नेपालमा उच्च शिक्षा : विश्वविद्यालयको नालीबेली
- नेटिजन संवाददाता
- शनिबार, २४ कार्तिक, २०८१- १३:०३:००/ Saturday 11-09-24
काठमाडौं । विश्वविद्यालय कुनै पनि मुलुकको उच्च शिक्षाको आकार, आयाम र अवस्थाको आधार तय गर्ने विश्वसनीय र विज्ञ निकाय हो । हाल नेपालमा १८ वटा विश्वविद्यालय स्थापना भइसकेका छन् भने विश्वविद्यालयकै हैसियत प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छन् । यी विश्वविद्यालयमा करिव साढे ७ लाख विद्यार्थीहरु अध्ययनरत छन् । विश्वविद्यालय अनुदान आयोगकाअनुसार नेपालका केन्द्रीय क्याम्पस तथा आङ्गिक क्याम्पसहरूमा सबै तहका प्राध्यापकहरूको कूल सङ्ख्या १० हजार ८ सय १० छ ।
तथ्याङ्क हेर्दा सबैभन्दा धेरै प्राध्यापकहरू त्रिभुवन विश्वविद्यालयमा ७ हजार ५ सय ९२ जना रहेका छन् भने सबैभन्दा थोरै राजर्षि जनक विश्वविद्यालयमा ४५ जना रहेका छन् । नेपालमा व्यापक प्रचलनमा रहेको प्राध्यापकहरूको विभिन्न तहहरू मध्ये प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायक तथा कोर्ष करार प्रमुख हुन् । आजका विश्वविद्यालयको आधार हाम्रो विगतको लामो इतिहास हो । त्यसकारण उच्च शिक्षालाई वर्तमानमा हेर्दा इतिहासलाई पनि जोड्न आवश्यक देखिन्छ ।
शिक्षाको प्राचीन शुरुवात
शिक्षा आर्जन मानव सभ्यताको सुरुआतदेखि नै निरन्तररूपमा चल्दै आएको परम्परा हो । नेपालमा शिक्षाको विकासक्रम प्राचीन समयदेखि आर्यद्विजहरूको वर्णाश्रम नियमानुसार पाँचदेखि आठ वर्षसम्ममा उपनयन भएर गुरुकुलमा ब्रम्हचार्याश्रममा रहेर प्रायः २०–२५ वर्ष विद्याध्ययन गररे स्नातक भई गृहस्थाश्रममा प्रवेश गर्ने नियममा आधारित थियो ।
त्यो बेला साधारण शिक्षा घरमै अभिभावकहरूबाट लिने तथा स्वध्ययनमा आधारित हुन्थ्यो भने उच्च शिक्षाको ज्ञान लिने परम्परा गुरुशिष्य पद्धतिमा रहेर आफ्नो थातथलोबाट गुरुकुल वा आश्रममा गएर शिक्षा दीक्षा लिने प्रचलन थियो ।
नेपालमा मध्यकालसम्म पनि गुरुकुल परम्पराबाट शिक्षा–दीक्षा लिने परिपाटी थियो । गुरुकुल पद्धतिमा गुरु–शिष्य परम्पराको नियममा बसेर शिक्षा लिनु पर्दथ्यो भने शिक्षाको विषयवस्तुहरूमा खासगरी धार्मिक ज्ञान, जीवन र समाजका विषयहरू अध्यापन गराइन्थ्यो । नेपालका केही भूभाग जस्तै दिक्तेल, ओखलढुङ्गा, तेह्रथुम, पाँचथर इलाममा ब्राह्मण विद्वानहरूले गुरुकुल चलाएको इतिहासमा भेटिन्छ । खासगरी तत्कालिन समयमा संस्कृत शिक्षाबाहेक बौद्ध विहारका गुरुकुल समेत निकै प्रचलित रहेको पाइन्छ ।
समयक्रमसँगै आधुनिक कालमा राजा–रजौटा, दरबारिया तथा कुलीन वर्गको सहजताका लागि राजगुरु, पण्डित वा धार्मिक गुरुहरूले आफु अनुकूल शिक्षा प्राप्त गर्ने उद्देश्यले दरबारभित्रै वा पायक पर्ने स्थानमा औपचारिक रूपमा शिक्षा प्रवाह गने पद्धति स्थापित गरेकोे देखिन्छ ।
आधुनिक शिक्षाको शुरुवात
शिक्षाको परम्परालाई औपचारिकता प्रदान गने सन्दर्भमा प्रधानमन्त्री जङ्गबहादुर राणाको सन् १८५० अर्थात् वि.सं. १९०६÷०७ मा भएका बेलायत भ्रमणपश्चात् वि.सं. १९१० मा स्थापना भएको दरबार हाइस्कुललाई महŒवपूर्ण कदमका रूपमा लिन सकिन्छ । यद्यपि त्यससमयमा म्याट्रिकुलेशन तहको शिक्षाका लागि नेपालले सन् १९११ सम्म भारतको प्रयाग विश्वविद्यालय र म्याट्रिकुलेशन तथा महाविद्यालय तहको आई.ए. र बी.ए. दुवै तहसम्मको शिक्षाको लागि सन् १९१७ सम्म कलकत्ता विश्वविद्यालयमा निर्भर रहनुपने अवस्था थियो ।
नेपालमा आधुनिक उच्च शिक्षाको सुरुआत सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापनापछि मात्र भएको हो । तर पाठ्यक्रम तथा परीक्षाजस्ता पक्षमा भारतकै विश्वविद्यालयमा निर्भर रहनुपर्ने बाध्यताको अन्त्य हुन सकेको थिएन ।
नेपालमा उच्च शिक्षको जग
