• बुधबार, ४ जेठ, २०७९
  • १२:५६:१९

नेपाल–अमेरिका ७५ वर्ष देखिको सम्बन्ध    

  • Netizen Nepal
  • शनिबार, १७ बैशाख, २०७९- ०८:४६:००/ Saturday 04-30-22

नेटिजन सम्बाददाता 
वासिङ्टन डिसी, १७ वैशाख।   अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ । उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो ।  विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ, “हामीहरु आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ ।    
    
 नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस बखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो ।   
 गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ ।    
    
 नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीले अमेरिका र नेपालबीच पारस्परिक सम्मान र स्थिर कूटनीतिमा विगतका वर्ष व्यतित भएको टिप्पणी गर्नुहुन्छ । दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेका अवसरमा रासससँग कुरा गर्दै राजदूत डेलेसीले भन्नुभयो, “दुई देशबीच पारस्परिक सम्मानका साथ विभिन्न विषयमा सहकार्य हँुदै आएको छ ।”    
    
 विगत ७५ वर्षमा अरु देशसँग अमेरिकाको सम्बन्ध उतारचढावपूर्ण रहे पनि नेपालसँगको सम्बन्ध भने पारस्परिक सम्मान र विश्वासमा अडेको उहाँको टिप्पणी छ । डेलेसी अगाडि थप्नुहुन्छ, “अमेरिकाले सदैव नेपाललाई एक समृद्ध, प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त र नागरिकको आवाज सुनिने देशका रुपमा देख्न चाहेको छ ।”    
    
 राजदूतबाट अवकाश पाइसकेपछि नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासमा मुनाफारहित संस्थामार्फत् काम गर्दै आउनुभएका पूर्वराजदूत डेलेसीले नेपाल भूगोलमा सानो भए तापनि अमेरिकाको जस्तै विविध भाषा र संस्कृतिको धरोहर रहेको बताउनुहुन्छ ।    
    
 अमेरिकी निकायले नेपाललाई हेर्ने दृष्टिकोणमा कसैको कोण या मान्यताबाट नभई दुई देशको पारस्परिक हितबाट संवाद गर्ने अभ्यास रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ । उहाँले भन्नुभयो, “थुप्रै मानिसले यस विषयमा जिज्ञासा राखेका थिए, यसमा मेरो भनाइ यति छ, नेपाललाई अमेरिकाले कसैको आँखाबाट हेर्दैन ।” नेपाल र अमेरिकाको सम्बन्ध विगतमा मलेरिया उन्मूलनदेखि सुरु भएर अहिले विकास निर्माणमा नेतृत्वदायी भूमिकाका साथ विकास केन्द्रित अवधारणामा अगाडि बढेको छ । अमेरिकी कूटनीतिको लक्ष्य सुरक्षा, समृद्धि, प्रजातन्त्र र विकासमा केन्द्रित रहेकामा नेपालमा प्रजातान्त्रिक अभ्यासमार्फत् विकासका माध्यमबाट नागरिकको जीवनस्तर माथि उकास्न केन्द्रित रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ ।    
    
 अमेरिकाले पछिल्ला वर्षमा खासगरी भूकम्पका बेलामा र कोरोना महामारीका रुपमा भएका अकल्पनीय क्षतिको न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । भूकम्पपश्चात् नेपाललाई १३ करोड डलर दिने घोषणा गरेको अमेरिकाले पछि १९ करोड डलर सहयोग गरेको थियो, भूकम्पपश्चात्को पुनःनिर्माणमा ३६ वटा स्कुल पुनःनिर्माणमा अमेरिकाको सहयोग रहेको थियो ।    
    
 कोरोनाविरुद्धको खोप दिनेमा पनि अमेरिका अग्रपङ्क्तिमा नै रह्यो । कोरोना भाइरस विरुद्धको कूल ३७ लाख ९८ हजार ८०० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत ५० करोड डलर अनुदानको सम्झौता भएर काम अगाडि बढेको छ । नेपालको वैदेशिक सहायताको इतिहासमा अनुदानका रुपमा एकैपटक प्राप्त भएको यो रकम सबैभन्दा धेरै हो ।    
    
 नेपाल र अमेरिकाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा सहकार्य समेत गर्दै आएका छन् । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको छ । सन् २०१६ मा अमेरिकाले नेपालको निर्यातलाई प्रोत्साहन गर्न व्यापार सहुलियत कार्यक्रमसमेत उपलब्ध गराएको छ ।   नेपाल र अमेरिकाबीच उच्चस्तरको भ्रमण आदानप्रदानले पनि निरन्तरता पाएको छ । केही वर्ष अगाडि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । हालसालै मात्र अमेरिकी सांसदहरुको टोलीले नेपाल भ्रमण गरी द्विपक्षीयहितका विषयमा छलफल गरेको छ ।    
    
 नेपालबाट बर्सेनि अध्ययनका लागि अमेरिका आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । सन् २०२०–२०२१ मा नेपालबाट ११ हजार १७२ जना विद्यार्थी अध्ययनका लागि अमेरिका आएका थिए ।  अमेरिकामा नेपाली समुदायको उपस्थित बढ्दै गएको छ । यसबाट पनि दुई देशबीच नागरिक तहमा पनि सम्बन्ध विस्तार भई थप सौहार्द बन्दै गएको भन्न सकिन्छ । पिस कप्र्समार्फत अमेरिकाबाट स्वयंसेवक गई नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा सहयोग गर्ने गरेका छन् ।    
    
 उहाँहरु नेपालीको इमान्दारिता र आतिथ्य प्रदान गर्ने कुरालाई मुख्यरुपमा सम्झना गर्न चाहनुहुन्छ । आजभन्दा झण्डै ६० वर्ष अगाडि नै नेपालको ग्रामीण परिवेशमा पुगेर उनीहरुसँग भिजेर शिक्षा स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वयंसेवकले अमेरिकी सीप र प्रविधि रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।    
    
 अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थी हुन् या अमेरिकामा नै बसेर आफ्नो योग्यता क्षमताले काम गरिरहेका हुन् उनीहरुले मातृभूमिको विकासमा महत्वपूर्ण योगदान गर्दै आएका छन् । कोरोना महामारीका बेलामा पनि उनीहरुले आर्थिक तथा प्राविधिकरुपमा मातृभूमिका लागि सघाएका थिए । भूकम्पको बेलासमेत यहाँ रहेका नेपालीले रकम सङ्कलन गरेर राहत वितरण गर्न पहलकदमी लिएका थिए ।    
    
 अमेरिकामा जो वाइडेनले राष्ट्रपतिको बागडोर सम्हालेपछि बेलायतमा भएको जलवायु परिवर्तनको विश्व सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएको थियो । यसैगरी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग गत मार्च १ मा टेलिफोन संवादसमेत गर्नुभएको थियो ।   उक्त अवसरमा नेपाल र अमेरिकाबीच कोरोना महामारीपछिको पुनःनिर्माण र जलवायु असरको सङ्कटका बारेमा सामूहिक कार्य गर्ने सहमति भएको बताइएको छ ।   रासस