दुना टपरीबाट आम्दानी गर्दै खिमा दम्पती
-
नेटिजन संवाददाता
- आइतबार, १८ चैत, २०८०- १५:२३:००/ Sunday 03-31-24

काठमाडौं। महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ कैलालीकी खिमादेवी धामी ।
४ वर्ष पहिले रु.५ लाख खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उहाँलाई उद्यमी बनाएको छ । उहाँले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक रु ४० हजारभन्दाबढी आम्दानी गर्दै आउनुभएको छ । नगरपालिकाको वडा नं-१ भजनी बजारमा सालको पातबाट दुनाटपरी बनाउने उद्योग सञ्चालन गर्नुभएकी खिमाले गाउँका महिलालाई पनि रोजगारीमा जोड्नुभएको छ ।
“कैलालीका विभिन्न क्षेत्र हुँदै बर्दियालगायत काठमाडौँसम्म उत्पादन भएको दुनाटपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनुपर्ने स्थिति छैन”, उहाँ भन्नुहुन्छ, “उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।” उद्योगमा दैनिक तीन हजारभन्दा बढी टपरी र छ हजार दुना उत्पादन हुन्छन् । विभिन्न नौ साइजमा दुनाटपरी उत्पादन हुँदै आएका छन् ।
“गोठाला गएका, गाउँमा फुर्सदमा भएका महिला दिनभर सामुदायिक वनमा गएर पात टिप्नुहुन्छ । त्यो पात हामीले खरिद गर्छौँ”, खिमा भन्नुहुन्छ, “प्रतिकेजी रु ३५ देखि ४० मा खरिद गर्छौ ।” यस उद्योगबाट गाउँका महिलाले पनि घरायसी कामको अतिरिक्त समयको सदुपयोग गर्न पाएका छन् ।
उद्योगबाट आफूहरुलाई आयआर्जनको बाटो पनि खुलेको उहाँको भनाइ छ । भजनी नगरपालिका–९ की तारादेवी पुनमगर खिमाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभूति भएको बताउनुहुन्छ । दैनिक घाँस दाउरा, गाईवस्तु चराउनका लागि जङ्गल पुग्नुपर्ने तारादेवी अहिले पात टिप्ने काम पनि सँगै गर्नुहुन्छ ।
घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि तारादेवीको घरको सानोतिनो खर्च टार्ने माध्यम खिमाको उद्योग बनेको छ । “घाँस दाउरा, मेलापात गर्दै उमेरले नेटो काट्न लाग्दा जङ्गलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाइ होला भन्ने आफूले नसोचेको उहाँले सुनाउनुभयो ।
उहाँ भन्नुहुन्छ, “आज त्यहीँ सालको पातले घरको खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नुपरेको छैन ।” तारादेवी जस्तै वडा नं ९ का मटेरी टोलका अधिकांशले सालको पात सङ्कलन गरी बिक्री गर्दै आएका छन् । स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गइरहेको वस्तुबाट आम्दानीसँग जोड्नुभएकी खिमालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भए पनि अहिले बजारको मागलाई भ्याउन सक्नुभएको छैन । उहाँले हप्ताको एक दिन शनिबार स्थानीयवासीले सङ्कलन गरेको पात खरिद गर्दै आउनुभएको छ । हप्तामा रु. २० हजारदेखि . २५ हजारसम्मको सालको पात खरिद गर्दै आएको उहाँ बताउनुहुन्छ ।
“कैलालीका विभिन्न क्षेत्र हुँदै बर्दियालगायत काठमाडौँसम्म उत्पादन भएको दुनाटपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनुपर्ने स्थिति छैन”, उहाँ भन्नुहुन्छ, “उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।” उद्योगमा दैनिक तीन हजारभन्दा बढी टपरी र छ हजार दुना उत्पादन हुन्छन् । विभिन्न नौ साइजमा दुनाटपरी उत्पादन हुँदै आएका छन् ।
उत्पादन भएको वस्तुको बजारीकरणमा खिमालाई श्रीमान् होमबहादुर बोहराले साथ दिनुभएको छ । उहाँले स्थानीय बजार हुँदै बाह्य बजारसम्म उत्पादन भएको वस्तु पुर्याउने काम गर्दै आउनुभएको छ । “श्रीमतीले उद्योगभित्रको काम हेर्छिन । मैले बजारको काम हेर्ने गरेको छु”, होमबहादुर भन्नुहुन्छ, “श्रीमान् श्रीमती दुवैजना सबै क्षेत्र छोडेर उद्योगलाई अझै स्थापित गर्दै लैजानेतर्फ लागिरहेका छौँ ।”
दुनाटपरी तयार हुने मेसिनबाट चप्पल तयार गर्ने गरिएको छ । दुनाटपरीको माग कम भएको समयमा उहाँहरुले सोही उद्योगबाट चप्पल तयार गरेर बिक्रीसमेत गर्दै आउनुभएको छ । चालु आर्थिक वर्षमा उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ‘एक उद्योग, एक निर्वाचन क्षेत्र’ कार्यक्रम अन्तर्गत मेसिन खरिदका लागि अनुदान पाउनुभएको छ ।
पछिल्लो समय स्थानीय तह प्लास्टिक निषेधित क्षेत्र घोषणा हुँदै जाँदा पातबाट बनेका वस्तुको माग बढेको होमबहादुरको भनाइ छ । नेपालबाट मात्रै नभइ छिमेकी मुलुक भारतका स्थानीय व्यापारीबाट पनि वस्तुको माग भइरहेको उहाँले बताउनुभयो । कुनै समय साथीभाइको वैदेशिक रोजगारीले लोभ्याएर वैदेशिक रोजगारीको तयारीमा लाग्नुभएका होमबहादुर विदेशको नाम पनि चाहनुहुन्न ।
“स्वदेशमै सम्भावना हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसक्दा अरुले गरिरहेको बाटोमा हिँड्नुपर्ने बाध्यता हुँदोरहेछ । जुन बाटो मैले पनि लहलहैमा रोजिसकेको थिएँ”, होमबहादुरले सुनाउनुभयो, “समयले मलाई यतै केही गर्नुपर्छ भनेर रोक्यो । जसमा श्रीमतीको साथ अनि आत्मविश्वासले मलाई नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सिकायो । अहिले यो व्यवसायबाट मेरो परिवार सन्तुष्ट छ ।”
दुनाटपरी तयार हुने मेसिनबाट चप्पल तयार गर्ने गरिएको छ । दुनाटपरीको माग कम भएको समयमा उहाँहरुले सोही उद्योगबाट चप्पल तयार गरेर बिक्रीसमेत गर्दै आउनुभएको छ । चालु आर्थिक वर्षमा उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ‘एक उद्योग, एक निर्वाचन क्षेत्र’ कार्यक्रम अन्तर्गत मेसिन खरिदका लागि अनुदान पाउनुभएको छ । २० प्रतिशत लागत सहभागिता रहेको उक्त कार्यक्रमबाट प्राप्त मेसिन आएपछि उद्योगको आकार बढ्ने र बजारको मागलाई थप पूर्ति गर्न सकिने खिमाको विश्वास छ । रासस।