• शुक्रबार, ५ पौष, २०८१
  • ०९:५९:४४

जयपुर-अजमेर राजमार्गमा ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, ८ को मृत्यु

भारतको राजस्थानस्थित जयपुर-अजमेर राजमार्गमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। ग्यासले भरिएको ट्याङ्कर ट्रकसँग ठोक्किँदा भएको विष्फोटले ३० भन्दा बढी गाडीलाई आगोले चपेटामा लिएको हो। यो घटनामा ८ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।


भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ५० प्रतिशतको अवस्था गम्भीर रहेको छ, जसका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

विष्फोटपछि राजमार्गमा खैलाबैला मच्चिएको थियो। आगो निभाउन तीन दर्जन एम्बुलेन्स र दमकलको प्रयोग गरिएको थियो। घटनापछि जयपुर-अजमेर राजमार्गलाई अस्थायी रूपमा बन्द गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार ग्यास ट्याङ्करको ट्रकसँग ठोक्किएपछि विष्फोट भएको हो। विष्फोटपछि ग्यासका कारण आगो तीव्र रूपमा फैलिएको थियो, जसले वरपर रहेका गाडीहरूलाई समेत आगोको चपेटामा पारेको थियो।

अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ भने घाइतेलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। स्थानीय प्रशासनले आगलागीको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ।