• मंगलबार, १ असोज, २०८१
  • १२:५४:२९

मनै लोभ्याउने दामोदर कुण्ड

काठमाडौं । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर ४  मा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड धार्मिक र प्रकृतिको मनोरम सङ्गम स्थल हो ।  कालिगण्डकी नदीको उद्गम यस क्षेत्र दामोदर हिमशृङ्खलाको काखमा अवस्थित छ । दामोदर कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कुण्डमा स्नान गर्न नेपाली तथा भारतीय हिन्दु तीर्थालु भक्तजनहरू पुग्ने गर्दछन् । 

समुन्द्री सतह देखि ४ हजार ८ सय मिटरको उचाइमा रहेको दामोदर कुण्ड हिन्दु र बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थलका रूपमा परिचित छ । दामोदर कुण्डमा पुग्न हावापानीका हिसाबले जेठ देखि साउन महिना सम्म उपयुक्त हुन्छ  । दामोदर कुण्डमा स्नान गर्न विशेष गरी जनै पूर्णिमा र चैते दशैका दिन भक्तजनहरू पुग्ने गर्दछन् । यहाँ ५ वटा कुण्डहरू छन् । भक्तजनहरूले २ वटा ठुला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्त्व छ ।  

कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट २ घण्टाको सवारी साधनको यात्रापछि यारा गाउँ पुग्न सकिन्छ । यारा गाउँ देखि माथि झुमा ठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू याराबाट नै घोडाको यात्रा गर्दछन् । 

याराबाट ५ घण्टा घोडा र करिब ५ घण्टा नै पैदल यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिन पूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि पालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । असार देखि साउन महिना सम्म धर्मशालामा निःशुल्क भोजनको पनि व्यवस्था मिलाइएको हुन्छ । 

कठिन पूर्ण यात्रा गरेर दामोदर कुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदिने म्याग्दीबाट दामोदर कुण्ड पुग्नुभएका रामजीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, दामोदर कुण्ड साँच्चिकै स्वर्गको टुक्रा जस्तो लाग्यो । दामोदर कुण्ड  धार्मिक र प्रकृतिको सुन्दर सङ्गम स्थलको अनुभूति भयो ।’’ दामोदर कुण्ड पुग्न र फर्किन प्रति घोडा १० हजार रुपियाँ खर्च लाग्ने उहाँको भनाई थियो । 

दामोदर कुण्ड पुग्न करिब ५ हजार ५ सय मिटर भन्दा अग्ला पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदर कुण्डको समथर भूभागमा पुगिने उहाँले बताउनुभयो । उहाँका अनुसार दामोदर कुण्ड सेता हिम चुचुराले घेरिएको सुन्दर उपत्यका हो ।गोरखापत्रबाट ।