• आइतबार, २३ मङ्सिर, २०८१
  • ०९:२८:२९

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

काठमाडौं । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आम्दानी गर्दै आउनुभएको छ। विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएको उहाँले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ।


उहाँ भन्नुहुन्छ, 'बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरूमा बिक्री हुने गरेको छ । यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर, अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।

थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो । विष्टले १० जनालाई रोजगारी पनि दिनुभएको छ ।

एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजारमा बिक्री गरेपछि व्यावसायिक रूपमा काम थालेका उहाँले चार हजारदेखि पाँच लाखसम्मका थाङ्का बिक्री गर्दै आउनुभएको छ । रासस ।