त्रिचन्द्र क्याम्पसको स्थापनाले नेपालको आफ्नै जग भएको उच्च शिक्षा बनाउँन सकेको थिएन । पढाइ मात्र यहाँ हुन्थ्यो यसको वैधताका लागि भारतमै निर्भर हुनु परेको थियो । यो बाध्यात्मक परिस्थितिको निवारण सन् १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि मात्र भएको हो । राणाशासनको अवधिभर, सन् १८४७ दखि १९५० सम्म शिक्षाकोे विकासको लागि प्रचार प्रसार हुन सकेन भने शिक्षा प्राप्त गर्ने अवसर र सर्वसाधारण जनताका लागि शिक्षाकोे पहुँच हुन नसकेको कारणल शिक्षाकोे उन्नयनका दृष्टिकोणबाट यस समयलाई अध्यारो युग मानिन्छ ।
तत्कालिन समयमा सर्वसाधारण जनतालाई विद्यालय तथा उच्च दुवै तहको शिक्षा प्राप्त गर्न खुला भइसकेको थिएन । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापना भएपछि नेपालमा शिक्षाको आधुनिक युग सुरु भयो । वि.सं. २००७ सालको राजनैतिक परिवर्तनले नेपालको शिक्षा क्षेत्रमा समेत परिवर्तनको ढोका खोलिदियो ।
सन् १९५३ दखि नेपालमा आवधिक योजनाको सुरुआत र सन् १९५९ देखि उच्च शिक्षाको सुरुआत भएदेखि नै विभिन्न विश्वविद्यालयहरू स्थापना हुने र विस्तार हुने वातावरण तयार भयो । त्रिभुवन विश्वविद्यालय स्थापना भएको २७ वर्षपछि मात्र नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको हो । यस क्रममा सन् १९९० सम्म देशैे भरि विद्यालय तथा उच्च शिक्षाको लागि संस्थाहरू स्थापना हुनुका साथै र द्रुत विस्तार भएकाले विद्यालय तथा विश्वविद्यालय शिक्षा साधारण जनताका पहुँचमा पुग्ने अवस्था बन्यो ।
सन् १९५२ को राष्ट्रिय शिक्षा आयोगले तत्कालीन सरकारलाई विश्वविद्यालय स्थापना गर्न सिफारिस गरे बमोजिम नेपालमा पहिलो विश्वविद्यालयको रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना सन् १९५९ मा भयो । त्यसपछि उच्च शिक्षा सबै नेपालीको लागि पहुँचको क्षेत्र बन्यो । यद्यपि, त्रिभुवन विश्वविद्यालयको स्थापना तथा सञ्चालन भएको २४ वर्ष पछि सन् १९८३ मा मात्र नेपालमा बहु–विश्वविद्यालयको नीतिगत अवधारणा आयो र यो नीतिगत व्यवस्थाले अन्य विश्वविद्यालयहरू खुल्ने क्रम सुरु भएको हो ।
नयाँ विश्वविद्यालयहरू खुल्ने क्रममा क्रमशः सन् १९८६ मा महेन्द्र संस्कृत विश्वविद्यालय, सन् १९९१ मा काठमाडौँ विश्वविद्यालय, सन् १९९५ मा पूर्वाञ्चल विश्वविद्यालय र १९९६ मा पोखरा विश्वविद्याल स्थापना भई सञ्चालनमा आएका छन् ।
यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालय सन् २००५ मा स्थापना भयो भने थप तीन विश्वविद्यालयहरू, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय सन् २०१० मा स्थापना भएका हुन् ।
नेपाल खुला विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय क्रमशः सन् २०१६ र २०१७ मा स्थापना भएका हुन् ।
उल्लिखित विश्वविद्यालयहरूको अतिरिक्त प्रादेशिकस्तरमा गण्डकी विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भई उच्च शिक्षाको पठनपाठन सुरु भइसकेको छ । यसको साथै मानित विश्वविद्यालयको रूपमा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्वास्थ्यसम्बन्धी विभिन्न विधा र विषयहरूमा अध्यापन गर्दै आइरहेका छन् । प्रदेश सरकारहरू नेपालको संविधानको प्रावधानअनुसार प्रादेशिक विश्वविद्यालयको स्थापनार्थ गृहकार्य तथा नीतिगत आधार तयार गर्दै अघि बढिरहेको अवस्था छ ।
त्रिभूवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय हो । देशभरि रहेका यसका आङ्गिक, सामुदायिक र निजी क्याम्पसहरू क्रमशः ६२, ५२९ र ५५१ गरी जम्मा १ हजार १ सय ४२ वटा रहेका छन् ।
यो विश्वविद्यालयका चारवटा सङ्काय (शिक्षाशास्त्र, मानविकी तथा सामाजिक विज्ञान, कानुन, र व्यवस्थापन) र पाँचवटा अध्ययन संस्थानहरू (कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, चिकित्सा विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान) रहेका छन् ।
यससँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाज विज्ञान, विज्ञान प्रविधि, आर्थिक क्षेत्र, शिक्षा र प्रशासनका विविध पक्षहरूमा अनुसन्धान गर्नका लागि चारवटा अनुसन्धान केन्द्रहरू रहेका छन् । जसमा, व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), आर्थिक विकास तथा प्रशासन अध्ययन केन्द्र (सेडा), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) र नेपाल र एशियाली अध्ययन केन्द्र (सिनास) रहेका छन् ।
समग्रमा यो विश्वविद्यालय सन् २०१२ मा ७२३ औँ स्थानमा रहेकोमा २०२२ मा स्तर वृद्धि भएर ६६१ औँ स्थानमा पुगेको छ । यसैगरी अनुसन्धानस्तर २०१२ मा ५०१औँ रहेकोमा २०२२ मा आइपुग्दा ३८२औँ स्थानमा पुगेको छ ।
नव प्रवर्तनात्मकस्तरमा भएको उतार चढावका बिच २०१२ को ४३४ औँ स्थानबाट ४२४ औँ स्थानमा पुगेको छ । सामाजिकस्तर २०१५ को २८ औँ स्थानबाट २३९ औँ स्थानमा पुगेको देखिन्छ ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको कूल भर्नाको ७६.४ प्रतिशत भाग ओगटेको छ । हाल ६ सय ८८ प्राध्यापक, १ हजार ९ सय ९० सहप्राध्यापक, ३ हजार ८ सय ५३ उपप्राध्यापक र १ हजार ६१ सहायक प्राध्यापकले अध्यापन गर्दछन् । आङ्गिक, सामुदायिक र निजी क्याम्पसहरूसमेत गरी त्रिभुवन विश्वविद्यालयमा करिव हाल ५ लाख ८७ हजार बढि विद्यार्थीहरु अध्ययनरत छन् ।
नेपाल संस्कृत विश्वविद्यालय
दाङको वेलझुण्डीमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको मूल उद्देश्य संस्कृत शिक्षाको संरक्षण, सम्बर्धन र दर्शनको अध्ययन अध्यापन गर्नु रहेको छ । यस विश्वविद्यालयका १५ वटा आङ्गिक र चारवटा सम्बन्धन प्राप्त गरी १९ क्याम्पसहरूमार्फत आठवटा विविध विषयहरूको पढाइ भइरहेको छ भने उच्च शिक्षाको कूल भर्नाको ०.६ प्रतिशत भाग यस विश्वविद्यालयले ओगट्छ ।
विश्वविद्यालय अनुदान आयोगका अनुसार प्राध्यापक ५७ जना, सहप्राध्यापक १ सय ७१ जना, उपप्राध्यापक ३ सय ६१ जना र शिक्षण सहायक १ सय ५६ जना गरी कूल ७ सय ४५ जना प्राध्यापक रहेका छन् ।
पछिल्लो समयमा यो विश्वविद्यालयमा आयुर्वेद शिक्षा अध्यापन सुरुआत भएकोे छ । यो विश्वविद्यालयमा संस्कृत, आयुर्वेद, विज्ञान, शिक्षा, अंग्रजी, नेपाली, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, विषयहरूको समेत अध्यापन हुन्छ भने छोटा अवधिका तथा तालिममुखी कार्यक्रमहरू जस्तैः संस्कृत भाषा, विदेशीको लागि संस्कृत भाषा, कर्मकाण्ड तालिम, योग र प्राकृतिक चिकित्सामा तालिमहरू प्रदान गर्दछ ।
“योग, ध्यान, आयुवेद, प्राकृत चिकित्सा, र ज्योतिषशास्त्रलगायतका ज्ञानको स्वाभाविक चर्चा, विमर्श र प्रयोग भइरहेको परिप्रेक्ष्यमा यसलाई अझ व्यापक बनाउन” यो विश्वविद्यालय प्रयत्नशील रहेको देखिन्छ । यो विश्वविद्यालयमा ४ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
काठमाण्डौ विश्वविद्यालय
काभ्रे जिल्लाको धुलिखेलमा गैरनाफामूलक संस्थाको रूपमा स्थापित गरिएको काठमाडौँ विश्वविद्यालयले शैक्षिक गुणस्तर, पूर्वाधार विकास र भौतिक सुविधा, आवसीय प्रबन्ध, छात्रवृत्ति, उद्यमशीलता लक्षित पाठ्यक्रमहरू तयार गरी पठनपाठन गरिरहेको छ ।
यसका सातवटा स्कुल अर्थत् संकायहरू अन्तर्गत चिकित्सा शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, शिक्षा, कानुन, कला, विज्ञान प्रविधिजस्ता विषयहरू उपलब्ध छन् । यो विश्वविद्यालयमा २३ जना प्राध्यापक, १ सय २० जना सहप्राध्यापक, ८६ जना उपप्राध्यापक, २३ जना शिक्षण सहायक र २ सय ५२ जना कोर्ष करार गरी कूल ५ सय ४ जना प्राध्यापक र १८ हजार बढी विद्यार्थी अध्ययनरत छन् । नौवटा अङ्गिक, १५ वटा सम्बन्धन प्राप्त गरी जम्मा २४ वटा क्याम्पसहरू रहेको काठमाण्डौ विश्वविद्यालयले उच्च शिक्षाको कूल भर्नाको ४ प्रतिशत यसले ओगट्छ ।
पूर्वाञ्चल विश्वविद्यालय
