• शुक्रबार, ७ बैशाख, २०८१
  • ०९:२२:३८

जङ्गली जनावरको त्रास मेटाउन कुकुर वितरण गर्ने

काठमाडौं। पाणिनि गाउँपालिकाको वडा नम्बर २ ले जङ्गली जनावरको नियन्त्रण गर्न कुकुर वितरण गर्ने भएको छ वडा नं. २ को  आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउनको लागि शुद्ध नश्लका भोटे कुकुर खरिद गरी वितरण गर्ने वडा कार्यालयले जनाएको छ ।

“ग्रामीण भेगमा बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरले किसानहरूलाई सताइरहेका छन् ।” वडा अध्यक्ष चन्द्रकान्त पौडेलले भन्नुभयो “जङ्गली जनावरको आतङ्कलाई कम गर्न केही हद सम्म भए पनि सहयोग होस भन्ने उद्देश्यले कुकुर वितरण गर्ने योजना ल्याएका हौँ ।”

वडाले सूचना जारी गर्दै लागत साझेदारीमा भोटे कुकुर किसानलाई उपलब्ध गराउने जानकारी गराएको छ । कुकुर पाल्न इच्छुक किसानहरूले १५ दिन भित्र वडा कार्यालयमा निवेदन पेश गर्नको वडाले अनुरोध गरेको छ ।