७ महिनामा ११ गैंडा मरे
-
नेटिजन संवाददाता
- मंगलबार, २३ माघ, २०८०- १४:४३:००/ Tuesday 02-06-24

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्ष ( साउन देखि माघ सम्म) ११ वटा गैंडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये २ वटा चोरी सिकारीले मारेका र ९ वटा प्राकृतिक कारणले मरेका निकुञ्जले जनाएको छ।
निकुञ्जका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए । सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैंडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो। गैंडा मर्ने क्रम बढे पछि निकुञ्जले यसको रोकथामका सक्रियता बढाएको जनाएको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले यस भन्दा आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढि ४३ वटा गैंडा मरेको जानकारी दिनुभयो।
नेटिजन नेपालसंगको कुराकानीमा उहाँले प्राकृतिक कारण र मानविय दुबै कारणले गर्दा गैंडा संरक्षणमा समस्या उत्पन्न भएको र यसको रोकाथापकालागि निकुञ्जले गस्ती गर्ने, वासस्थान व्यवस्थापन गर्ने, स्थानिय समुदायमा जनचेतना जगाउने ,मानवर्निमित गैर कानुनी भौतिक संरचना भत्काउने जस्ता कार्यक्रम गरिरहेको बताउनुभयो ।