• सोमबार, २२ बैशाख, २०८२
  • ०६:००:५४

नमुना बन्यो गौरादहको ‘सहकारी खेती’ र ‘कृषि घरबास’

काठमाडौं । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमुना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी १७ पुस २०५९ मा स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरूले सम्हाल्दै आएका छन् ।

कृषकहरूलाई आर्थिक रूपमा सबल र खेतीमा यान्त्रिकीकरण गर्ने सोचका साथ सहकारीले २०७० मा गौरादह–५ का ८१ परिवारको ८० बिघा जग्गा समेटेर कृषक सदस्यकै सहभागितामा सामूहिक खेती सुरु गरेको सहकारीकी अध्यक्ष मीना ढकालले बताउनुभयो । त्यही सामूहिक खेती अहिले ‘नमुना एकीकृत सहकारी खेती’ को रूपमा कृषि अभ्यासको नमुना बनेको छ । खेती अवलोकन गर्न आउनेहरू बढेपछि ‘कृषि घरबास’ सञ्चालनले पर्यटन प्रवर्द्धन भएको छ ।  

सहकारी खेती सुरु भएपछि कृषिमा भइरहेको नौलो अभ्यास हेर्न टाढादेखि आन्तरिक पर्यटकहरूको चहलपहल बढ्नु स्वाभाविक नै हो । गौरादह ग्रामीण क्षेत्र भएकाले यहाँ पाहुनालाई बस्ने र खाने ठाउँको अभाव थियो । गाडी लिएरै खेती अवलोकन गर्न आउनेहरूले गाउँमै बस्ने ठाउँ भए पनि हुन्थ्यो भन्न थालेपछि सदस्यहरूकै सहभागितामा पाहुना घर बनाउने सोच आएको अध्यक्ष ढकालले बताउनुभयो । 

 

सहकारी खेती’ले दुई गुणा आम्दानी

सहकारी संस्थाको १३ वटा अन्तर समूह र ३०४ वटा साना किसान समूहमा एक हजार ९५६ जना महिला सदस्य आबद्ध छन् । त्यसमध्ये ८१ परिवारको समूह सहकारी खेतीमा जोडिएको छ । सहकारी खेतीको वार्षिक कारोबार २ करोड ५० लाख रहेको नमुना सहकारी खेतीका अध्यक्ष बेदनिधि चापागाईं बताउनुभयो । वार्षिक कारोवारमध्ये एक करोड रुपैयाँ श्रमबापत सदस्य कृषकहरूले नै पाउने गरेका छन् । 

यो वर्ष एक बिघा जग्गाको शेयरबापत सदस्य कृषकले सहकारी खेतीबाट ६२ हजार ९ सय पाएको चापागाईंले जानकारी दिनुभयो । एक कट्ठाको एक शेयर हुने आधारमा एक बिघाको २० शेयर मानिने गरेको छ ।

'जग्गाको २० शेयर (एक बिघा) बापत ६२ हजार नौ सय रुपैयाँ पाउनुभयो,' उहाँले भन्नुभयो, 'मुनाफाको ४० प्रतिशत बेग्लै पाउनुहुन्छ भने खेतीमा श्रम गरेमा एक घण्टाको  ७० देखि १०० रुपैयाँसम्मका दरले ज्याला पनि पाउनुहुन्छ ।' एकलभन्दा सामूहिक खेती गर्दा बढी प्रतिफल पाइने भएकाले सहकारीका सदस्यहरू सहकारी खेतीमा रमाएको उहाँको भनाइ छ ।

खेतीबाट धान, मकै र तोरीको गुणस्तरीय बिउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित बिउ झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहासम्म बिक्री भइरहेको छ । सहकारी खेती चक्लाबन्दी खेतीको एउटा नयाँ नमुना भएको चापागाईं बताउनुभयो । 'परिवार खण्डीकरण भएर परिवारको स्वामित्वमा जग्गा थोरै हुन थालिसकेको छ,' उहाँले भन्नुभयो, 'थोरै जग्गामा आधुनिक प्रविधि र यन्त्रीकरण सम्भव हुँदैन ।

