• शुक्रबार, १८ फाल्गुण, २०८०
  • १०:५४:४२

भूकम्पबाट थिल्थिलिएको २ सय २८ वर्ष पुरानो जाजरकोट दरबार

काठमाडौं । विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रवारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ मा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यसपटक दरबार चर्किएको मात्र छ ।

यसअघिका दुईवटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनःनिर्माण गरिएको थियो । केही वर्षअघि नेपाल सरकारले सूचीकृत गरेको देशका एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि परेको छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको जिल्लाको इतिहासमा भूकम्पले फेरि जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।

सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो ।

 

“२ पटक भत्किसकेको दरबारमा अहिले पनि उस्तै जोखिम निम्तिएको छ, जिल्लाको इतिहासलाई जोगाउन यसलाई जोगाउनुपर्ने हुन्छ”, उहाँ भन्नुहुन्छ, “जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुनःनिर्माण गरिएको थियो, अब यसरी समयमै पुनःनिर्माण गर्न पनि सहज छैन ।”

यसभन्दा ९० वर्षअघि १९९० माघ २ गते नेपाल र भारत केन्द्रबिन्दु भएर गएको ८ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्णरूपमा भत्किएको थियो । उक्त भुईँचालोबाट ८ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो । जाजरकोटमा भएको मानवीय क्षतिको भने तथ्याङ्क छैन । ९० वर्षअघिको उक्त भुईँचालोलाई दरबारमा क्षति पुर्‍याउने शक्तिशाली विपद्का रूपमा जाजरकोटवासीले लिन्छन् ।

सेतो दरबार भनिने जाजरकोट दरबार १९९० को भूकम्प जानुभन्दा अघि १८५२ सालमा निर्माण गरिएको हो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबभन्दा अग्लो भाग छनोट गरेर यो दरबार निर्माण गरिएको थियो ।

त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबार पनि अहिले सरकारी निकायको कार्यालयका रूपमा छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुने रातो दरबारमा सङ्घीयतापछि जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार बनेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका जानकार राजेन्द्रविक्रम शाहले बताउनुभयो । यो दरबार सुरुमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए । राजा इन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन ।  

प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई रु ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउनुहुन्छ ।

 

“कसैले सात तलाको भन्छन्, धेरैजसोले पाँच तलाको मात्र हो भनेर दाबी गरेका छन्”, शाहले भन्नुभयो, “जे होस् अहिलेको भन्दा अग्लो थियो, भूकम्पको क्षतिपछि पुनःनिर्माण गर्दा भने तीन तलामा झारिएको हो ।” यो दरबारको पुनःनिर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका इन्जिनियर बोलाइएको थियो । “यसमा प्रयोग भएका झ्यालको कला र स्वरूप हेर्दा सुरुकै स्वरूपमा निर्माण भएको देखिन्छ, तर अहिले यसका धेरै मौलिक स्वरूप अस्तित्वमा छैनन्”, उहाँले भन्नुभयो, “सरकारले रेखदेखको राम्रो व्यवस्था गर्न नसक्दा यो हराएको हो ।”

जाजरकोट दरबारले दोस्रोपटक भूकम्पीय क्षति भोगेको २०४५ सालमा हो । उदयपुर केन्द्रबिन्दु रहेको उक्त वर्षको ६.९ रेक्टर स्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो । यसलाई २०५१ सालमा पुनःनिर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगे पनि मानवीय क्षति भने जाजरकोटमा नभएको शाहले बताउनुभयो ।

तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट इन्द्रनारायणपछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाशविक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि नै सरकारी कामकाज हुँदै आएका थिए । 

प्रकाशविक्रमदेखि पछिका राजा २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाशविक्रम शाहले नेपाल सरकारलाई रु ६० हजारमा जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको शाह बताउनुहुन्छ ।

“यो दरबार ऐतिहासिक र पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ, यो जाजरकोटको मात्र नभएर सिङ्गो कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो”, उहाँले भन्नुभयो, “यसको मौलिकता, इतिहास र पुरातात्त्विक महत्त्व सुरक्षित हुने गरी पुरानै स्वरूपमा भूकम्प प्रतिरोधी बनाउनुपर्छ ।” अहिले सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयलाई आफ्नो भवन बनाएर सार्नुपर्ने उहाँको भनाइ छ । सरकारी कार्यालय रहँदा यसको इतिहास मेटिँदै जाने तर्क उहाँको छ । यसपटकको भूकम्पले जाजरकोट दरबारसँगै त्यतिबेलाकै स्वरूपमा बनेका अरू ऐतिहासिक घर पूर्णरूपमा भत्किएका छन् ।

राज्यमन्त्रीको रूपमा काम गर्नेलाई काजी भनिन्थ्यो, राज्यमा काम गर्नका लागि तोकिएका मन्त्री अर्थात् काजीको जिम्मेवारी पाएका व्यक्ति र तिनका परिवार जाजरकोट राजाको दरबारको छेउमै बस्ने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “उनीहरूले घर बनाउँदा पुरानै स्वरूप अपनाएको हुन सक्छन्, त्यतिबेलाका मन्त्री र काजीको विशेष सुविधाको पूर्ति जनताबाटै उठाइएको करबाट व्यवस्था हुन्थ्यो ।” 

 

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका ती २ वटा घरलाई स्थानीयले दरबार भन्ने गरेका छन् । ती २ घरमध्ये एउटा जाजरकोटी राजा जङ्गबहादुर शाहका छोरा समरध्वज, रणध्वज र सुरबहादुर शाहले १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवद्र्धन, अमरबहादुर, नरशम्शेर र नरजङ्ग शाहले १९५० सालमा बनाएका हुन् । दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि भन्दा पनि जाजरकोटी राजाका भाइ–छोरा बस्नका लागि भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ–छोरा धेरै भएर उनीहरूका आवास व्यवस्थापनका लागि ती घर बनेको शाह बताउनुहुन्छ ।

दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि यसपटकको भूकम्पले तहसनहस भएका छन् । ती संरचना पनि मौलिक स्वरूपमा छन् । “जाजरकोट राज्यमा एकजना मन्त्री राख्ने र राज्यमन्त्रीको रूपमा काम गर्नेलाई काजी भनिन्थ्यो, राज्यमा काम गर्नका लागि तोकिएका मन्त्री अर्थात् काजीको जिम्मेवारी पाएका व्यक्ति र तिनका परिवार जाजरकोट राजाको दरबारको छेउमै बस्ने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “उनीहरूले घर बनाउँदा पुरानै स्वरूप अपनाएको हुन सक्छन्, त्यतिबेलाका मन्त्री र काजीको विशेष सुविधाको पूर्ति जनताबाटै उठाइएको करबाट व्यवस्था हुन्थ्यो ।” हेमन्त केसी/रासस