दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी
- नेटिजन संवाददाता
- मंगलबार, १६ पौष, २०८१- ११:५१:००/ Tuesday 12-31-24
काठमाडौं । डिसेम्बर महिनाको सुरुमा महाभियोग लगाइ निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
उहाँले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गर्नुभएको थिए। सोही आरोपमा उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उहाँमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। उहाँलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उहाँले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
अनुसन्धानकर्ताहरूले आइतवार राति यउललाई विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा पक्राउ गर्न पुर्जी जारी गर्नुपर्ने माग गरेका थिए। उहाँका वकिलले भने उक्त कार्यलाई "अवैधानिक" कार्य भन्नुभएको छ।
यउन र उहाँपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसदद्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ। यदि उहाँ पक्राउ पर्नुभयो भने पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बन्नुहुनेछ।