• बिहीबार, ११ पौष, २०८१
  • ०४:१८:२६

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगरको खेल आज

 


काठमाडौं। राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेलहरू सम्पन्न हुनेछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुने यो खेल दुवै टिमका लागि प्रतियोगिताको तेस्रो खेल हो। एनपीएलमा लुम्बिनीले अहिलेसम्म खेलेका दुईवटै खेलमा पराजय बेहोरेको छ।

लुम्बिनीले आफ्नो पहिलो खेल विराटनगर किङ्ग्ससँग दुई विकेटले गुमाएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग हार भोगेको थियो। यता, सुदूरपश्चिम रोयल्सले भने खेलेका दुवै खेलमा जित हासिल गरेको छ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।

यस्तै, आजको दोस्रो खेल दिउँसो सवा १ बजे सुरू हुनेछ, जसमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।

कर्णाली याक्सले प्रतियोगितामा अहिलेसम्म तीन खेल खेलिसकेको छ। जसमध्ये दुईवटा खेलमा पराजय व्यहोर्दा एउटा खेलमा जित हात पारेको छ।

विराटनगर किङ्ग्सले पनि तीन खेल खेलेको छ। तीमध्ये दुई खेलमा हार बेहोरेको र एक खेलमा जित दर्ता गरेको छ।