पूर्वाञ्चल विश्वविद्यालय नेपालको पूर्वी सहर विराटनगरमा अवस्थित छ । स्थानीय व्यक्ति र स्थानीय निकायको समेत सहभागितामा पूर्वाञ्चल विश्वविद्यालयलाई क्षेत्रीय स्वरूप दिने परिकल्पनाबाट यो विश्वविद्यालय स्थापना भएको हो ।
यो विश्वविद्यालयका पाँचवटा आङ्गिक, पाँचवटा सामुदायिक र १ सय ६ वटा सम्बन्धन प्राप्त निजी क्याम्पसहरू रहेका छन् भने आङ्गिक क्याम्पस अन्तर्गत मात्र यस विश्वविद्यालयमा ११ जना सहप्राध्यापक, ३५ जना उपप्राध्यापक, २८ जना शिक्षण सहायक गरी जम्मा ७४ जना प्राध्यापक रहेका छन् ।
कूल १ सय १६ वटा क्याम्पसहरू अन्तर्गत करिब ४८ हजार जना विद्यार्थी रहेको यो विश्वविद्यालयमा ५ वटा विभिन्न शैक्षिक कार्यक्रमहरू रहेका छन् ।
विद्यार्थी सङ्ख्याको आधारमा उच्च शिक्षाको कूल ५.९ प्रतिशत भर्नाको भार थेगेको यो विश्वविद्यालयमा व्यवस्थापन, विज्ञान प्रविधि, कला, शिक्षा, कानुन, मेडिकल एण्ड अल्लाइड साइन्स र इन्जिनियरिङ सङ्कायमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन ।
पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालय क्षेत्रीय अवधारणामा स्थापना गरिएको हो । पोखरा विश्वविद्यालय अन्तर्गत आठवटा (चारवटा आङ्गिक क्याम्पस र चारवटा आङ्गिक स्कुल) गरी ५८ वटा सम्बन्धनप्राप्त क्याम्पसहरू सञ्चालनमा छन् भने मानविकी, व्यवस्थापन, विज्ञान प्रविधि, इन्जिनियरिङ र चिकित्सा शिक्षाजस्ता विधा मार्फत ४१ वटा शैक्षिक कार्यक्रमहरू उपलब्ध छन् । पोखरा विश्वविद्यालयले अध्यापन गराइरहेका शैक्षिक कार्यक्रमहरूमा सबै क्याम्पसहरूको कूल विद्यार्थी सङ्ख्या ३७ हजार बढी रहेका छन् । जुन उच्च शिक्षाको कूल भर्नाको ६.९८ प्रतिशत हो । प्राध्यापक पाँचजना, सहप्राध्यापक आठजना र उपप्राध्यापक १ सय २० जना गरी १ सय ३३ प्राध्यापकहरू विश्वविद्यालयका आङ्गिक स्कुलहरूमा अध्यापन गर्दछन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय
रूपन्देही जिल्लाको लुम्बिनीमा अवस्थित लुम्बिनी बौद्ध विश्वविद्यालय बाद्धै धर्म र दर्शनको संरक्षण, प्रचार र सम्बर्धन गर्ने हतुले स्थापना भएको हो । यो विश्वविद्यालयको दूरदृष्टि “विश्वशान्ती, सद्भाव र समृद्धिका लागि विश्वविद्यालय” भन्ने रहेको छ ।
विश्वविद्यालयको आङ्गिक क्याम्पसमा प्राध्यापक तीनजना, सहप्राध्यापक दुईजना, उपप्राध्यापक आठजना र शिक्षण सहायक १० जना गरी कूल २३ जना प्राध्यापकहरू कार्यरत रहनुका साथै १ हजार ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयले उच्च शिक्षाको कूल भर्नाको ०.१५ प्रतिशत भाग ओगटेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो मूल विषय बौद्ध दर्शनका अध्ययन अनुसन्धानसँगैे कानुन, कला र ट्रयाभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयसमेत अध्यापन गराइरहेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालय देशको लागि आवश्यक कृषि तथा वन विज्ञानसम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित पहिलो प्राविधिक विश्वविद्यालय हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका साविकका कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर र वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको हेटाँडा क्याम्पसलाई गाभेर सन् २०१० मा यो विश्वविद्यालय स्थापना गरिएको हो ।
विश्वविद्यालयमा तीनवटा सङ्काय र १० वटा आङ्गिक क्याम्पसहरू अन्तर्गत १ सय ९ जना प्राध्यापकहरु (३६ जना प्राध्यापक, सातजना सहप्राध्यापक, ५५ जना उपप्राध्यापक र ११ जना शिक्षण सहायक) कार्यरत रहेका छन् ।
यो विश्वविद्यालयका सातवटा सम्बन्धनप्राप्त क्याम्पसका समेत गरी जम्मा १७ वटा क्याम्पस अन्तर्गत ४ हजार ९ सय बढी विद्यार्थी अध्ययनरत छन् जुन विद्यार्थी सङ्ख्या उच्च शिक्षाको कूल भर्नाको ०.९५ प्रतिशत हो ।
