• शुक्रबार, २६ बैशाख, २०८२
  • ०२:००:४२

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

काठमाडौं। घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उहाँ जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुनुहुन्छ ।

 समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।”

सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उहाँले बताउनुभयो । “समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उहाँले भन्नुभयो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उहाँले बताउनुभयो ।

 जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताउनुभयो ।    

मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताउनुभयो । उहाँले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताउनुभयो । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।” राही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गर्नुभएको छ ।

मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियोे । मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उहाँले बताउनुभयो । अहिले उहाँसँग १० घार मौरी छन् । उहाँका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियो । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उहाँले बताउनुभयो ।   

गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उहाँँले बताउनुभयो । उहाँका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँ प्रगति पशुपालन महिला समूहको अध्यक्ष बन्नुभएको छ ।

समूहमा आबद्ध भएपछि उहाँले च्याउखेतीको तालिम लिनुभयो । उहाँले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गर्नुभयो ।

चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उहाँले बताउनुभयो । समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उहाँले बताउनुभयो । उहाँहरुको ३० जनाको समूह छ । उहाँका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।

घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताउनुभयो । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उहाँले भन्नुभयो । पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उहाँले आग्रह गर्नुभयो ।

मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष ४६५ जनालाई सहयोग गरेको बताउनुभयो । उहाँले दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताउनुभयो । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उहाँले जानकारी दिनुभयो । रासस।