• बुधबार, २४ पौष, २०८१
  • ०२:५९:२३

स्मार्टफोन ह्याङ भएर हैरान हुनुहुन्छ? यी उपाय अपनाउनुहोस्

काठमाडौं। अहिलेको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न साथी बनिसकेको छ। दैनिक जीवनका अधिकांश कार्यहरू मोबाइलको माध्यमबाट गर्न सहज भएकाले यसको प्रयोग ह्वात्तै बढेको छ। तर, प्रायः प्रयोगकर्ताले मोबाइल ह्याङ हुने समस्याले हैरान हुने गरेका छन्।


यदि तपाईंको स्मार्टफोन पनि काम गरिरहँदा बारम्बार ह्याङ हुन्छ भने चिन्ता नगर्नुहोस्। आज हामी तपाईंलाई केही उपयोगी उपायहरू बताउँदैछौं, जसले तपाईंको स्मार्टफोन ह्याङ हुने समस्या कम गर्न सहयोग पुग्नेछ।

१. अनावश्यक एप्स हटाउनुहोस्
स्मार्टफोनलाई सहज बनाउनका लागि सकेसम्म कम एप्स राख्नुहोस्। अनावश्यक एप्सले फोनको मेमोरी र प्रोसेसरमा अत्यधिक लोड पुर्‍याउँछ, जसले गर्दा फोन सुस्त र कहिलेकाहीँ ह्याङ हुन सक्छ। त्यसैले, केवल आवश्यक एपहरू मात्र राख्ने बानी बसाल्नुहोस्।

२. एप्सको अटो अपडेट बन्द गर्नुहोस्
फोनमा एप्सको अटोम्याटिक अपडेटले पनि ह्याङ समस्या निम्त्याउन सक्छ। यसलाई बन्द गर्नका लागि तल दिइएका चरणहरू अपनाउनुहोस् :

गूगल प्ले स्टोर खोल्नुहोस्। दायाँतिरको तीन थोप्ला भएको बटनमा थिचेर सेटिङ खोल्नुहोस्। त्यसपछि अटो अपडेट एप्स अप्सनमा जानुहोस्। यहाँ तीनवटा अप्सन देखिनुहुन्छ, त्यसमा Do Not Auto Update अप्सन चयन गर्नुहोस्।
यसो गर्दा एप्स स्वतः अपडेट हुने छैनन् र आवश्यक परेको बेला मात्रै आफैंले अपडेट गर्नुपर्ने हुन्छ। यसले फोनमा अनावश्यक अपडेटले हुने लोडलाई घटाउने भएकाले ह्याङ समस्या केही हदसम्म समाधान हुन्छ।

३. डेभलपर अप्सन प्रयोग गरेर एनिमेसन अफ गर्नुहोस्
डेभलपर अप्सनको सही प्रयोगले पनि स्मार्टफोनको प्रदर्शनमा सुधार ल्याउन सकिन्छ। यसका लागि तलका चरणहरू पालना गर्नुहोस् :

मोबाइलको सेटिङ मा जानुहोस् र त्यहाँ रहेको About Phone मा क्लिक गर्नुहोस्। Build Number मा लगातार ६–७ पटक थिच्नुहोस्। यसो गर्दा डेभलपर अप्सन अन हुन्छ। अब डेभलपर अप्सन मा प्रवेश गरेर Window Animation Scale, Transition Animation Scale, र Animator Duration Scale का सबै सेटिङहरू Off मा राख्नुहोस्। यसले गर्दा फोनको प्रदर्शन छिटो हुन्छ र ह्याङ हुने समस्या घट्छ।

स्मार्टफोन ह्याङ हुने समस्याबाट पूर्ण रूपमा मुक्त हुन यस्ता साना तर प्रभावकारी उपायहरू नियमित रूपमा अपनाउनु आवश्यक छ। अनावश्यक एप्स हटाउने, समय–समयमा फोन रिबुट गर्ने, र क्यास मेमोरी सफा राख्ने बानीले तपाईंको स्मार्टफोनलाई छरितो बनाउँछ।

यी टिप्स अपनाएर आफ्नो फोनलाई ह्याङ हुनबाट जोगाउनुहोस् र झन्झटरहित स्मार्टफोन अनुभव लिनुहोस्।