• मंगलबार, १८ बैशाख, २०८१
  • ०३:२१:२४

आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम

काठमाडौं। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यावसायिक आलुखेतीमार्फत आत्मनिर्भर बनेका छन् ।  यहाँका किसान व्यावसायिकरुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका-५ स्थित बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यावसायिकरुपमा आलु उत्पादन गरिँदै आएको छ । त्यस क्षेत्रमा ६० घरपरिवार आलु र तरकारी पकेट समूह बनाएर स्मार्ट कृषि गाउँ कार्यक्रममा आबद्ध छन् ।

यहाँका किसानले पाँच हेक्टर जमिनमा आलुखेती गरेर वार्षिक ९० मेट्रिकटनभन्दमा बढी आलु उत्पादन गर्दै आएको स्थानीय किसान मेघराज गिरीले जानकारी दिनुभयो । बम्घा टाहाटिमकी राधिका गिरीले खेत र बारी गरेर ५ रोपनी क्षेत्रफलमा आलुखेती गर्नुभएको छ । 

उहाँको बारीमा र खेतमा गरेर यसपटक २० क्विन्टलभन्दा बढी आलु उत्पादन भएको छ । आलुसँगै उहाँले खेतमा धान, मकै, सिमी र काउली पनि उत्पादन गर्नुहुन्छ । टाहाटिमका किसानहरू यतिबेला खेतमा आलु खन्न व्यस्त छन् । गत वर्षको तुलनामा यसपटक आलुले राम्रै बजार पाएको स्थानीय किसान मेघलाल गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले स्थानीय बजारमा प्रतिकिलो ४० मा धमाधम आलु बिक्री भइरहेको छ । 

लुम्बिनी प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र गुल्मीद्वारा टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भइरहेको छ । बम्घाको टाहाटिममा २ वर्षअघिदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रले बीउ, मल, विषादी, मेसिन, सिँचाइ र बीउ सङ्कलन केन्द्रसम्म पुर्‍याउन ढुवानीलगायतका क्षेत्रमा सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । बम्घाको टाहाटिमका किसान पूर्खौदेखि आलुखेती गर्दै आइरहेका छन् । 

आलु खेतीका लागि उर्वरभूमि भएका कारण त्यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्यरुपमा आलु उत्पादन हुने गर्दछ । पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ । बम्घामा भने कमिलोभन्दा समय समयमा डढेलोको प्रकोप बढी देखिने गरेको बताइएको छ ।

कृषि ज्ञान केन्द्रले जिल्लाको मुसिकोट नगरपालिका-१ अन्तर्गत भर्माचौर, सत्यवती गाउँपालिकाको साहघाट, मदाने गाउँपालिका ६ अन्तर्गत सिम र मालिका गाउँपालिकाको अर्खाबाङ्मा आलुको पकेट क्षेत्र बनाइ व्यावसायिक रूपमा आलु र आलुको बीउ उत्पादन गर्दै आइरहेको छ । रासस।