• शनिबार, १५ बैशाख, २०८१
  • ०४:३७:२०

पाँच लाख बढी विद्यार्थी एसईई परीक्षामा सहभागी

  • Netizen Nepal
  • बिहीबार, १५ चैत, २०८०- १०:५२:००/ Thursday 03-28-24

काठमाडौं। विद्यार्थी र अभिभावक दुबैले विशेष चासो र महत्व दिने  परिक्षा  एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आज चैत्र १५ गतेदेखि सुरु भएको छ।  परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

चैत्र १५ गते  शुरु भएको परिक्षा  बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन  हुन्छ।  चैत २७ गते सम्पन्न हुने  यस वर्षको एसइई परीक्षामा जापानबाट २३  विद्यार्थी  सहभागी हुने भएका छन् । 

यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  देशका केहि स्थानमा वर्षाका कारण परिक्षामा केहि असहजता भए पनि सबै तयारी व्यवस्थित ढंगले गरिएका कारण परिक्षा सुचारु ढंगले संचालन भएको बोर्डले जनाएको छ।