमा कृषक परिवारको सङ्ख्या बढेको छ।

 कृषिगणना अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो।

 

खेती गरिने जमिनको क्षेत्रफल भने पहिलेको भन्दा कम भएको देखिन्छ। त्यस्तै कृषि क्षेत्रमा सहभागी हुने युवा जनसङ्ख्यामा पनि कमी आएको छ।

कृषिगणना के हो?

देशको जनसङ्ख्या थाहा पाउन हरेक दश दश वर्षमा गरिने गणना जस्तै गरी कृषि क्षेत्रको समग्र तथ्याङ्क सङ्कलन गर्न हुने अभ्यासलाई नै कृषिगणना भनिन्छ।

विसं २०१८ सालदेखि यस्तो गणना गर्न सुरु गरिएको थियो र पछिल्लो त्यस्तो गणना २०७८ सालमा भएको हो। पहिले केन्द्रीय तथ्याङ्क विभाग भनिने हालको राष्ट्रिय तथ्याङ्क कार्यालयले यस्तो गणना गर्दै आएको छ।

उक्त कार्यालयले कृषिगणनाको प्रतिवेदनमा भनेको छ, “२०७८ सालको यो कृषिगणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पूरा गरी सङ्घीय ढाँचाअनुसारका स्थानीय तहसम्मका कृषिसम्बन्धी तथ्याङ्कहरू उपलब्ध गराएको छ।”

“गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन, सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पाल्तु पशुपन्छीको सङ्ख्या, सहायक कृषि क्रियाकलापसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, कृषिवन, कृषिऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, कृषिमा हरितगृह/टनेल पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, फोहोरको व्यवस्थापनजस्ता विविध विषयहरूमा तथ्याङ्क सङ्कलन गरी यी विषयसम्बन्धी महत्वपूर्ण नतिजा प्रकाशित गरिएका छन्।”

राष्ट्रिय तथ्याङक कार्यालयका एकजना निर्देशक बद्रीकुमार कार्कीका अनुसार “पालिका तहसम्मको विवरण समेटिएको कृषिगणना” पहिलो पटक भएको हो।

परिवार बढे, क्षेत्रफल घट्यो

कृषिगणना अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो।

राष्ट्रिय जनगणना अनुसार नेपालमा १० वर्षको अवधिमा १२ लाख घरपरिवार थप भएका थिए। त्यसमध्ये कृषि कर्म गर्ने करिब तीन लाख परिवार थपिएका हुन्।

यद्यपि नेपालका कुल परिवारमध्ये ६२ प्रतिशत मात्र कृषक परिवार रहेको पाइएको छ। दश वर्षअघि कुल परिवारमध्ये ७१ प्रतिशत परिवार कृषक थिए। 

एक दशकअघि देशको २५ लाख भन्दा बढी हेक्टरमा खेती हुने गरेकोमा अहिले त्यो २२ लाख १८ हजार हेक्टरमा सीमित भएको छ। त्यस्तै कृषक परिवार अन्तर्गत जम्मा खेती भएको जग्गाको कित्ता सङ्ख्या पनि पहिलेको तुलनामा कम भएको देखिन्छ।

 

कृषक परिवार बढ्नुको सम्भावित कारण

निर्देशक कार्कीका भनाइमा कुल जनसङ्ख्यामा परिवार सङ्ख्या १२ लाखले बढ्दा करिब तीन लाख कृषक परिवार सङ्ख्या थपिनु खासै अस्वाभाविक होइन।

उनले भने, “परिवार सङ्ख्या बढ्दा त्यसको प्रभाव कृषक परिवारमा पनि परिहाल्छ। जस्तो कुनै कृषक बाबुका दुई छोरा छन् र उनीहरू छुट्टिए भने त्यहाँ तीन कृषक परिवार हुन्छ।”

त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या केन्द्रीय विभागका प्राध्यापक योगेन्द्रबहादुर गुरुङ पनि जनसङ्ख्या तथा घरपरिवारको सङ्ख्या वृद्धिअनुसार कृषक परिवारको सङ्ख्या पनि बढ्नु स्वाभाविक भएको बताउँछन्।

उनले कतिपय वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएकाहरूले विभिन्न उन्नत प्रविधि प्रयोग गरेर खेती गर्न थालेकाले समेत त्यसको प्रभाव देखिएको हुनसक्ने बताए।

क्षेत्रफल घट्दो

दश वर्षअघिको तुलनामा यसपालि खेती भइरहेको क्षेत्रफलमा कमी आएको कृषिगणनाले देखाएको छ। त्यसका विभिन्न कारण हुनसक्ने अधिकारीहरू र विज्ञहरूको बुझाइ छ।

एक दशकअघि देशको २५ लाख भन्दा बढी हेक्टरमा खेती हुने गरेकोमा अहिले त्यो २२ लाख १८ हजार हेक्टरमा सीमित भएको छ। त्यस्तै कृषक परिवार अन्तर्गत जम्मा खेती भएको जग्गाको कित्ता सङ्ख्या पनि पहिलेको तुलनामा कम भएको देखिन्छ।   

