पुरिन थाल्यो ‘हिमालयन साल्ट’
-
नेटिजन संवाददाता
- मंगलबार, २६ चैत, २०८१- १६:५१:००/ Tuesday 04-08-25

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ तेताङकी कुनसाङ गुरूङले गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङ खोलाको किनारमा अवस्थित नुन हिउँदको समयमा लिएर प्रयोग गर्नुहुन्छ ।
फागुन, चैत, वैशाख, जेठ महिनामा कुनसाङ जस्तै स्थानीय पराष्ट्रिक लिएर पोखरीमै पुग्छन् । करिब ३३ घरधुरी रहेको तेताङ गाउँका बासिन्दाले बर्खाको समयमा बगेर जाने नुन उपभोग गर्नुका साथै पशुचौपायालाई खुवाउने गरेको कुनसाङले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘हामीले घरायसी प्रयोजनका लागि मात्रै प्रयोग गर्ने गरेका छौं ।’’ करिब तीन दशकदेखि सरकारी निकायलाई नुन खानीको सदुपयोग गर्न पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको स्थानीय महिला अगुवा समेत रहनुभएकी कुनसाङले बताउनुभयो।
वि.स २०७४ सालमा एक सरकारी टोली नुनखानी उत्खनन् क्षेत्रमै पुगेर तयार गरेको प्रतिवेदनका आधारमा वि.स.२०७७ मा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खनन्का लागि प्रस्ताव आव्हान गरे पनि भौगोलिक विकटता, उत्खननमा जनशक्तीको अभाव र लगानी समेत डुब्ने जोखिमलाई आधार मानेर प्रक्रियामै सहभागि नभएको सरकारी अधिकारीको भनाइ उद्धित गदैं वारागुङ मुक्तिक्षेत्र गापा वडा नं ३ तेताङका वडा सदस्य धर्पो गुरूङले बताउनुभयो ।
तेताङ र छुसाङ गाउँका बासिन्दाले पोखरी बनाएर नुन सङ्कलन गर्ने गरेपनि दिर्घकालिन संरक्षणका लागि गाउँपालिकाले समेत कुनै योजना बनाएको छैन । गाउँपालिका प्रवक्ता प्रमेश गुरूङ भन्नुहुन्छ, ‘‘हामीसँग धेरै बजेट नभएकाले खानीलाई उपभोग गर्न सकिएको छैन ।’’
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले खानी तथा भूगर्भ विभाग, गण्डकी प्रदेश र सङ्घीय सरकारलाई समेत नुन खानी उत्खननका अभियानलाई प्राथमिकता दिन अनुरोध गरे पनि लगानीकर्ता आर्कषित नभएको जवाफ पाएको प्रवक्ता गुरूङको भनाइ छ । उहाँका अनुसार रासायनिक परीक्षणले करिब ७१ प्रतिशतदेखि ९४ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको देखाएको थियो जसलाई गुणस्तरीय नुन मान्न सकिने प्राविधिक पक्षको भनाइ छ ।
गाउँपालिकाले नुनखानीबाट निस्कने पानी सङ्कलन गर्न पोखरी बनाए पनि बगाएको उहाँले बताउनुभयो । नर्सिङखोला क्षेत्रको करिब २ किलोमिटर क्षेत्रफलमा नुनको भण्डार रहेको अनुमान गरिएको छ। पहाडको फेदीमा नुनिलो पानी निस्कने पाँच वटा साना ठुलो मुहान छन् ।
वि.स २०७४ सालमा एक सरकारी टोली नुनखानी उत्खनन् क्षेत्रमै पुगेर तयार गरेको प्रतिवेदनका आधारमा वि.स.२०७७ मा खानी तथा भूगर्भ विभागले नुनखानी उत्खनन्का लागि प्रस्ताव आव्हान गरे पनि भौगोलिक विकटता, उत्खननमा जनशक्तीको अभाव र लगानी समेत डुब्ने जोखिमलाई आधार मानेर प्रक्रियामै सहभागि नभएको सरकारी अधिकारीको भनाइ उद्धित गदैं वारागुङ मुक्तिक्षेत्र गापा वडा नं ३ तेताङका वडा सदस्य धर्पो गुरूङले बताउनुभयो ।
करिब ५ दशक अगाडीसम्म यही नुनखानीबाट मुस्ताङका साथै म्याग्दी, बागलुङ र पर्वतमा समेत नुन बिक्री गरी घर खर्च चलाउने गरेको स्थानीय ८२ वर्षीय मिन्दो गुरूङ बताउनुहुन्छ ।
मुस्ताङ प्राकृतिक सौन्दर्यतासँगै कलात्मक पहाड, प्राचीन शैलीका घरहरूका साथै नुनखानी, मुक्तिनाथ मन्दिर क्षेत्रमा ग्यास, यूरेनियम र कोइलाको खानी भए पनि उत्खननमा सरकारी निकायबाट चासो पुग्न सकेको छैन ।
उहाँ भन्नुहुन्छ, ‘‘पहिले गाउँबाट बजार जाने नुन अहिले बजारबाट गाउँ आउँछ ।’’ मुस्ताङको नुन भन्दै खासाखोस हुने गरेपनि अहिले संरक्षणको अभावमा पोखरी नै पुरिने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । नुनिलो पानी बग्ने स्थान आसपासका क्षेत्रमा दैनिक वन्यजन्तु समेत खान आउने गर्छन् ।
सङ्घीयतापछि स्थानीय तहको गठनसँगै ‘हिमालयन साल्ट’ का रूपमा चर्चा गर्ने गरिएको छ । तत्कालिन समयमा बुढापाकाले भोटको नुन ल्याउन थाकखोला जाने गरेको अनुवभ सुनाउने गरेको अवस्थामा तल्लो मुस्ताङबाटै फर्किने पर्यटकहरू नुन खानीसम्म पुगेर अवलोकन गर्दछन् ।
मुस्ताङ प्राकृतिक सौन्दर्यतासँगै कलात्मक पहाड, प्राचीन शैलीका घरहरूका साथै नुनखानी, मुक्तिनाथ मन्दिर क्षेत्रमा ग्यास, यूरेनियम र कोइलाको खानी भए पनि उत्खननमा सरकारी निकायबाट चासो पुग्न सकेको छैन ।गोरखापत्र अनलाइनबाट ।