• शनिबार, ८ असार, २०८१
  • ०४:३१:२७

रजोनिवृत्तिलाई सार्वजनिक स्वास्थ्यको  महत्वपूर्ण विषय बनाउँन आवश्यक  

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलीसिटी भोल्कले रजोनिवृत्ती, रजोनिवृत्तीको समय, महिला स्वास्थ्य र कार्यस्थलमा व्यापक र व्यक्तिगत स्वास्थ्य सेवा र सहयोग लगायत विषयहरुमा  सम्बनिधत् पक्षको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउँनुभएको छ । 
रजोनिवृत्तीका बारेमा जनचेतना बढाउने उद्देश्यले  अष्ट्रेलियाली दुतावासद्वारा काठमाण्डौमा आयोजित मेनोपज टु मेनोपिक सार्वजनिक सेमिनारलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउँनुभएको हो । 
उहाँले भन्नुभयो, “नेपालमा पनि अष्ट्रेलियामा जस्तै आधा जनसंख्याले रजोनिवृत्तिका लक्षणहरु अनुभव गर्ने भए तापनि  यस विषयमा एकदम कम सार्वजनिक छलफल हुने गर्दछ ।  रजोनिवृत्ति एक प्राकृतिक प्रकृया हो तर यसका बारेमा एकदम कम बैज्ञानिक अनुसन्धान भएका छन् र यसका लागि सिमीत चिकित्सकिय सेवा र सूचनाहरु उपलब्ध छन् । यो विषयका बारेमा नकारात्मक सामाजिक सोच रहेकाले रजोनिवृत्तिको अवस्थामा पुगेका महिलाहरुको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर गरेको पाईन्छ । 

“आज आनी छोईङ् र एली पेप्पर जस्ता प्रतिष्ठित व्यक्तिहरुले रजोनिवृत्तिका विषयमा खुलेर यो सार्वजनिक छलफलमा भाग लिएर हामीलाई जुनसुकै चरणमा पनि महिलाहरु उत्तिकै शक्तिशाली, प्रेरणादायी रहने र समुदायमा योगदान दिन सक्षम रहनसक्ने कुरा दर्शाउनु भएकोमा आज म निकै प्रशन्न छु ।”

प्रख्यात पर्वतारोही एली पेप्परले आफ्नो रेस्पेक्ट अबभ द क्लाउडस् अभियानका बारेमा बताउनुभयो । यो अभियानमा थप अक्सिजन प्रयोग नगरि तीन बर्ष भित्र विश्वका सबै चौध वटा आठहजार मीटर भन्दा माथिका हिमालहरु चढ्ने र यसो गरेर रजोनिवृत्तिको अनुभव गरिरहरनुभएका महिलाहरुको हौसला बढाउने योजना रहेको पेप्परले बताउनुभयो । 

“जब मैले जटिल र अस्थिर बनाउने खालका रजोनिवृत्तिका लक्षणहरु भोगें त्यतिखेर उचित चिकित्सकिय सल्लाह पाउन सकिन । नैराश्य, रातमा पसिना आउने, निद्रा नलाग्ने र राम्रो संग सोच्न नसक्ने लगायत लक्षणहरुले मेरो व्यवसायिक वृत्ति विकास, सम्बन्धहरु र मेरो पर्वतारोहणका ईच्छाहरुलाई पनि असर गरे । रजोनिवृत्तिका बारेमा जानकारी भएका चिकित्सक भेट्न मलाई महिनौं लाग्यो र मेरो ठिक उपचार भए पश्चात मेरो जीवन नै फिर्ता पाएको अनुभव भयो । रजोनिवृत्तिको अवस्थामा पुगेका महिलाको बारेमा नकारात्मक समाजिक सोच रहेको पाईन्छ । रजोनिवृत्तिका बारेमा र यसले महिलाहरुको समग्र जीवनमा पार्ने असरका बारेमा हाम्रो समाजमा अझ व्यापक छलफल गर्नुपर्छ ।”

डा नीति अर्याल खनालले यो सेमिनारले नेपालका सरकारी र निजी कार्यस्थलहरुमा महिलाहरुलाई आफ्नो जीवनकालमा उत्पादनमुलक तरिकाले योगदान गरिरहन मद्दत पुग्ने कुरो बताउनुभयो । 

“महिलाहरुमा जुन समयमा रजोनिवृत्तिका लक्षणहरुको सुरुवात हुन्छ त्यही समय उनीहरु आफ्नो व्यवसायिक जीवनको उत्कर्षमा पुग्ने अवस्थामा हुन्छन् । प्राय महिलाहरु चुपचाप रजोनिवृत्तिको अवस्थामा पुग्छन् । हाल बढी भन्दा बढी महिलाहरु श्रमशक्तिका रुपमा कार्यस्थलहरुमा आईरहेका छन् । यो अवस्थामा रोजगारदाता सार्वजनिक, निजी, औपचारीक र अनौपचारीक क्षेत्र सबैले महिलाहरुलाई रजोनिवृत्तिको चरणमा प्रवेश गर्न सहयोगी भूमिका खेल्नु पर्दछ । यसो गरेमा उनीहरुलाई ब्यवसायिक र व्यक्तिगत सफलता र नेतृत्वका पदहरुमा पुग्न सहज हुने गर्दछ ।”

अर्का वक्ता, अन्तर्राष्ट्रिय स्वास्थ्य संचार विज्ञ डा सुनुर बर्माले केटाहरु र पुरुषहरुलाई आफ्नै यौन स्वास्थ्यका बारेमा शिक्षित बनाएमा यसले महिलाहरुको स्वास्थ्यको सबै अवस्थाहरुमा थप मद्दत पुग्ने बताउनु भयो । 
रजोनिवृत्तीका बारेमा जनचेतना बढाउने उद्देश्यले  आयोजित उक्त मेनोपज टु मेनोपिक सार्वजनिक सेमिनारमा  कार्यक्रममा प्रख्यात गायिका, समाजसेवी तथा बौद्ध भिक्षुणी । सरकारी, कुटनितीक, नागरीक समाज, मिडिया र अन्य क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।