त्यसैले कसरी धेरै जग्गाको एउटै चक्ला बनाएर खेती गर्ने भन्ने विषयमा हामीले सहकारी मोडेलको सामूहिक कृषि अभ्यास गरेका हौँ । सफल प्रमाणित भइसकेको हुँदा यस अभ्यासलाई देशका अन्य भागमा पनि प्रयोगमा ल्याउन सरकारले प्रोत्साहित गर्नुपर्छ ।' 

 'पाहुना घरमा लजिङ, फुडिङ, बत्ती, पानी, शौचालय, बाथरुमको राम्रो व्यवस्था गरेका छौँ,' चापागाईंले बताउनुभयो, 'एक जना मानिस बसेपछि तन्ना, सिरानी, सिरकका खोलहरू फेर्ने गरिएको छ । सफा सुग्घर राखिएको छ । बगैँचा भएकाले फोटो खिच्न र घुम्नका लागि टाढा जानु पर्दैन ।'

 

सुविधायुक्त ‘कृषि घरबास’

सहकारी खेती सुरु भएपछि कृषिमा भइरहेको नौलो अभ्यास हेर्न टाढादेखि आन्तरिक पर्यटकहरूको चहलपहल बढ्नु स्वाभाविक नै हो । गौरादह ग्रामीण क्षेत्र भएकाले यहाँ पाहुनालाई बस्ने र खाने ठाउँको अभाव थियो । गाडी लिएरै खेती अवलोकन गर्न आउनेहरूले गाउँमै बस्ने ठाउँ भए पनि हुन्थ्यो भन्न थालेपछि सदस्यहरूकै सहभागितामा पाहुना घर बनाउने सोच आएको अध्यक्ष ढकालले बताउनुभयो । 

उहाँका अनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने योजनाअन्तर्गत मुलुकका सयवटा रमणीयस्थललाई पर्यटकीय गन्तव्य घोषणा गर्‍यो । सरकारको सय गन्तव्यमध्ये गौरादहको सहकारी खेतीलाई देशकै एउटा मात्र कृषि पर्यटन क्षेत्र भनेर पहिचान प्राप्त भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको १ करोड ६० लाखको आर्थिक सहयोगमा १२ कट्ठा जग्गामा नेपालकै पहिलो ‘कृषि घरबास’ निर्माण भयो, जसलाई सुरुमा पाहुना घर भनियो । पछि नमुना कृषि घरबास (होमस्टे) को रूपमा यसलाई दर्ता गरियो । 

‘कृषि घरबास’अन्तर्गत निर्माण भएको सुविधायुक्त पाहुना घरमा ५० जना अट्ने वातानुकूलित कोठाहरू छन् । आठवटा कोठा र ५० जना अट्ने तालिम हल छ । त्यसमध्ये दुईवटा कोठामा दुई/दुईवटा बिछ्यौना छन् भने छवटामा आठवटाका दरले बिछ्यौना राखिएको छ । बस्नका लागि प्रतिव्यक्ति २ सय शुल्क लिने गरिएको छ । पाहुना घरमा बस्नेलाई सहकारीले आफ्नै खेतीमा उत्पादन गरेका जैविक खाद्य पदार्थ खुवाउने गरिएको छ ।

पूर्व-पश्चिम राजमार्गको पाडाजुँगी चोकबाट ३० किलोमिटर दक्षिणमा चार वर्षदेखि सञ्चालनमा रहेको यो ‘कृषि घरबास’मा मासिक औसत आठवटा सवारीसाधन भाडामा लिएर पर्यटकहरू बास बस्ने गरी आउने गरेका छन् । कृषिको अध्ययन भ्रमण गर्नेहरू बर्सेनि ठूलो संख्यामा आउँछन् । एकान्त र शान्त ठाउँ भएकाले यहाँ आवासीय तालिमहरू हुने गरेका छन् ।

