• बुधबार, ४ जेठ, २०७९
  • ०१:१०:४१

'यो २४ घण्टा कसले बनायो ?'

  • Netizen Nepal
  • आइतबार, २७ चैत, २०७८- १४:५४:००/ Sunday 04-10-22

फोहोरी राजनीति, सुकिलो कोट, सुकिलो नोट । कोट भनेको पनि इज्जत, नोट भनेको पनि इज्जत ।


पार्वती अधिकारी 
एक दिनमा २४ घन्टा हुनुको सट्टा २५ घण्टा भैदिएको भए क्या दामी हुन्थ्यो । समयलाई संविधानको धारा जसरी परिवर्तन र परिमार्जन गर्न नमिल्ने रहेछ । यो २४ घण्टा कसले बनायो ? २५ घण्टा बनाउँदा त्यसलाई के घाटा पर्थ्यो ? झोक चलेर आयो । 'गाडीको टायर निकालेर सडकमा ह्वार्वारी बाल्दिउँ कि क्या हो ?' 

'आहा ! कस्तो दामी राजनीतिक सोच पलाएको । यस्तै सोच्दै गइस् भने तँ भविष्यको नेता पक्क्का', मन पनि उस्तै छ । चाहिने कुरा भन्दैन । नचाहिने कुरामा प्यारप्यार गरेर हैरान गर्छ ।  

अर्को मनलाई लोभ पलाउँछ, 'नेता भइस भने त केहि महिनामै मालामाल । फोहोरी राजनीति, सुकिलो कोट, सुकिलो नोट । कोट भनेको पनि इज्जत, नोट भनेको पनि इज्जत । क्या काइता ।' 

एउटा मन हावामा उडिसकेछ । अर्को मनले केहि कार्यकर्ता र जनताहरु भेला गरेर भाषण दिन सुरु गरिसकेछ ।  

लौ परेन फसाद । अब झण्डा बोकेर हिंड्न मात्र बाँकी छ । त्यो काम पनि गर्न भ्याउँछ मनले । फेरि अर्को मनले दुवै मनलाई थर्काउँछ, 'तिमीहरु धेरै बकबक नगर त ।  दुवैलाई लात मारेर निकाल्नुपर्ला ।' 

'यो त कडा छ, यसले मलाई गरिखान नदिने भयो । झन् नेता बनेर आफ्नो, परिवारको, सात पुस्ताको त्यसपछि अलि अलि देशको सेवा गर्दै मेवा खाँदै बसौंला भनेको । सत्रु खोज्न टाढा जानु पर्दैन भन्थे, हो रछ ।'  टाउको खायो मनले । मनलाई टाउको खान पैसा नपर्ने । फ्रीमा पाइने चिज 'कुकुरले जुत्ता खाएजसरी' खाइदिँदा भैहाल्यो । 

फ्याट्ट आँखा खुल्यो ।  खोइ त मेरो पार्टी ? खोइ त मेरो झण्डा ? खोइ त मेरा कार्यकर्ता ? बर्बाद भयो ।  बरु सुतिरहेको भए एकछिनमा नेता भएर धमाका गर्ने रहिछु । यति राम्रो सपना ठण्डाराम भयो । फेरि उही सपना देख्ने बिचारले आँखा चिम्लिएँ । आँखा चिम्लिए जसरी कान चिम्लिन नमिल्ने । अझ आँखा चिम्लिए जसरी मन चिम्लिन नमिल्ने । आँखा र कानले सपना देख्न मानेन ।  फेरि मनले खुला आँखामै सपना बुन्न थाल्यो ।  बिचार उन्न थाल्यो । गोल होस् या नहोस्, मन भने सधैं मैदानमै हुने । फेरि मैदान खालि हुनै पाउँदैन, मनको खेला सुरु भैहाल्छ ।  

