• बिहीबार, १३ बैशाख, २०८१
  • ११:५८:१७

'धनबहादुर'

पार्वती अधिकारी
‘ए धनबहादुर ! मेरो बाटो किन छेकेको ?’
‘धनबहादुर ! को धनबहादुर ?’
‘तिमी धनबहादुर ।’
किन ?
‘पैसा फाल्ने मान्छेलाई धनबहादुर नभनेर के भन्छन त ?’
‘त्यो कहाँ पैसा फ्याँकेको हो त । भगवानलाई चढाएको पो त ।’
‘होला खुब ! एक रुपैंयाँ फ्याँकेर भगवानसंग चार पाना लामो बरदान माग्यो होला । अझ चढ़ाको रे ।’
‘के तिमीचाहिं मन्दिर गएर भगवानलाई अर्ति उपदेश दिएर आउँछौ र ? मन्दिर गएपछि जसले पनि माग्ने भनेकै बरदान नै त हो नि ।

साँच्चै, मानिसले चढाएको सबै कुरा भगवानले कपाकप खाइदिने भए मानिसले भगवानलाई यति सारो पुज्ने नै थिएन । अझ मानिस मन्दिर जानै छाडीदिन्थे होला । कतिले त कुरा काट्दै भन्थे होला, ‘मन्दिर त नजाउँ होला, भगवानले मागेरै हैरान पार्ने । जति खाए नि नपुग्ने, लोभी बुढा । त्यति बलिया हात पाखुरा छन् त, आफैं काम गरेर खाए भैगो नि ।’ अझ भगवानले खान्थे भने त, मन्दिर ओरिपरि पनि रछान, शौचालय, किचनसहित बनाउनु पर्थ्यो । मानिसले मात्र फोहोर पारेको बागमतीमा भगवानले गरेको फोहोर पनि मिसिन जान्थ्यो । अझ अहिलेको सबै प्रविधिहरु भगवानले पनि चलाउथे होला । टिकटकमा सबैभन्दा धेरै लाइभमा आउने भगवान नै हुन्थे होला । ट्वीटरको स्पेसमा होस्ट बनेर घन्टौंसम्म तालतालका गफ लाइरहन्थे होला। त्यसपछि त भगवान र मान्छेमा के फरक हुन्थ्यो र। त्यसैले नै भगवान स्थिर छन्, अटल छन्, हामीले जति बकबक गरेपनि चुपचाप लागेर बसिरहन्छन । जे होस् हामी मानिस भन्दा फरक छन् ।

‘ए, धनकुमारी कता हराएको ?’
‘धनकुमारी ! को धनकुमारी ?’
‘पैसा फाल्नेलाई धनकुमारी नभनेर के भन्छन त ?’ उसले ठ्याक्कै अघिको मेरो कुराको नक्कल गर्दै बोल्यो ।
‘त्यो त कहाँ फालेको हो त ? चढाएको पो त ।’ मैले पनि उसकै डाइलग कपि गर्दै भनें ।

आजको ठ्याक्कै एक हप्ता अघि म स्वयम्भुमा लर्खराउँदै थिएँ। स्वयम्भु यसैपनि मेरो लार्खराउने उत्कृष्ट गन्तव्य । म जहिले फ्रि हुन्छु, स्वयम्भु आइहाल्छु । स्वयम्भुको सिर्सिरे हावा, बुद्धको त्यो स्थिर आँखा, बाँदरको चंचलता, माथि डाँडाबाट देखिने काठमाडौँ शहरको मनमोहक दृश्य । यी सबै कुराहरुले मलाई स्वयम्भुतिर तानिरहेको हुन्छ । काठमाडौँ शहरको अन्दाजा लगाउन नसक्नेहरु पनि स्वयम्भुबाट धरहराको अग्लो टावर देखाउंदै भन्छन, ‘उ त्यो धरहरा ।’

यतिमात्र होइन । आफ्नो फुर्सदिलो समय एकान्तमा बिताउन धेरै प्रेमिल जोडीहरु पनि स्वयम्भु आउने गर्छन । वर्षौं भैसक्यो म स्वयम्भु जान थालेको । तर म भने जहिल्यै एक्लै। कहिलेकाहीं त लाग्छ, ‘कास मेरो पनि कोहि भैदिएको भए स्वयम्भु आउनुको मजा नै बेग्लै हुने थियो ।’

सधैंजसो आउजाउ गर्ने ठाउँ भएकाले स्वयम्भु मेरो पानी पँधेरोजस्तै भैसकेको थियो । त्यहाँका बाँदरहरु पनि मेरा आफन्ती नै हुन् कि जस्तो लाग्न थालिसकेको थियो । सानोमा त म बाँदरको नाम सुन्दा पनि डराउँथें । कहिलेकाहीं, अग्लो रुखमा चड्दा आमाले दाइलाई ‘तलाई बाँदर’ भन्दै गालि गर्नुहुन्थ्यो । कतै रुख चढेपछि पनि बाँदर भइने त होइन । मेरो मनमा खुल्दुली हुन्थ्यो ।

कहिलेकाहीं म स्वयम्भुको पोखरीमा सिक्का फाल्दै आफ्नो लकको हिसाब किताब पनि गर्थें । त्यो दिन पनि मैले १० ओटा सिक्का किनें र एक एक गरेर पोखरीमा फाल्न थालें । ९ ओटा सिक्का फाल्दा पनि भाँडोभित्र परेन । अन्तिममा बचेको एउटा सिक्का थियो । स्वयम्भूको त्यो पोखरीमा पैसा फाल्दा भाँडोभित्र पर्यो भन्ने मागेको कुरा पुग्छ भन्ने विश्वास पनि रहेछ । मेरो मनभित्र पनि एउटा सिक्का पारिदिए मनले सोचेको ठ्याक्कै पुगीहाल्थ्यो कि भन्ने लागिरहन्थ्यो ।