विश्वविद्यालयमा कृषि, पशु विज्ञान, भेटेरिनरी विज्ञान, मत्स्य विज्ञान र वन विज्ञान सङ् काय अन्तर्गत जनरल फरेष्ट्री, सोइल वाटर कन्जरभेशन, वाइल्डलाइफ आदि विषयहरू अध्यापन हुने गर्दछ ।
मध्यपश्चिम विश्वविद्यालय
सुखेतको विरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयमा १८ वटा आङ्गिक क्याम्पसहरू (६ वटा केन्द्रीय क्याम्पस, एक स्कुल, १० वटा आङ्गिक क्याम्पस र एक सम्बन्धनप्राप्त कलेज) रहेका छन् ।
केन्द्रीय क्याम्पस अन्तर्गत ६ जना प्राध्यापक, १९ जना सहप्राध्यापक, २ सय ६३ जना उपप्राध्यापक र ५७ जना शिक्षण सहायक गरी कूल ३ सय ४५ जना प्राध्यापकहरू कार्यरत रहनुका साथै करिब ५ हजार जना विद्यार्थी अध्ययनरत छन् । यो विद्यार्थी सङ्ख्या उच्च शिक्षाको कूल भर्नाको २.०९ प्रतिशत हो भने ६ वटा सङ्काय अन्तर्गत ५० भन्दा बढी शैक्षिक कार्यक्रमहरू यस विश्वविद्यालयले सञ्चालन गदै आएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय
कन्चनपुरको भीमदत्तस्थित सुदूरपश्चिम विश्वविद्यालयका १५ वटा आङ्गिक क्याम्पसहरू रहेका छन् । यस विश्वविद्यालयमा १० जना प्राध्यापक, २३ जना सहप्राध्यापक, १ सय ६७ जना उपप्राध्यापक, ६५ जना शिक्षण सहायक र १ सय २५ प्रशिक्षक गरी कूल ३ सय ९० जना प्राध्यापकहरू कार्यरत रहनुका साथै १९ हजार ५ सय बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
उच्च शिक्षाको कूल भर्नाको २.१७ प्रतिशत भार यस विश्वविद्यालयले लिएको छ भने स्नातक र स्नातकोत्तर तहमा शिक्षा, मानविकी तथा समाजिक विज्ञान, विज्ञान तथा प्रविधि, कृषि, इन्जिनियरिङ, कानुन र व्यवस्थापनजस्ता विषयहरूको अध्यापन गरिरहेको छ ।
यो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको क्यामपसलाई नै रूपान्तरण गरी क्षेत्रीय अवधारणामा स्थापना गरिएको हो । यस विश्वविद्यालयको हकमा “ऐनमै त्रिभुवन विश्वविद्यालय (सँग) सम्बन्धित क्याम्पसको नाम तोकेर, तिनलाई आधार बनाएर विश्वविद्यालय स्थापना गर्ने व्यवस्था गरिएको” हो ।
नेपाल खुला विश्वविद्यालय
नेपाल खुला विश्वविद्यालय उच्च शिक्षाको अवसर खोज्ने जो सुकैलाई स्थान र दुरीको पावन्दी नरहने गरी शिक्षाको अवसर प्रदान गने लक्ष्य राखी स्थापना गरिएको हो । “खुला तथा दूर सिकाईको माध्यमबाट तुलनात्मक रूपले सर्वसुलभ रूपमा गुणस्तरीय उच्चशिक्षा प्रदान गर्ने” दूरदृष्टि यो विश्वविद्यालयले राखेको छ ।
नेपाल खुला विश्वविद्यालयमा करिव ३ हजार जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस विश्वविद्यालयमा दईजना प्राध्यापक, तीनजना सहप्राध्यापक, १२ जना उपप्राध्यापक, नाजना शिक्षण सहायक र १ सय ८६ जना कोर्ष करार गरी कूल २ सय १२ जना प्राध्यापक रहेका छन् ।
विद्यार्थी प्राध्यापक अनुपात ६ः १ रहेको छ । विश्वविद्यालयको विद्यार्थी सङ्ख्यालाई हेर्दा उच्च शिक्षाको कूल भर्नाको ०.२५ प्रतिशत भार यसले वहन गरकोे छ । यस विश्वविद्यालयले दूरशिक्षाका माध्यमबाट अध्यापन गराउने भएकाले जुनसुकै स्थानमा बसेर पनि अध्ययन र अध्यापन गराउन सकिन्छ ।
राजर्षि जनक विश्वविद्यालय
जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालय सन् २०१७ मा स्थापना भएको हो । सन् २०२० को तथ्याङ्कअनुसार यस विश्वविद्यालयमा ६ जना सहप्राध्यापक, नौजना उपप्राध्यापक, पाँचजना शिक्षण सहायक र २५ जना कोर्ष करार गरी जम्मा ४५ जना प्राध्यापक कार्यरत छन् । ६ वटा शैक्षिक कार्यक्रमहरू अध्यापन गराइरहेको यस विश्वविद्यालयमा कूल ७ सय बढी विद्यार्थी अध्ययनरत छन् जुन उच्च शिक्षाको भर्नाको ०.०४ प्रतिशत हो ।
स्नातक र स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने यस विश्वविद्यालयमा कृषि, मानविकी, आयुवेद, पूर्वीय दर्शन, शिक्षा, वन, व्यवस्थापन, मेडिकल साइन्स, पर्यटन, प्राविधिक र व्यावसायिक विधा र विज्ञान विषय अध्यापन हुन्छ ।