कृषि क्षेत्रमा प्रत्यक्ष सामेल हुने युवा पुस्ताको जनसङ्ख्या कम हुँदै गएको उक्त गणनाले देखाएको छ। दश वर्षअघिको गणनामा २५ वर्ष मुनिका कृषकको हिस्सा ३.१ प्रतिशत रहेकोमा त्यो घटेर २.६ प्रतिशत रहेको छ।

 

पछिल्लो विवरणअनुसार एक करोड १५ लाख कित्तामा खेती भएको पाइएको छ। दश वर्षअघि भने एक करोड २० लाख कित्तामा खेती भएको पाइएको थियो। कार्कीका भनाइमा खेती हुने क्षेत्रफल कम हुनुका विभिन्न कारणहरू हुन सक्छन्।

“हाम्रो मुख्य काम भनेको तथ्याङ्क सङ्कलन गर्ने हो। यो तथ्याङ्कमा टेकेर अब कारण खोज्ने र नीतिगत कामहरू गर्नुपर्ने भएमा सम्बन्धित निकायहरूलाई गर्न सहज हुनेछ,” उनले भने। गुरुङ चाहिँ कृषक परिवार बढ्नु तर क्षेत्रफल घट्नुलाई “नेपालको वर्तमान अवस्थाको प्रतिबिम्ब” भन्छन्।

उनले भने, “सामाजिक रूपमा हामीले अनुभव गरिरहेकै कुरा हो कृषिगणनाले त्यसैलाई प्रतिबिम्बित गरेको देखिन्छ।”

कृषि क्षेत्रमा कमी आउनुका कारणहरू

कृषि क्षेत्रमा युवापुस्ता घट्दै

कृषि क्षेत्रमा प्रत्यक्ष सामेल हुने युवा पुस्ताको जनसङ्ख्या कम हुँदै गएको उक्त गणनाले देखाएको छ। दश वर्षअघिको गणनामा २५ वर्ष मुनिका कृषकको हिस्सा ३.१ प्रतिशत रहेकोमा त्यो घटेर २.६ प्रतिशत रहेको छ।

त्यस्तै एक दशकको अवधिमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकको सङ्ख्या १६.१ प्रतिशत बाट घटेर १४.९ प्रतिशत, ३५ देखि ४४ वर्ष उमेर समूहका २६.७ प्रतिशतबाट घटेर २५.७ प्रतिशत भएको छ।

त्यस्तै ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ प्रतिशतबाट घटेर २४.८ प्रतिशत भएको छ। तर ५५ वर्षमाथिका कृषकको सङ्ख्या बढेको देखिएको छ।त्यस्तै कृषि क्षेत्रमा पुरुषको सङ्ख्या घट्दो र महिलाको बढ्दो देखिएको प्रतिवेदनमा उल्लेख छ।  

त्यस्तै हाइब्रिड र उन्नत बिउ प्रयोग गर्नेको सङ्ख्या पनि बढेको देखिएको छ। सिँचाइ पनि केही मात्रामा बढेको र एउटा जमिनमा सरदर दुई प्रकारका बाली लगाउने देखिएको छ। 'टनेल' मा खेती गर्ने कृषकको सङ्ख्या बढेको देखिएकाले त्यो पनि सकारात्मक पक्ष भएको कार्की बताउँछन्।

 

युवापुस्ताको जनसङ्ख्या धेरै विदेशिएको र त्यसमा पनि पुरुषको सङ्ख्या धेरै भएकाले कृषिमा महिलाको हिस्सा बढ्नुका साथै युवाको सङ्ख्या घटेको हुनसक्ने गुरुङ बताउँछन्। उनी भन्छन्, “खेती हुने क्षेत्रफल घट्नु र युवा पुस्ताको कृषिमा आकर्षण नदेखिनु भनेको सकारात्मक कुरा होइन। यसले देशको विकासलाई दीर्घकालसम्म असर गर्नसक्छ।”

केही आशलाग्दा कुरा

निर्देशक कार्कीका भनाइमा कृषिगणनाले नेपालको कृषि क्षेत्रमा कतिपय सकारात्मक परिवर्तनहरू पनि देखाएको छ। त्यसले नेपालमा कृषि क्षेत्रमा प्रगति भइरहेको भन्ने आधार प्रदान गर्छ।

कृषिगणना अनुसार कृषि औजारको प्रयोग बढेको देखिएको छ भने गोरुको सङ्ख्या घटेको एवं परम्परागत हलो प्रयोग गर्ने क्रम घटेको देखिएको छ। त्यसले उत्पादन लागत कम गर्ने र कृषकलाई फाइदा बढी हुने अवस्था बनेको उनको भनाइ छ।

त्यस्तै हाइब्रिड र उन्नत बिउ प्रयोग गर्नेको सङ्ख्या पनि बढेको देखिएको छ। सिँचाइ पनि केही मात्रामा बढेको र एउटा जमिनमा सरदर दुई प्रकारका बाली लगाउने देखिएको छ। 'टनेल' मा खेती गर्ने कृषकको सङ्ख्या बढेको देखिएकाले त्यो पनि सकारात्मक पक्ष भएको कार्की बताउँछन्।बीबीसी।