नारायणगढ-मुग्लिन सडकखण्डमा थप ३ पुल सञ्चालन
-
नेटिजन संवाददाता
- मंगलबार, ६ चैत, २०८०- १३:३२:००/ Tuesday 03-19-24

काठमाडौं। नारायणगढ (मुग्लिन सडकखण्ड)का थप ३ पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले ३ नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उहाँले भन्नुभयो “ मंगलबार र बुधबार कालोपत्र सकिन्छ । बिहिबारबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”
हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ । मुग्लिन नजिकको खहरे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ । उहाँका अनुसार ६ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन् ।
काली र नाम्ची २ वटा पुल २ महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँको बताउनुभयो । यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि सो सडकखण्डमा १२ वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डमा कुल १९ पुल छन् । तीमध्ये ४ वटा पहिले नै निर्माण भएका थिए ।
यस सडकखण्डमा विसं २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थिए । सडक चौडा भएपछि पुल निर्माण गरिएको हो । सडक विस्तार गरी ९ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ । रासस ।