• बुधबार, २६ भदौ, २०८१
  • ०८:३८:५३

नेपाल पूर्वतयारी साझेदारी कार्यक्रमको प्रभावकारीता उल्लेखनीय

काठमाडौं । नेपाल पूर्वतयारी साझेदारी कार्यक्रमले विगतमा गरेका क्रियाकलापहरुबाट प्राप्त नतिजा र सिकाईको प्रशंसा गर्दै सरोकारवालाहरुले यसलाई   अझ ब्यापक बनाउँन जोड दिएका छन् । 
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी)ले काठमाण्डौंमा आयोजना गरेको नेपाल पूर्वतयारी साझेदारी राष्ट्रिय परामर्श कार्यशालामा सहभागी वक्ताहरुले विपद व्यवस्थापन र प्रतिकार्यसम्बन्धी संस्थागत संरचना, नीतिगत व्यवस्था र तीनै तहका सरकार एवम् निजी क्षेत्रबिचको सहकार्यमा नेपालले धेरै कार्य गर्न सकेकोले यो कार्यक्रमलाई तेस्रो चरणमा अझ व्यापक बनाउनु पर्नेमा जोड दिएका हुन । 
कार्यशालामा गृह मन्त्रालय द्वन्द्व तथा  विपद् व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहसचिव डा. भीष्मकुमार भुसालले  नेपाल प्राकृतिक विपदको हिसाबले उच्च जोखिममा रहेकाले सरकारले विपद् व्यवस्थापन, प्रतिकार्य र पुनःस्थापनका कामलाई प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो । उहाले विपद् व्यवस्थापन कार्यमा स्थानीय सरकार र स्थानीयकै भूमिका महत्वपूर्ण रहनेमा जोड दिनु भयो । 
उहाले नेपाल पूर्वतयारी साझेदारी कार्यक्रमको तेस्रो चरणको कार्यान्वयनबाट आगामी दिनमा यस क्षेत्रमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्दै अबको वहस विकास र विपद्मा बढि केन्द्रीत हुन पर्नेमा जोड दिनु भयो । 
कार्यशाला गोष्ठीमा बोल्दै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नेपाल पूर्वतयारी साझेदारी कार्यक्रमले धेरै कुरा सिकाएको भएपनि पालिकाले विपद् पूर्व तयारीका सम्बन्धमा लक्षित वर्गसम्म पुग्नका लागि कार्यक्रमको निरन्तरताको आवश्यकता रहेको बताउनु भयो ।
त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद् व्यवस्थापनको सवालमा राष्ट्रिय ऐन– कानुन, स्थानीय सरकारका लागि बाधक रहेको अनुभव सुनाउदै तीन तहको सरकारबीच समन्वयको खाँचो भएको बताउनु भयो । 
खैरेनी नगरपालिकाका प्रमुख शसी कुमार खनियाले विपद् पूर्वतयारीको क्षेत्रमा धेरै नीति, कानुन निर्माण गर्न सफल भएकोले अब कार्यान्वयनमा सबैले सहकार्य गर्न आवश्यक भएको धारणा राख्नु भयो । 
कार्यशाला गोष्ठीमा एसियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी)को सहयोगमा गृह मन्त्रालय र एनडिआरसीद्वारा सञ्चालित ‘नेपाल पूर्वतयारी साझेदारी कार्यक्रम’ को दोस्रो चरणको समीक्षा गरिनाका साथै तेस्रो चरणको प्राथमिकता र कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । 

उक्त अवशरमा सहभागीहरुले दोस्रो चरणको कार्यक्रमबाट प्राप्त सिकाईलाई कार्यक्रमको तेस्रो चरणमा निरन्तरता दिन सुझाव दिएका थिए । 
उनीहरुले खास गरेर विपद् व्यवस्थापन र उत्थानशीलतामा स्थानीय तहलाई अझ बढी सबल र सक्षम बनाउने, पूर्वतयारी प्रणालीलाई अझ सशक्त र सुदृढ तुल्याउने, समुदाय खासगरी महिलाको सीप, क्षमता र ज्ञानलाई प्रभावकारी रुपमा उपयोगमा ल्याउने, विपद् व्यवस्थापनसँग सम्बन्धित जति पनि योजना, नीति र कार्यक्रमहरुको पुनरवलोकन गर्ने र कार्यान्वयनमा लैजान सहजीकरण गर्नका लागि संचारमाध्यमको संलग्नता व्यापक बनाउन सुझाव दिएको एनडिआरसीका सुरेश थापाले जानकारी दिनुभयो ।
सो अवसरमा एडिपिसीका सलिनी कुँवर र एनडिआरसीका कार्यकारी निर्देशक श्यामसुन्दर ज्ञवालीले नेपाल साझेदारी कार्यक्रमका बारेमा कार्यपत्रमार्फत जानकारी दिनु भएको थियो । प्राधिकरणका उपसचिव सन्ध्या सिग्देलले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना र उपसचिव गोमा चेम्जोङले नेपालमा विपद्को अवस्था र सरोकारवालाको सहभागिताका बारेमा प्रस्तुति दिनुभएको थियो ।
 गैरसरकारी संस्थाका तर्फबाट एनडिआरनेटका अध्यक्ष डा.नहकुल सुवेदी र डिपिनेटका अध्यक्ष डा.राजु थापाले पनि विपद् व्यवस्थापनमा निजी क्षेत्र एवम् गैरसरकारी क्षेत्रको भूमिका र योगदानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चौधरी फाउन्डेसनका मेरिना रञ्जित र नेपाल उद्योग वाणिज्य महासङ्घका भक्तबहादुर हमालले यो कार्यक्रमबाट विपद् जोखिम न्यूनिकरणको पूर्ण चक्रमा निजि क्षेत्रको संलग्नताका उपाय र आवश्यकतालाई विस्तार गर्न धेरै सिकाइ हासिल गरिएको बताउनुभयो ।