• आइतबार, २१ पौष, २०८१
  • ०३:१०:५३

खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै गाउँपालिका

काठमाडौं। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले घाँसपात र झाडीलाई उपयोग गर्दै जैविक मल उत्पादन गरेको छ । वनमा खेर गएको पातपतिङ्गरको प्रयोगबाट उत्पादित मलले रासायनिक मललाई विस्थापित गर्नुका साथै रोजगारीको र्सिजना र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिईएको छ ।


विनयी त्रिवेणी गाउँपालिकाले विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरी वनमा खेर गएको स्याउलाहरुको प्रयोग वाट जैविक मल उत्पादन सुरु गरेको छ ।

वन डढेलो नियन्त्रणसँगै रोजगारीको सिर्जना र रासायनीक मलको विकल्पका रुपमा बनमा खेर गएको पातपतिङ्गर वाट जैविक मल उत्पादन गरी विक्री सुरु गरिएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

विनयी सामुदायिक वन उपभोक्ता समूहसंगको सहकार्यमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी विक्री सुरु भएको छ । केही वर्ष अघि सम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत वर्ष देखि गाउँपालिकाले स्वामित्व लिँदै मल उत्पादनलाई अगाडि बढाइएको हो ।

वन जङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँसपात जम्मा गरी छोपेर कुहाउने गरिन्छ । विभिन्न विधि र प्रक्रियाबाट जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र वातावरणमैत्री रहेको जनाईएको छ ।

विनयी सामुदायिक वनका ८० जना उपभोक्ताहरूले जैविक मलका लागि आवश्यक स्याउला तथा वनमारा सङ्कलन गर्ने कार्य गरिरहेका छन् ।

उद्योगबाट उत्पादन भएको मल गाउँपालिका भित्र प्रति केजी २० र बाहिर प्रतिकेजी २५ रुपैयाँका दरले विक्री सुरु गरिएको छ । गाउँपालिका भित्र रहेका ४१ वटा सामुदायिक वन, २ वटा धार्मिक र २ वटा मध्यवर्ती वन गरी ४५ वटै वनलाई गाउँपालिकाले जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने योजना बनाएको छ ।रासस   ।