भगवानले गर्ने त केहि होइन। गर्ने चाहिं आफैंले हो । तर भगवान भन्ने अदृश्य शक्तिसंग हाम्रो यति धेरै लगाम छ कि, जसका कारणले हामी आफैं 'मोटीभेट' हुन सक्छौं । जिवनमा जतिसुकै पिडा आइपरे पनि भगवानले हेर्छन भनेर सहास बटुल्न सक्छौं । म पनि त्यहि मानिसहरु मध्येको एउटा मान्छे । म पनि आफुलाई आवश्यक परेको सबै कुराहरु भगवानसंग नै माग्छु । पुग्यो भने भगवानले पुर्याईदिएको भन्दै मख्ख पर्छु। पुगेन भने मेरो समय आएको रहेनछ, भगवानले पुरा गर्ने तयारी गर्दै छन् कि भन्दै चित्त बुझाएर बस्छु ।

मैले मनको कुरा माग्दै दशौँ सिक्का पोखरीमा फालें । सिक्का हावामा उड्दै थियो, त्यहि बेला मेरो सिक्का संगसंगै अर्को सिक्का पनि देखियो । मैले एउटा सिक्का फालेको, त्यहाँ त दुईवटा सिक्का पो देखियो । मेरो सिक्का कुनचाहिं हो पत्ता लगाउनै सकिन । कुरा के भएको रहेछ भने, मैले सिक्का फालेकै बेला संगसंगै अर्को मान्छेले फालेको रहेछ । त्यो दुइटा सिक्कामध्ये एउटा भाँडोमा पर्यो । मेरो दशौँ प्रयासमा सिक्का भाँडोभित्र पर्यो । मनमा खुसि त थियो नै । खुसिसंगै द्विविधा पनि भयो । मेरो सिक्का पर्यो या अर्को मान्छेको ।

यसो पछाडी फर्किएर मसंगै सिक्का फाल्नेको अनुहार हेरें । उ पनि एक्लै खुसि भैरहेको रहेछ । यो खुसि भन्ने चिज पनि, कस्तो अचम्मको । अब उ खुसी भैरहेको छ भने म खुसी हुने कि नहुने ? फेरि म उजस्तै खुसी भैदिएँ भने उ खुसी होला कि नहोला । तर जे होस्, मेरो मनले मेरो सिक्का नै भाँडोमा परेको भनेर दाबी गर्छ भने मैले त्यसलाई सहर्ष स्वीकार गरेर भारी खुसी हुने अधिकार छ । म पनि खुसी भैदिएँ । अब भने मागेको बरदान ठ्याक्कै पुग्छ भन्ने आसले मेरा हड्डी हड्डी हाँस्न थाले । जे होस् म धेरै पछि खुसी भएँ । त्यो एक रुपैंयाँको सिक्काले दिएको खुसी थियो । जुन लाखौँमा तुलना गर्ने सकिन्नथ्यो ।

म खुसी हुँदै बुद्धपार्कतिर ओरालो लागें । मनमनै त्यो केटालाई पनि धन्यवाद दिएँ । एउटा सिक्का भाँडोमा परेर दुईजना खुसी भएको पहिलो पटक नै हुनुपर्छ । मलाई त्यो केटाको अनुहार राम्रैसंग थाहा थियो । बाटोमा धेरैबेर यहि घटनाको याद आइरह्यो । ‘अब दोस्रो पटक त्यो केटालाई भेटें भने पक्कै धन्यवाद दिनेछु’, मैले मनमनै सोचें ।

मलाई उसको नाम थाहा थिएन। भेटें भने उसलाई के भन्ने होला । एक मनले सोच्यो ‘आ ! नचिनेको मान्छेलाई के भन्नु । फेरि भेट नहुन पनि सक्छ ‘ अर्को मनले भन्यो, होइन, भेट हुनुपर्छ । उसले गर्दा मेरो दशौँ प्रयास सफल भएको छ ।’ मनको जुहारी चलि नै रहेको थियो । एकाएक एउटा नाम फुर्यो, ‘धनबहादुर’ । सुन्दा त अलि हाँसो उठ्ने खालको छ । तर म उसलाई धनबहादुर नै भन्छु । किनकी पैसा फाल्नेको धनबहादुर भन्दा उचित नाम अरु के हुन सक्छ र ? म मुसुमुसु हाँसीरहेकी रहेछु । एउटा आन्टी फतफताउदै हुनुहुँदो रहेछ, ‘अहिलेका केटाकेटीहरु एक्लै मुस्कुराउदै हिड्छन, के भएको होला ।’ बल्ल पो म झसङ्ग भएँ। फेरि मनमनै हाँस्दै त्यहाँबाट हिंडे ।

आज ठ्याक्कै एकहप्ता पछि मैले उसलाई भेटें । कतै सिक्काको प्रभाव त होइन ? भेट्नासाथ् मैले उसलाई धनबहादुर नै भनें । मलाई उसको वास्तविक नाम त अझै पनि थाहा छैन । तर एउटा कुराचाहिं थाहा भयो कि म पनि धनकुमारी पो रहेछु । क्रमश…