अन्य विश्वविद्यालय
देश संघीयतामा प्रवेश गरेपछि हाम्रो कानूनले प्रादेशिक विश्वविद्यालयको प्रावधान राखेको छ । सोही प्रावधान अनुसार प्रादेशिक विश्वविद्यालय खुल्ने क्रम पनि बढेको छ । यसै क्रममा गण्डकी विश्वविद्यालय सन् २०१९ मा प्रादेशिक अवधारणामा स्थापना भएको विश्वविद्यालय हो । गण्डकी प्रदेशले स्थापना गरी सञ्चालनमा ल्याएको यस विश्वविद्यालयले विज्ञान र प्रविधिमा नेपालको लागि मानव स्रोत क्षमता विकास गर्ने दूरदृष्टि लिएको छ । विश्वविद्यालयमा १८ जना प्राध्यापक कार्यरत छन् भने करिव २ सय जना विद्यार्थी अध्ययनरत छन् ।
बी.आई.टी., बी.एस.एम., बी.फार्म., बी.बी.ए., वि.ए.एल.एल.बी.का शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । विद्यार्थी प्राध्यापक अनुपात १० ः १ रहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालय ः विराटनगरस्थित मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेशस्तरमा स्थापना गरिएको पहिलो प्राविधिक विश्वविद्यालय हो । कोशी प्रदेशले स्थापना गरी सञ्चालनमा ल्याएको यस विश्वविद्यालयले इन्जिनियरिङ, फार्मेसी, कृषि, नार्सिङ्, वन विज्ञानलगायतका विषयहरू अध्यापन गर्ने क्रममा रहेको छ । योगमाया विश्वविद्यालय संचालनको तयारीमा रहे पनि संचालनमा आइसकेको छैन ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान
स्वायत्त शैक्षिक कार्यक्रम संचालन गर्ने ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि छन् । यस अन्तर्गत विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिव २ हजार जना विद्यार्थी अध्ययनरत छन् ।
नेपालमा विश्वविद्यालय सरहको मान्यता प्राप्त गरी जनस्वास्थ्य, चिकित्सा, नर्सिङलगायत विषयहरूको पठनपाठन स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले गर्ने गरेका छन् । यस्ता प्रतिष्ठानहरूको सञ्चालनका लागि अनुदानको प्रवाह राष्ट्रिय चिकित्सा शिक्षा आयोग मार्फत हुने गर्दछ ।
यी प्रतिष्ठानहरूको अनुगमन, सुपरिवेक्षण र नियमन गर्ने गरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगले भूमिका निर्वाह गरिरहेको छ । चिकित्सा क्षेत्रको अर्को धार आयुर्वेद चिकित्सा हो । नेपालमा यसको प्रचलन, विश्वास र उपयोग आमरूपमा बढेको पनि देखिन्छ । खासगरी दीर्घरोगीहरूले यसको उपयोगमा रुचि र विश्वास देखाउने गरेका छन् ।
राष्ट्रिय नीतिले समेत यस तथ्यलाई आत्मसात् गदै आयुर्र्वेद चिकित्सा क्षेत्रमा स्वदेशमै विशेषज्ञ जनशक्तिको उत्पादन, औषधी उत्पादन र गुणस्तर अभिवृद्धि गर्न आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने नीति लिएको देखिन्छ ।
नेपालमा आयुर्वेद चिकित्साको अध्ययन अध्यापन गने विश्वविद्यालयहरूमा मूलतः नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय रहेका छन् भन केही जिल्लामा त्यस्ता क्याम्पसहरू मार्फत सो विषयको अध्यापन हुन्छ ।
स्वास्थ्य शिक्षा प्रदान गर्ने यस्ता आयुर्वेद क्याम्पस वा संस्थाहरूले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका हुन्छन् । यद्यपि, आयुवेद चिकित्साका लागि प्रर्याप्त लगानी नभएको र उपेक्षामा पारिएको जस्ता गुनासाहरू सुन्न पाइन्छन् । हाल सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चलस्तरीय औषधालय र ३ सय ५ वटा पालिकास्तरका औषधालय संस्था स्थापना भएका छन् ।
विश्वविद्यालयमा भर्नादर र उत्तीर्ण दर
सबै विश्वविद्यालयहरूको कूल विद्यार्थीहरूको संख्या करिव साठे ७ लाख रहेको छ । यहाँ तहगत भर्नाको प्रतिशत हेर्न हो भने सबैभन्दा धेरै स्नातक तहमा ८९.२० प्रतिशत र स्नातकोत्तर तहमा १०.१२ प्रतिशत रहेको देखिन्छ ।
यसैगरी एम.फिल तहमा ०.२९ र विद्यावारिधि तहमा ०.३५ प्रतिशत तथा सबैभन्दा कम पोष्ट ग्रयाजुएट डिप्लोमा (पी.जी.डी.) तहमा ०.०५ प्रतिशत रहेको देखिन्छ ।