सुतेर बसे पनि उठेर बसेपनि मनले सोच्ने भनेको त यस्तै उट्पट्याङ नै हो । यो मनलाई गतिलो सोच्न कहिल्यै आएन । ताल तालका कुरा सोचेर हावामा उडिरहे पनि दिन गैहाल्छ । सोच्दै सोचेन भने पनि दिन जान्छ ।  बसिरह्यो भने पनि दिन जान्छ । 'दिन मरिकाटे गएन' भनेर हाई काडेर बस्दा पनि दिन जान्छ । सुत्दा उठ्दा, झगडा गर्दा जे गर्दा पनि दिन जान्छ । समय कतिबेला फुत्तै गैसक्छ, पत्तै हुँदैन । समय गएको पत्तो भएन भने जिन्दगि गएको पनि पत्तो हुँदैन । हामी धर्तीमा जन्मिनु भनेको कसैको घरमा पाहुना लाग्न जानुजस्तै हो।  पाहुना लाग्न जाँदा आफ्नो निश्चित समयसम्म राम्रै सेवा सत्कार हुन्छ, समय सकिएपछि पनि बसिरह्यो भने पाहुनादेखि झर्को लाग्न थाल्छ । जिन्दगिमा पनि पाहुना लाग्ने समय धेरै हुनेहरुले समय कम हुनेहरुमाथि  आफ्नो दबदबा कायम गर्न खोजिरहेका हुन्छन् ।  

जिन्दगिमा दौडधुप मात्र धेरै भयो । हल्लाखल्ला धेरै भयो । आफुले आफुलाई सोच्ने समय पनि भएन । कहिलेकाहीं त सोच्दिउँ न जस्तो लाग्छ तर सोच्नै भ्याइंदैन । बरु हाई काडेर बस्न भ्याइन्छ । सामाजिक संजालका काण्डहरु हेर्न भ्याइन्छ । अरुको बारेमा चासो र चिन्ता गर्न पनि भ्याइन्छ । यसबाट बाँकी रहेको समयमा खाने र सौचालय जाने पनि फुर्सद निकालिन्छ । तर आफ्नो बारेमा सोच्न भ्याइंदैन । 

कहिलेकाहीं यी सबै कुराबाट टाढा गएर हेरौं न । सामाजिक संजालका काण्डबाट टाढा गैदिउँ, आधुनिक विज्ञान प्रविधिले साँघुर्याएको संसार भन्दा अलि फराकिलो ठाउँमा गएर बस्दिउँ । सामाजिक जीवनबाट पनि केहि समय टाढा बसौं । त्यति टाढा बस्दा पनि हाम्रो मुख र पेट हामीसंगै हुने । मुखलाई त खासै मतलब थिएन, पेटले आन्दोलत गर्न थालेपछि मुख आफ्नो मार्ग हुँदै पेटको आवश्यकता पुरा गरिदिन बाध्य हुन्छ । फेरि पेटलाई नि शान्ति हुँदैन, पेटले त्यहि खाना बाहिर निकाल्ने ढल खोज्न थाल्छ ।  यदि त्यो ढलमा एकछिन गडबडी भयो भने हाम्रो जीवन गडबडी हुने सम्भावना हुन्छ । यो सबै कुरा पुरा गर्दा पनि आँखाले देख्ने, कानले सुन्ने, छालाले अनुभव गर्ने, अनेकले अनेक गर्छन । यिनीहरुले जे गर्छन मन त्यतै ढल्किन्छ । 

'हल्लाखल्ला बन्द है, एकैछिन मलाई शान्ति देउ', मैले मनलाई सम्झाएँ ।  उसले सम्झिएन । झन् बढी बढी सोच जन्माईदिन थाल्यो । 'चुप लाग् । हल्ला नगर भनेको होइन ?', मन चिच्यायो । 'बर्मा गए कर्म संगै' भन्ने उखान त्यसै बनेको होइन रहेछ ।  मेरो सोच, बिचार, शरीर, भोक, प्यास, म जहाँ पुगे पनि संगै जाने रहेछ ।  सिंगो मानिस एक्लो होइन रहेछ । उसको साथमा हजारौं सोचका छालहरु, अनुभवका भण्डारहरु, आवश्यकताका चाङहरु संगसंगै हुने रहेछन ।  जसले उसलाई भविष्यसम्म बाँच्ने आधार दिइरहन्छ ।  

आफ्नो बारेमा सोच्ने भनेर दुनियाँबाट भाग्दै थिएँ । पछाडी फर्किएर हेर्दा दुनियाँ मेरो साथमै थियो ।  दुनियाँभन्दा टाढा जाने ठाउँ नै रहेनछ । दुनियाँ हामीले देखेभन्दा निकै फराकिलो रहेछ ।
झल्यास्स ब्युँझिएँ, 'ए सपना पो रहेछ ।' म त दोहोर्याएर निदाएछु ।