• शुक्रबार, २३ जेठ, २०८२
  • १०:५५:२८

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

काठमाडौं। ढुंगा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार। मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।  

६०० वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा भोटेकुकुरले गरिरहेको झैँ देखिन्छ। दरबार छेउमा आउनेलाई तर्साउँदै गरेको देख्दा सोही कुकुरले दरबारको रक्षा गरिरहेको हो कि भन्ने लाग्छ। १५औँ शताब्दीमा माटो ढुंगा र दाउराले बनेको यो दरबारलाई स्थानीयहरू टास्सी ध्याफेल दरबार भन्छन्। जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ।  

विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन। यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक मानिसहरूले सम्मान गर्दै आएका छन्। उनीहरू बिस्टलाई पूर्वराजा होइन राजा नै मान्ने गर्छन्।

 

तत्कालीन समयमा यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गर्नुभएको इतिहास छ। दिनभरि खुला हुने दरबार साँझ  परेपछि भने बन्द गरिन्थ्यो। यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बीच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ। त्यो समयमा पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ।

तत्कालीन समयमा राज्य सञ्चालनका लागि दरबार नजिकै मन्त्रालयहरू हुन्थे। आ–आफ्नो जिम्मेवारी बाँडफाँट गरिन्थ्यो। हाल पनि ती मन्त्रालयका भवन लोमान्थाङमा देख्न सकिन्छ। तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन थियो, त्यसताका पर्खालबाहिर घर बनाउँदा यहाँका राजालाई शत्रुको आक्रमण हुन्छ भन्ने लाग्थ्यो तर मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको छ। बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको छ। यसले दरबार एक्लिँदै गएको छ।

माटोले बनेको दरबार भएकाले कसैले यसलाई माटोको शहर पनि भन्छन्। ऐतिहासिक र पुरातात्त्विक महत्वको यो दरबार हाल संरक्षण, संवर्द्धन र प्रचारचारको पर्खाइमा छ तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै पनि प्रकारको सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ। संरक्षण र संवर्द्धनको अभावमा यसको महत्त्व घट्दै जाने पो हो कि भन्ने चिन्ता पनि थपिएको स्थानीयले बताउने गरेका छन्। 

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङका अनुसार मुलुकमा गणतन्त्र आए पनि यहाँका स्थानीय लोमान्थाङका राजपरिवारलाई उत्तिकै आदरपूर्वक सम्मान गर्छन्, त्यसैले धेरै स्थानीय दरबारमा जान पनि चाहँदैनन्। मानिसको आवतजावत कम भएपछि दरबार जीर्ण बन्ने जोखिम बढेको छ।    

विगतमा भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन। यहाँका अन्तिम राजा जिग्मीपलवर बिस्टलाई हाल पनि निकै श्रद्धापूर्वक मानिसहरूले सम्मान गर्दै आएका छन्। उनीहरू बिस्टलाई पूर्वराजा होइन राजा नै मान्ने गर्छन्।

“लोमान्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ, यो ऐतिहासिक र पुरातात्त्विक महत्वको दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकियो भने यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्ने लाग्छ, आर्थिक गतिविधि बढाउनका लागि पर्यटक ल्याउनुको विकल्प छैन,” अध्यक्ष गुरुङ  बताउनुहुन्छ।   

कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसंख्या छ। चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ। बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ। यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो।  

 

त्यसो त लोमान्थाङ कुनै समय आर्थिक गतिविधिको केन्द्र थियो। तिब्बतको पश्चिममा पर्ने यो ठाउँ भारतदेखि तिब्बतसम्मको व्यापार हुने समयमा आर्थिक केन्द्र पनि थियो। त्यही प्रभावले पनि यहाँका राजालाई शक्तिशाली मानिन्थ्यो। “सन् १३८० सम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा चिनिन्थ्यो तर जब साल्ट ट्रेड रुट बन्द भयो र तिब्बतमा सांस्कृतिक आन्दोलन शुरू भयो, त्यसपछि व्यापार सुक्दै गयो।

त्यसको असरले यहाँको आर्थिक अवस्था कमजोर भयो। धेरै वर्षपछि जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण थाले, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ,” लोमान्थाङ निवासी बुद्धिजीवी कर्मा वाङगेलले भन्नुभयो।  

उहाँ ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण लोमान्थाङमा विदेशी पर्यटक ल्याउन सके यहाँको विकास हुने बताउनुहुन्छ। विदेशी पर्यटकका लागि हाल कायम कडा नियमलाई खुकुलो बनाउन सकिए यस क्षेत्रले पर्यटनबाट ठूलो लाभ लिन सकिने वाङगेलको बुझाइ छ। उहाँका अनुसार अचेल पनि दरबार परिसरमा २१ वटा परिवार बसोबास गरिरहेका छन्। बाँकी परिवार त्यहाँबाट बसाइँ सरिसकेका छन्।

दरबार छेवैको मिस्टक होटलका सञ्चालक कर्चुङल्यामो गुरुङ पनि वाङगेलको भनाइमा सहमत छिन्। “अहिले त यहाँ आउन पनि सडकमार्गले सहज बनाएको छ। आवश्यक प्रचारप्रचार, दरबार संरक्षणका लागि बजेट विनियोजन र विदेशी पर्यटक ल्याउनका लागि सहज नीति बनाउन सकियो भने यस क्षेत्रले लाभ लिन सक्छ,” उहाँले भन्नुभयो। 

कुल पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसंख्या छ। चौतर्फी माटोको पर्खालले घेरिएको यो बस्ती सुक्खा पहाडको काखमा छ। बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ। यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हो।  

लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थ पाइन्छन्। यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ। यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्नसक्थ्यो। त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ।

 

समुन्द्री सतहदेखि तीन हजार ८८० मिटर उचाइमा रहेको लोमन्थाङ उपल्लो मुस्ताङको प्रवेशविन्दु पनि हो। यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ। गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन्। “यहाँ आउने जोकोही पर्यटक पनि एक पटक गुफा नहेरी फर्किँदैनन्,” उहाँ भन्नुहुन्छ, “एतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन।”

नीलगिरि र धौलागिरि हिमशृंखलाको बीचमा रहेको यस क्षेत्रमा यहाँका २६औँ राजा अझै पनि यही बसोबास गर्छन्। इतिहास र धर्ममा रुचि राख्नेका लागि विविध कारणले यो क्षेत्र निकै महत्त्वपूर्ण गन्तव्य भएको अध्यक्ष गुरुङको बुझाइ छ।

लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो। यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ। यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन्। भौगोलिक रूपमा लोमान्थाङ सुक्खा भूभाग भएको ठाउँ हो। यहाँबाट नीलगिरि, धौलागिरि र अन्नपूर्ण हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ।

लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थ पाइन्छन्। यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ। यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्नसक्थ्यो। त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ।धर्मेन्द्र झा/ रासस।