• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:१६

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमको बिच काठमाडौंको बोहोराटार स्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गराएका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए। उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए । अध्यक्ष पौड्यालले यो कार्यमा सहयोग गर्नु राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए ।

बैंकका सिइओ ढुंगानाले नबिल बैंक सधैँ मानव सेवाका कार्यहरूमा साझेदारी गर्न तयार रहेको बताए । उनले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए । नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताए । “सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सी लगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो। अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौँ,“ उनले भने।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पु¥याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन् । उनले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पु¥याउने बताइन् ।

वि.स. २०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७,००० भन्दा बढीलाई आश्रय दिएको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, र पालनपोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्त्वपूर्ण योगदान पु¥याउने अध्यक्ष अधिकारीले बताए ।
मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खाना समेत वितरण गरे । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अति आवश्यक मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ। मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भन्दै नबिल बैंकले अति आवश्यक क्षेत्रमा सधैँ हातेमालो गर्ने गरेको छ ।