• शुक्रबार, २८ भदौ, २०८१
  • ०२:३२:२८

नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनको राष्ट्रसङ्घद्वारा स्वागत

काठमाडौँ। लामो समयदेखि अलमलमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउँन नेपालले कानून निर्माण गरेपछि अब शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने आशा जागेको छ ।  राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट समेत विधेयक पारित भइसकेपछि यसको बारेमा विभिन्न क्षेत्रबाट सकारात्मक टिप्पणीहरु समेत आइरहेका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घले हालै मात्र नेपालका दुबै सदनबाट पारित भएका शान्ति प्रक्रिया सम्बन्धीको कानुनको स्वागत गर्दै शान्ति प्रक्रियाले एउटा निष्कर्ष निकाल्नेमा आशा व्यक्त गरेको छ। नेपालको शान्ति प्रक्रियालाई आवश्यक सहयोग गर्नका लागि आफ्नो  साथ रहने प्रतिबद्धता समेत राष्ट्रसंघले व्यक्त गरेको छ।

 संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकाले अब नेपालले शान्ति प्रक्रियामा सफलता प्राप्त गर्ने आशा समेत व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै विधेयकको कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

शान्ति सम्झौता भएको १८ वर्षपछि पारित भएको उक्त विधेयक नेपालमा दिगो शान्ति स्थापनामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले सत्य निरुपण र मेलमिलापसम्बन्धी सबै मुद्दा निरुपण गर्न सहज हुने बताउनुभएको छ ।

बिहीबार राति जेनेभामा जारी गर्नुभएको वक्तव्यमा उच्चायुक्त टर्कले पारदर्शी ढङ्गले स्वतन्त्र व्यक्तिहरू दुवै आयोगमा पदाधिकारीहरू नियुक्त हुनुपर्नेमा जोड दिनुभएको छ । शान्ति प्रक्रियालाई सफलतापूर्वक तार्किक निष्कर्षमा पुर्‍याउने उदाहरणीय मुलुकका रुपमा नेपाल क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जगत्मा स्थापित भएको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरणमा नेपाल सरकारलाई  आवश्यक सहयोग गर्न आयोग तत्पर रहेको बताउनुभएको छ ।

यस मानव अधिकार तथा शान्ति सम्बन्धीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले समेत नेपालले गरेको यो पहलको स्वागत गरेका थिए ।संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय निकायबाट समेत आएका यी सकारात्मक टिप्पणीले नेपालको शान्ति प्रक्रियालाई विश्वव्यापी रुपमा मान्य हुने गरी टुङ्ग्याउने एक सुनौलो अवसर आएको  बताइएको छ ।