म कस्ती छु ?
- गीता अधिकारी
- बिहीबार, १७ चैत, २०७८- १२:४१:००/ Thursday 03-31-22
'म नराम्री छु हो ?' एकदिन प्रश्नै प्रश्नको भिडबाट एउटा प्रश्न फुत्त निकालेर मनलाई प्रश्न गरें ।
'होइन कसले भन्यो ?' मनले प्रतिप्रश्न गर्यो ।
'मैले' मैले प्रतिउत्तर दिएँ ।
'यस्तो भन्ने अधिकार तिमीलाई कसले दियो ?' मनको प्रश्नमाथिको प्रश्नले म थकित भएँ ।
प्रश्नमा उत्तर दिंदै गएँ र प्रश्नहरु पनि थुपार्दै गएँ । तर अँहँ मनले आफ्नो जिद छोडेन उसले मलाई राम्री छौ भन्न पनि छोडेन ।
खुसि हुनु कि दुखि हुनु ? मनले नै मलाई राम्री भनिसकेपछि म खुसि हुनुपर्ने हो, तर भईन । उता मेरै तारिफ गरेर मन पनि मसंगै दुखि हुन थाल्यो र आफैमाथि प्रश्नको थुप्रो लगाउन थाल्यो।
'उ खुसि थिएन, किन ?'
'सायद झुटो बोलेर होला ।' खै अचेल त म ऊसको कुरा पनि केहि नबुझ्ने भएको छु । घरि एउटा कुरा भन्छ त घरी अर्को ।
मनको विश्वास नै नलागेर म फेरी ऐनाको सहारामा गएँ । ऊसले त पक्कै मलाई झुट बोल्ने छैन, भरोसा थियो। उसको अगाडी गएर उभिएँ । उसको आँखामा आँखा मिलाएँ, 'ओहो झन्डै लभ परेको' । लाज पनि लाग्यो र मनलाई भने 'छ्या यसले मलाई कस्तो हेरिराको'।
उसको अटलपनाले मलाई रिस उठ्न थाल्यो। रिसको झोकमा उसलाई उठाएँ र भुईमा बजार्न लागे, झ्वाट्ट सोचें, 'ओहो मलाई त मेरो प्रश्नको उत्तर पो चाहिएको छ त' । फेरी जतनले उसकै ठाउँमा राखिदिएँ र उसको अगाडी रिसले ज्वाला छुटिरहेको अनुहार देखाईदिएँ । कस्तो अचम्म उसको अनुहार पनि मेरो जस्तै पो थियो । सोचें, पालाको पैचो तिर्यो होला ।
एकछिन पछि शान्त भएँ र हसिलो अनुहार लगाएर सोधें 'म नराम्री छु हो ? त्यतिबेला सम्म पनि उसको नजर मबाट हटेको थिएन। उसको हेराई हेर्दा त लाग्थ्यो म सायद संसारकै सबैभन्दा राम्री छु । यदि राम्री थिइन भने कसैले कसैलाई यति स्थिर कसरी हेर्न सक्छ । 'नजर मोड्न सक्छ, दिल तोड्न सक्छ' । उ खित्त हाँस्यो र टाउको हल्लायो । टाउको हल्लाई त सकारात्मक नै थियो तर चित्तलाई चित्त बुझेन रे कानहरु पनि आतुर भए रे उसको आवाज सुन्न मैले आग्रह गरे 'शब्दमा गरिदेउ न त मेरो वर्णन, एकफेर बोलिदिए मात्र पुग्छ' अनि बल्ल म पत्याउने छु कि म राम्री रहेछु ।
सुन्दरतामा शब्द होइन मैयाँ 'साहित्य फुर्छ' कतैबाट कोहि बोलेको जस्तो लाग्यो, मनले फ्लिर्ट गरिरहेको रहेछ। कस्तो खाले लजिक हो भाई यस्तो, मैले पनि ठट्यौलीमा जवाफ फर्काई दिए। मनसँग जिस्किंदै गर्दा म यति खुसि भएको रहेछु कि मेरो हँसिलो अनुहार देखेर ऐनाले पनि भयो 'वाह' ! कान खुसि भयो आँखा पनि तेजिला भए। मनको त झन् कुरै नगरम । बहुमत प्राप्त भयो भनेर उ त त्यसै खुसि ।
दिमागलाई पनि यो कुरा भनौ कि झैँ लाग्यो, यसले चाहिँ मलाई के भन्दोरहेछ, मष्तिस्कमा गएर सोधे' ''म कस्तो छु ?'
'ह्या मलाई नसोध', ल कस्तो कठोर व्यवहार गरेको यसले त ।
जे हो त्यहि भने त भैगो नि, उसको जवाफ नपाउन्जेल म त्यहीं बसिरहें ।
मन र ऐनाले जे भन्छ मेरो उत्तर त्यहि हो । बरु जाउ यो कुरा गएर तिम्रा साथीहरुलाई सोध ।
'साथी ?' साथी शब्द सुन्दा म झस्किकिएँ ।
अब कहाँ खोज्न जाउ मेरो त साथी नै छैन। उसलाई सोधें ।
'जाउ न यसो चिनेजानेका, तिम्रा आफन्त, दिदीबहिनीलाई सोध साथी नै चाहिन्छ मैले भने ?' दिमागले सल्लाह दियो ।
मान्छेबाट उत्तर पाउन चाहिं मलाई अलिकति धेरै नै समय लग्यो । जसरी मन, मष्तिस्क र ऐनाले मेरो एकैछिनमा तारिफ गरेको थियो । अरु कसैले गरेन । नजिकिएका केहिले 'मेरो सामु राम्रो बन्न मलाई राम्रो भने, केहिले दिलबाटै त केहिले त्यहि पनि भनेन । मान्छे त राम्रो मान्छे देखे जल्ने पो रहेछ । राम्रो बन्न खोज्दा खोज्दै पनि कति बेला मान्छेले नराम्रो बनाउन खोज्दो रहेछ पत्तै नपाइने। पछाडीबाट छुरा रोप्ने मानिसहरु त यहाँ कति भेटिन्छन, उनीहरुको गन्ति गर्न मुस्किल छ। अनुसन्धान गर्दै गर्दा थाहा पाएँ । स्वार्थी दुनियाँमा बाँच्नु बेकार रहेछ । त्यसै हतासिएँ, आत्तिएँ ।
मन, मष्तिस्कले सम्झायो 'अरुले नराम्रो भन्दैमा तिमी नराम्रो हुने हौ र। छोडिदेउ अरुको कुरा सुन्न। हाम्लाई तिम्रो पार्टीमा सामेल गराउ । हामी सब मिलेर तिमीलाई साथ दिने छौ । हाम्रो कुरा सुनेर उताबाट ऐना पनि मुस्कुरायो र साथ दिने बाचा गर्यो ।
मन, मष्तिस्क र ऐनाले हाम्रो चरित्रलाई छर्लंग देखाईदिन्छ । यिनीहरुको साथ छोड्नु गलत गर्नु हो । त्यसैले स्वार्थी दुनियाँको पछि लाग्नु भन्दा आफैसँग आफ्नै दुनियाँमा रमाउनु बेश हुनेछ ।