४१ पुल बाढीमा बगे: १० करोड बढीको क्षति
- नेटिजन संवाददाता
- मंगलबार, २५ असार, २०८१- १४:२१:००/ Tuesday 07-09-24
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र ५ जना वेपत्ता भएका छन् ।
बाढीपहिराका कारण ३ सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ ।
बाढीपहिरोले १ विद्यालय र २ सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, १ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार ७ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।रासस।