महिनामा औसत ५ देखि ७ दिन तालिमका कार्यक्रमहरू सञ्चालन हुने गरेको छ । सय जना पाहुनालाई बस्ने र खाने व्यवस्थापन गर्न सकिने चापागाईंले बताउनुभयो । दुई सय जनासम्म पाहुना आउँदा छेउछाउका सदस्यको घरको कोठामा बस्ने व्यवस्था मिलाउने गरिएको र त्यसको आम्दानी सदस्यले नै पाउने गरेका छन् ।

कृषि पर्यटन क्षेत्र भएकाले किसानहरूले प्रयोग गरिरहेको प्रविधिको प्रदर्शनी हेर्न, बुझ्न र अध्ययन अवलोकन गर्न कृषि समूह, सहकारी समूह र विद्यार्थी समूह आउने गरेका छन् । नार्क र गौरादह नगरपालिकाको सहकार्यमा प्रविधि हस्तान्तण कार्यक्रमसमेत यहाँ सञ्चालन भइरहेको छ । गौरादहमा पर्यटक बस्ने अरु ठाउँ छैन । 

 नेपालमा हेपिएको व्यवसायमा लिइने गरिएको कृषिलाई सामूहिक रूपमा अभ्यास गर्दा किसान अधिक रूपमा लाभान्वित हुने भएकाले गौरादहका महिलाहरूले विगत एक दशकदेखि सफल रूपमा प्रयोगमा ल्याएको यो कृषि विकासको मोडललाई अन्यत्र पनि प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ ।

 

'पाहुना घरमा लजिङ, फुडिङ, बत्ती, पानी, शौचालय, बाथरुमको राम्रो व्यवस्था गरेका छौँ,' चापागाईंले बताउनुभयो, 'एक जना मानिस बसेपछि तन्ना, सिरानी, सिरकका खोलहरू फेर्ने गरिएको छ । सफा सुग्घर राखिएको छ । बगैँचा भएकाले फोटो खिच्न र घुम्नका लागि टाढा जानु पर्दैन ।' 

‘एक घर एक रोजगार’

किसानहरूको जीवनस्तर उकास्न सामूहिक खेती र पाहुना घरसँगै रोजगारीको अवसर सिर्जना हुने गरी महिला उद्यमशीलतालाई सहकारीले प्रोत्साहित गरेको अध्यक्ष ढकालले बताउनुभयो । सहकारीका महिला सदस्यहरूले अचार, पापड, आलु चिप्स, दुग्ध परिकारलगायतका लघु खाद्य उद्योग सञ्चालनमा ल्याएका छन् । त्यसबाट ३५ परिवार स्वरोजगार भएका छन् भने २५ परिवारको हरेक घरका एक जनाले उद्योगमा रोजगारी पाएका छन् ।

नमुना सहकारी खेतीकै कारण ‘कृषि घरबास’ चलेको र लघु उद्योग सञ्चालनका कारण रोजगारी सिर्जना भएकाले यहाँका हरेक महिला आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् । नमुना खेतीअन्तर्गत माछापालन, प्याज खेती र तरकारी खेती समेत भइरहेको व्यवस्थापक अर्जुन खतिवडाले बताउनुभयो ।

नेपालमा हेपिएको व्यवसायमा लिइने गरिएको कृषिलाई सामूहिक रूपमा अभ्यास गर्दा किसान अधिक रूपमा लाभान्वित हुने भएकाले गौरादहका महिलाहरूले विगत एक दशकदेखि सफल रूपमा प्रयोगमा ल्याएको यो कृषि विकासको मोडललाई अन्यत्र पनि प्रवर्द्धन गर्न सकिने सम्भावना देखिएको छ । रासस ।