• शनिबार, १२ श्रावण, २०८१
  • ०१:३६:०३

त्रिविको उपकुलपतिमा बराल नियुक्त

  • Netizen Nepal
  • बिहीबार, १० फाल्गुण, २०८०- १७:२४:००/ Thursday 02-22-24

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयले जानकारी दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति हुनुहुन्थ्यो । उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायका प्राध्यापक हुनुहुन्छ । प्रा.डा. बरालले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।