गाउँको विद्यालय तर्फ तानिदै शहरका विद्यार्थी
- नेटिजन संवाददाता
- बिहीबार, २५ पौष, २०८१- १६:३१:००/ Thursday 01-09-25
बागलुङ। बसाइँसराइका कारण बागलुङका ग्रामीण बस्ती दिनानुदिन खाली हुँदै गएका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायतका सुविधा खोज्दै शहर झर्ने लहर अझै रोकिएको छैन। स्थानीय सरकारको असफलताले गाउँको जनसङ्ख्या घट्दै गएको अवस्थामा, बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालय भने यो प्रवृत्तिबाट अछुतो छ। यस विद्यालयमा त शहरबाट विद्यार्थी आकर्षित भई अध्ययन गर्न आउने क्रम बढ्दो छ।
पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक रहेको यस विद्यालयमा निजी विद्यालय छोडेर आउने विद्यार्थीहरूको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेको छ। हाल विद्यालयमा झण्डै ७१५ विद्यार्थी अध्ययनरत छन्। यसमध्ये धेरैजसो कुश्मा बजारलगायत पोखरा, बागलुङका जैमिनी नगरपालिका र अन्य ग्रामीण क्षेत्रबाट आएका छन्। विद्यालयले अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेपछि तीन वर्षको अवधिमा झण्डै ३०० विद्यार्थी निजी विद्यालय छोडेर यहाँ भर्ना भएका छन्। यस्तै, आवासीय सुविधाको व्यवस्थापनले पनि विद्यार्थी आकर्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।
गणेश माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिएको छ। नेपाल सरकारको नमुना विद्यालयमा छनोट भई, ७ करोड ५० लाख रुपैयाँको बजेटले भौतिक संरचना र शैक्षिक स्तर उकास्ने कार्य जारी छ। कक्षा ११ र १२ को शिक्षण बिहान चलाइन्छ भने अन्य कक्षामा 'सेक्सन' विभाजन गरेर पठनपाठन सहज बनाइएको छ। ५० जना शिक्षक-कर्मचारीको टोलीले विद्यालयमा विद्यार्थीमैत्री शिक्षण पद्धतिलाई आत्मसात् गरिरहेको छ।
कुश्माबाट झोलुङ्गे पुल तरेर आउने कक्षा ८ का छात्र अंकित खत्री भन्छन्, "यहाँको पढाइ निजी विद्यालयभन्दा राम्रो छ। दूरीका कारण अलि असजिलो भए पनि शिक्षाको स्तरले सबै असुविधा बिर्साउँछ।" विद्यालयको वातावरण र व्यवस्थापनलाई अभिभावकहरूले पनि सराहना गरेका छन्। यसै कारण बालबालिकालाई गाउँकै विद्यालयमा पढाउन अभिभावकले शहर छोड्ने निर्णय गरेका छन्।
विद्यालयमा पुस्तकालय र कक्षा कोठाको अभावका बाबजुद शिक्षाको स्तर उकास्ने प्रयास निरन्तर जारी छ। विज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा, र सिर्जनात्मक कक्षाहरूले विद्यार्थीलाई उत्कृष्ट बनाउँदै लगेका छन्। गाउँले विद्यालयले निजी विद्यालयको मोडलभन्दा उत्कृष्ट पठनपाठन गरी उदाहरण प्रस्तुत गरेको छ। गणेश माध्यमिक विद्यालयले शहरका विद्यार्थीहरूलाई गाउँतिर फर्काउन सफल भई ग्रामीण शिक्षाको नयाँ अध्याय सुरु गरेको छ। गाउँको शिक्षा प्रणालीलाई पुनर्जीवित गर्न यस्तो नमुना विद्यालयले अरू स्थानहरूमा पनि प्रेरणा प्रदान गर्नेछ।
रासस।