• शनिबार, १२ श्रावण, २०८१
  • ०८:१७:०२

ल्हाक्पा शेर्पाको आत्मकथा 'हिम्बु' लोकार्पण 

  • Netizen Nepal
  • सोमबार, १४ फाल्गुण, २०८०- १६:३६:००/ Monday 02-26-24

काठमाडौँ । पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाद्वारा लिखित हिम्बु नामक आत्माकथा लोकार्पण गरिएको छ । शेर्पाले नेपालको पर्यटन क्षेत्रमा भोगेका ५० वर्षमा अनुभव समेटिएको पुस्तकमा विभिन्न ३३ ओटा शिर्षकहरु समेटिएका छन् । सास ट्रष्टद्वारा प्रकाशित पुस्तकको सम्पादन साहित्यकार युवराज नयाँघरेले गर्नुभएको हो ।

आइतबार काठमाडौँमा आयोजित लोकार्पण समारोहमा सन् १९५३ मा तेञ्जिङ्ग नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको सरगरमाथा आरोहण अभियानका एक मात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ट पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि नेपालका भुतपूर्व राजदुत  डाक्टर अर्जुन कार्की, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा, विश्वका आठ हजार भन्दा अग्ला १४ ओटा हिमाल आरोहण गर्ने दक्षिण एसियाकै पहिलो आरोही बन्न सफल मिङ्ग्मा शेर्पा र एसियाकै पहिलो महिला अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ शेर्पाले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो ।

लेखक ल्हाक्पा सोनाम शेर्पाकी जेठी छोरी तथा स्पेनका लागि नेपालकी पुर्व राजदुत दावाफुटी शेर्पाले स्वागत गर्नुभएको समारोहमा पुस्तकका सम्पादक युवराज नयाँघरेले पुस्तक लेखनका विविध पक्षबारे जानकारी दिनुभएको थियो भने समिक्षक महेश पौडेलले हिम्बु पुस्तकको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा वरिष्ट पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायतले पनि मन्तव्य प्रकट गर्नुभएको थियो । 

सोलुखुम्बुको पाङ्गोममा जन्मनुभएका लेखक शेर्पाले १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौँ आइ मेस ब्वाइका रुपमा पर्यटन क्षेत्रमा काम गर्न सुरु गर्नुभएको थियो ।  फ्रान्समा स्की सम्बन्धि काम गर्नुभएका उहाँले सन् १९८८ मा थापसर्कु ट्रेकिंग स्थापना गर्नुभएको थियो । उक्त कम्पनीले १६ वर्षसम्म नेपालको उत्कृष्ट ट्रेकिंग कम्पनीको पुरस्कार पाएको थियो ।  

उहाँ यति इयरलाइन्स र तारा इयरका संस्थापक हुनुहुन्छ । हाल विभिन्न जिल्लाहरुमा उहाँका होटलहरु संचालित छन् । लेखक शेर्पा आरोही पनि हुनुहुन्छ । उहाँले सन् १९८७ मा ठामसर्कु हिमालको आरोहण गर्नुभएको थियो । हिमाल आरोहणमा निकै रुचि राख्ने शेर्पाले ६० वर्षको उमेरपछि विश्वका ७ ओटा महादेशमा रहेका सबै उच्च हिमालहरुको सफल आरोहण गर्नुभएको थियो । उहाँले सेभेन समिटको अनुभव सविस्तार पुस्तकमा उल्लेख गर्नुभएको छ ।  लेखक ल्हाक्पा सोनाम शेर्पाले आगामी दिनमा सास ट्रष्टद्वारा सामाजिक सेवामा क्रियाशिल हुँदै जाने लक्ष्य राख्नुभएको छ ।  

हिम्बु पुस्तक बिक्रिबाट संकलित भएको रकम सास ट्रष्टद्वारा संचालन गरिने सामाजिक सेवामा खर्च गरिने लक्ष्य राखिएको छ । कार्यक्रम बोल्दै उहाँले  पुस्तक बिक्रिबाट प्राप्त भएको रकममध्ये आफ्नै जन्मगाउँको संस्था ह्याम्बु ठमिछो किदुक खरिखोला, हिमाली क्षेत्रको मन्दिर त्रिपुरा सुन्दरी डोल्पा र घुन्सा फाउन्डेसन ताप्लेजुङ्गलाई एक-एक लाखका दरले प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।