• शनिबार, १९ असोज, २०८१
  • ०४:१२:०६

२ महिनाअघि राराबाट हिँडेका छिरिंग च्यांग्राका बथान खेदेर पोखरा झर्दै

पल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले बताए। मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आएका उनको साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले पुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ।

लामाले दसैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्। 'यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ,' उनले भने। लामो समयदेखि पोखरा आएर च्यांग्रा बिक्री गर्दै  आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ।

मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए। लामाभन्दा अगाडि केही व्यापारीले च्यांग्रा पोखरा पुर्‍याइसकेका छन्।

अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्यांग्राको माग बढेको उनको अनुभव छ। यही असोज २२ गतेसम्म सबै च्यांग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ।

यस वर्ष च्यांग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए। आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्यांग्रालाई रु ४२ हजारमा दिने गरेको उनी बताउँछन्।  'देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, पोहोर सालको दसैँमा ४८ देखि ५० हजार भन्थे अहिले ३८ देखि ४० हजारमा पाउनुहुन्छ

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्यांग्रा व्यापारमा वर्षौँ बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए। उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्यांग्रा ल्याउँछन्।

'दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्यांग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्यांग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ,' लामाले भने, 'राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्‍यो।'

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन्।  मुस्ताङका कर्मा लामा छिरिङका व्यवसायिक साझेदार हुन्। उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए।  

यस वर्ष च्यांग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए। आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्यांग्रालाई रु ४२ हजारमा दिने गरेको उनी बताउँछन्।  'देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, पोहोर सालको दसैँमा ४८ देखि ५० हजार भन्थे अहिले ३८ देखि ४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्यांग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ,' उनले भने।

दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्यांग्रा खरिद गरेर ल्याउने गर्छन्। यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्यांग्रा लिएर बजार पुग्न थालेका छन्। रासस