यसैगरी समग्र विश्वविद्यालयहरूको भर्नाको स्थितिलाई हेर्ने हो भने सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयमा कूल विद्यार्थीको ७६.४ प्रतिशत विद्यार्थी भर्ना हुन्छन् । सङ्कायगत हिसाबले हेर्ने हो भने ठुलो प्रतिशत (७७.८३) शिक्षाशास्त्र सङ्कायमा भएको देखिन्छ ।
लैङ्गिक हिसाबमा हेर्ने हो भने औसतमा ५२.९८ प्रतिशत छात्राहरूको भर्ना भएको अवस्था तथ्याङ्कले देखाउँछ भने मानित विश्वविद्यालयको रूपमा सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत अनुदान प्राप्त हुन्छ र ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्राहरूको भर्नादर ७२.६० प्रतिशत छ ।
स्नातक तहको मात्र उत्तीर्ण हुने दर हेने र्हा भने त्रिभुवन विश्वविद्यालयको २९.३ प्रतिशत छ । प्राविधिक शिक्षामात्र प्रदान गर्ने संस्था जस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उदाहरण हर्ने हो भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९७.५ प्रतिशत उत्तीर्ण दर छ । दूर शिक्षा प्रविधिमा आधारित नेपाल खुला विश्वविद्यालयको उत्तीर्ण दर ७२ प्रतिशत रहेको छ ।
विश्वविद्यालय र विद्यार्थी अनुदान
नेपालमा सञ्चालित विश्वविद्यालयहरूलाई नेपाल सरकारले आर्थिक अनुदान दिने गरेको छ । यस किसिमको आर्थिक अनुदान विश्वविद्यालय अनुदान आयोग मार्फत दिने गरिन्छ ।
विश्वविद्यालय अनुदान आयोगको स्थापना नेपालका विश्वविद्यालयहरूलाई सम्बर्धन, सहयोग, क्षमता अभिवृद्धि गरी उच्च शिक्षाको गुणस्तर उकास्ने उद्देश्यका साथ एक स्वायत्त संस्थाको रूपमा भएको हो ।
नेपालमा सबै विश्वविद्यालयहरूले अनुदान प्राप्त गर्दछन् । सबै विश्वविद्यालयहरूको आफ्नो नियमित खर्चको केही अंश छात्रवृत्ति र पूर्वाधार विकासमा आवश्यकपर्ने खर्चको रकम नेपाल सरकारबाट अनुदानमा प्राप्त गर्दछन् ।
विश्वविद्यालय शिक्षामा जाने अनुदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हुँदै विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गर्छन् । विश्वविद्यालयहरूले यसरी आर्थिक वर्ष २०७६÷७७ मा प्राप्त गरकोे अनुदान रकमलाई हेर्ने हा भने त्रिभुवन विश्वविद्यालयले प्राप्त गरेको रकम ९ अर्ब २४ करोड रहेको छ ।
अनुदानको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै देशको ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलाई जान्छ । यद्यपि यो रकम प्रति विद्यार्थी ७४ हजार ९ सय ४८ रुपैयाँ हो ।
यसैगरी, प्रति विद्यार्थी कम अनुदान प्राप्त गने विश्वविद्यालय काठमाडौं विश्वविद्यालय हो । यो विश्वविद्यालयको प्रति विद्यार्थी अनुदान रकम मात्र १५ हजार ७ सय ५५ रुपैयाँ छ । भर्खरै स्थापना भएको राजर्षि जनक विश्वविद्यालयको प्रति विद्यार्थी अनुदान रकम सबैभन्दा धेरै ६ लाख ४५ हजार १ सय ६१ रुपैयाँ पर्न आउँछ । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुदान रकम ४ लाख २४ हजार २ सय ४२ रूपयाँ छ जुन अन्य विश्वविद्यालयसँग तुलना गर्दा राम्रो अनुदान हो ।
नेपाल संस्कृत विश्वविद्यालयले पाउने अनुदान रकमबाट प्रति विद्यार्थी अनुदान रकम हिसाब गर्दा १ लाख ८६ हजार ७ सय १६ रुपैयाँ हुनआउँछ । विद्यार्थी सङ्ख्या थोरै भए तापनि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले प्राप्त गने छात्रवृत्ति उल्लेखनिय देखिन्छ ।
विश्वविद्यालयहरुको प्रदेशगत अवस्था
नेपालको सङ्घीय संरचनाअनुरूप प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्न नीतिगत प्रावधानबाट सहज भई धेरै विश्वविद्यालयहरू खुल्ने अवस्था सिर्जना भएको छ ।
