विश्वमा बढेको शेयर बजार र नेपालको शेयर बजार
- रिसव गौतम
- शनिबार, १५ मङ्सिर, २०८१- ०८:२२:००/ Saturday 11-30-24
काठमाडौं । हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रुपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ । अक्सर एकचोटि हारेपछि पुनः नदोहो¥याउने एक सय ३० वर्षे अमेरिकी इतिहासलाई तोड्दै गर्दै डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि विजयी हुँदै गर्दा अमेरिकी शेयर बजारमा उछाल आयो । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरोदयसँगै अमेरिकाको मात्र होइन, युरोप र एसियाका पनि कतिपय देशको शेयर बजारमा समेत सकारात्मक प्रभाव परेका समाचारहरु अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा छाए । त्यतिमात्र होइन, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलर र विट क्वाइनले नयाँ रेकर्ड कायम गरेको छ ।
विश्वमा प्रजातान्त्रिक पुँजीवादको उच्चतम अभ्यास गरिरहेको अमेरिकामा अर्बपति व्यक्तित्व ट्रम्पको पुनरोदयले संसारभर कस्तो प्रभाव रहला भनेर अहिले सर्वव्यापी बहस भइरहेका छ । अमेरिकामा ट्रम्पको उदयले नेपाललाई कस्तो प्रभाव पार्ला भनेर नेपालमा पनि सानोतिनो बहस भइरहेको छ । वास्तवमा अमेरिकी पुँजीवाद र खुल्ला समाज बुझ्न ट्रम्पको व्यक्तित्व, चरित्र र स्वभाव बुझे पुग्छ । व्यक्तित्व नै पुँजीवादी दर्सिने नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई शेयर बजारले भव्य स्वागत गरेको देखिन्छ । राजनीति र शेयर बजारको सम्बन्ध दर्साउन हालैको अमेरिकी चुनाव र त्यसको परिणाम एउटा दरिलो उदाहरण हुनसक्छ ।
राजनीतिले जहिल्यै शेयर बजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य शेयर बजारमा व्यावसायिक हिसाबले लाग्नेहरुलाई मात्र होइन, अब त नेपालमै पनि सामान्य लगानीकर्ताहरुलाई समेत थाहा भइसकेको छ । खासगरी राजनीतिका कारण आर्थिक र व्यापारिक वातावरणलाई प्रभाव पार्ने सबैजसो समाचारहरु शेयर बजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । यसले अप्रत्यक्ष रुपमा बजारमा प्रभाव राख्दछ । जस्तो कि अघिल्लो महिना खुलेको शेयर बजारले क्रमशः हरियो यात्रा तय गर्दै थियो । लगत्तै राजनीतिमा पछिल्ला वर्षहरुमा एकाएक उदाएका रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने सहकारी ठगी आरोपको अनुसन्धानको लागि प्रहरीद्वारा समातिएपछि रास्वपाका नेता कार्यक्रर्ता, समर्थकहरुले त्यसको विरोधमा सडकमा नाराबाजी गरे । फलस्वरुप दुई दिनमै शेयर बजार ६० अङ्क हाराहारी घट्यो । यसरी दसैँ बिदापछि खुलेको शेयर बजार घट्नुपर्ने अन्य कारण नभएको विश्लेषकहरु बताउँछन् ।
राजनीतिमा आउने सामान्य तरङ्गले पनि बजार घट्ने–बढ्ने गरेको देखिन्छ । शेयर बजारका लागि लचिलो मानिएका र शेयर बजारमैत्री भनेर चिनिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णु पौडेललाई बजारले जहिल्यै स्वागत गरिरहेको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेको संयुक्त सरकारले आफ्नो सय दिने कार्य प्रगति सार्वजनिक गरिसकेको छ । उसले आफनो प्रगति विवरणमा लामो समय गिरेको शेयर बजार लयमा फर्किएको बताएको छ ।
खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता पार्टीहरु पुराना, उदार अर्थतन्त्रको पक्षपोषक भएकाले बजारले उनीहरुलाई विश्वास गरेको देखिन्छ । नेकपा (माओवादी) लगायत पार्टीहरु पनि पछिल्लो समय शेयर बजारप्रति लचक नै देखिन्छन् । उनीहरुले पनि शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेर्न थालेका छन् । बजार बढाउने प्रयास उनीहरुको नेतृत्वमा पनि भएका हुन् । यसरी साना ठूला राजनीतिक घटनाक्रम र नियुक्तिहरुले पनि शेयर बजारलाई सकारात्मक तथा नकारात्मक असर गरिरहेका हुन्छन् । लगानीकर्ताहरुको मनोभावना नै त्यस्ता घटनाक्रमबाट तीव्र चञ्चल हुन्छ । यस्तो अवस्था नेपालमा मात्र नभएर विश्वभर नै भइरहेको पाइन्छ ।
छिमेकी भारतमा पनि आर्थिक विकास र वित्तीय स्थिरताका लागि विश्वासी ठानिएका नरेन्द्र मोदी प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु भएसँगै त्यहाँको शेयर बजार उकालो लागिरहेको छ । भारतीय शेयर बजारले अहिले नयाँनयाँ ‘रेकर्ड ब्रेक’ गरिरहेको छ । गत २३ अक्टोबर २०२४ भारतीय शेयर कोरोबार सेन्सेक्स ८० हजार ८१ विन्दुमा पुगिसकेको छ । जबकि मोदीको तेस्रो कार्यकाल सुरु हुनुअघिको चुनावी प्रचारप्रसारको क्रममा विभिन्न हल्लाका कारण शेयर बजार ‘सेन्सेक्स’ ह्वात्तै घटेको थियो । यसरी संसारभर नै राजनीतिक उतारचढावले शेयर बजारलाई धेरै हदसम्म असर गर्दै आएको छ । तर त्यस्तो असरको आयु भने छोटो पनि हुने हुन्छ ।
मूल कुरा व्यावसायिक वातावरण र कम्पनीहरुले गर्ने आर्थिक अनुशासन, प्रगति, उन्नति नै बजार बढ्ने आधार हुन् । तर एकाथरी ठूला र कुटिल लगानीकर्ताहरु यस्तै राजनीतिक समस्याहरुलाई लिएर कोकोहोलो मच्चाउन तल्लीन हुन्छन् । मिडियाहरु समेत प्रयोग गरेर अनर्गल हल्ला गर्छन् र बजार घटाउने वा बढाउने गरेर आफ्नो स्वार्थ पूरा गर्छन् । राजनीतिको आडमा बजार घटाएर किन्छन् भने फेरि राजनीतिक घट्नाक्रमकै आडमा बजार बढाएर आफ्ना शेयरहरु बेच्छन् । त्यस्तोमा सोझा लगानीकर्ताहरु पछि पर्छन् । त्यसतर्फ शेयर बजारका लगानीकर्ताहरु सजग हुनुपर्छ ।
राजनीतिक अस्थिरता शेयर बजारका लागि घातक हुन्छ । तर पनि शेयर बजारका लागि राजनीतिक घटनाक्रमले बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । नयाँ आउने लगानीकर्ताहरुलाई हतोत्साही बनाउँछ । बजारप्रति नकारात्मक मनोवृत्ति सिर्जना गर्दछ ।शेयर बजारलाई दीर्घकालमा प्रभावित तुल्याउने भनेको आर्थिक तत्वहरु, व्यावसायिक वातावरण, आर्थिक नीतिहरु, आर्थिक ऐनहरुले हो । ती कुराहरु पनि राजनीतिसँग नै जोडिएका छन् । त्यसकारण पनि राजनीति र शेयर बजारको सम्बन्ध अधिकतम हुन्छ । तर त्यो जटिलसमेत हुने गर्दछ । राजनीति सही दिशामा हिँड्दा शेयर बजारमा पनि त्यसको सकारात्मक प्रभाव पर्दछ । शेयर बजारमा मात्र होइन, राजनीतिक सही बाटोमा हिँडे देशका सबै क्षेत्र प्रगतिपथमा हिँड्नेछ । त्यो इतिहासको घटनाक्रम, विश्व घटनाक्रमले देखाएकै छ । (आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ) रासस