२०७८ सालसम्म नेपालमा सञ्चालन भएका विश्वविद्यालयको सङ्ख्या १८ पुगिसकेको छ । स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रतिष्ठानहरूको सङ्ख्या ७ पुगेको छ भने अन्य केही सञ्चालनको सङ्घारमा रहेका छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाको कार्य अगाडि बढी सकेको छ ।
नेपालमा सातवटै प्रदेशहरूका शिक्षाको वर्तमान अवस्थालाई दृष्टिगत गर्दा शिक्षाको गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको पर्याप्तता, लगानीको दिगो स्रोत, प्राविधिक शिक्षा, पेसागत तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने शक्षिक कार्यक्रमहरूकोै कमीजस्ता विषयहरू निकै पेचिला र गहकिला बनेका छन् ।
विश्वविद्यालय तथा क्याम्पसहरूको प्रादेशिक वितरणको अवस्थालाई हेर्ने हो भने सबैभन्दा धेरै क्याम्पसहरूको सङ्ख्या बागमती प्रदेशमा छ । नीति अनुसन्धान प्रतिष्ठानले सनु २०२२ मा गरेको अध्ययन अनुसार बागमती पूदेशमा ६ सय २४ क्याम्पस रहेको छ भने विद्यार्थीहरूको सङ्ख्या २ लाख ३० हजारभन्दा बढी छ । कोशी प्रदेशका १ सय ९७ वटा क्याम्पसहरूमा ५५ हजार ७ सयभन्दा बढी विद्यार्थीहरू छन् ।
दोस्रो ठुलो विद्यार्थी सङ्ख्या लुम्बिनी प्रदेशमा रहेको छ । यहाँ ५६ हजार ६ सय ८१ विद्यार्थी छन् । गण्डकी प्रदेशमा १ सय ५१ वटा क्याम्पस अन्तर्गत ४० हजारभन्दा बढी विद्यार्थी रहेका छन् । मधेश प्रदेशमा १ सय २३ वटा क्याम्पसहरूमा ३४ हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा ९५ वटा क्याम्पसहरूमा ३१ हजारभन्दा बढी विद्यार्थी रहेका छन् । त्यसैगरी सबैभन्दा कम ६२ वटा क्याम्पसहरू रहेको र थोरै विद्यार्थी १८ हजार ३ सय ७८ रहेको प्रदेश कर्णाली हो । प्रदेशहरूको जनसाङ्ख्यिक अनुपातमा क्याम्पसहरूको विवरण हेर्दा मधेश प्रदेशमा एउटा क्याम्पसले सबैभन्दा धेरै जनसङ्ख्या (४३ हजार ९ सय ३६) लाई शिक्षण सेवा दिनुपरेको देखिन्छ । यहाँ क्याम्पस तथा विश्वविद्यालयको उपलब्धता कम भएको तर जनसङ्ख्या (५४ लाख ३४ हजार ९ सय ४३) भने धेरै रहेको छ ।
प्रदेशगत प्रति क्याम्पस जनसङ्ख्या र त्यसको औसत निकाल्दा सातवटै प्रदेशको प्रति क्याम्पस जनसङ्ख्याको औसत २४ हजार ३६ जना पर्दछ । यस आधारमा हरेक क्याम्पसको आधारभूत जनसङ्ख्या कति छ वा एउटा क्याम्पसलाई कति जनसङ्ख्या आवश्यक हुनु पर्दछ भन्ने विषयमा स्पष्ट हुन सकिन्छ ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा संचालित कलेज
नेपालमा विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाहरूको सम्बन्धन लिएर कलेजहरू तथा शिक्षण संस्थाहरू सञ्चालन गर्ने नीति रहेको छ । यसरी विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा स्नातक तह वा सोभन्दा माथिल्लो तहको शिक्षण संस्था सञ्चालन गने कार्यलाई व्यवस्थित र नियमन गर्न नेपाल सरकारले यससम्बन्धी निर्देशिका बनाई लागु गरिसकेको छ ।
नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालन भएका कलेज तथा संस्थाको सङ्ख्या ८३ वटा रहेका छन् भने त्यसमध्ये उच्च शिक्षासँग सम्बद्ध शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाहरूको सङ्ख्या ६० मात्र रहेका छन् ।
“ए” लेबलदेखि स्नातक र स्नातकोत्तर तहसम्मको पढाइ सञ्चालन गर्ने कलेजहरू पनि सञ्चालनमा छन् । यस्ता कार्यक्रमहरूको प्रभाव तथा आकर्षण विद्यार्थीमाझ बढ्दो छ । यसको कारण शैक्षिक कार्यक्रमका लागि सम्बन्धन दिने विश्वविद्यालयहरू गुणस्तरका दृष्टिकोणले कहलिएका छन् भने यी कलेजहरूले पठनपाठन गराउने धेरैजसो विषयहरू उद्यमशीलता र गरीखाने शिक्षामा आधारित हुनु र उत्पादित जनशक्तिका माग श्रम बजारमा हुनु आदि रहेका छन् । यस्ता सम्बन्धनप्राप्त कलेजहरू विश्वविद्यालय अनुदान आयोग अन्तर्गत नभई मन्त्रालयबाट सञ्चालन तथा नियमन गर्ने व्यवस्था छ ।
नीति अनुसन्धान प्रतिष्ठानले २०७९ सालमा गरेको नेपालका विश्वविद्यालयहरुको अवस्था र प्रादेशिक विश्वविद्यालयका आयामहरु नामक अध्ययनमा आधारित ।