• बुधबार, १२ बैशाख, २०८१
  • ०६:२७:११

स्थानीय निर्वाचनपछि नेपालको निर्वाचन परिदृश्य कस्तो होला ? 

  • Netizen Nepal
  • शनिबार, ३१ बैशाख, २०७९- १०:०४:००/ Saturday 05-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३१ वैशाख। चुनावी प्रचारका क्रममा कैलाली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले त्यहाँको चुनावी सभामा गठबन्धन अझै 'क्लियर' भएको आफूले नदेखेको बताए। तर उनले त्यस अघिपछिका कतिपय चुनावी आमसभामा गठबन्धन वर्षौँ लैजान आवश्यक रहेको समेत बताउने गरेका थिए।

गठबन्धनका लागि उनकै दलले कतै पाँच दलीय सत्ता साझेदारभित्रबाटै ठूलो चुनौती खेपिरहेको छ भने कतै एक-दुई दलसँग मात्र सहकार्य समेत भएको छ। कैलालीको कैलारी गाउँपालिकामा त उनले स्वतन्त्र रूपमा उठेका आफ्नो दलका उम्मेदवारलाई नै जिताउन भन्दै नेपाली कांग्रेसको उम्मेदवारी फिर्ता हुनुपर्ने माग दोहोर्‍याएका थिए।

एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यस आसपास कांग्रेसमा आफू धेरै शक्तिशाली भएको 'दम्भ देखिएको' भन्दै असन्तुष्टि पोखेका थिए। उनले त्यहाँ भनेका थिए, "सबैको शक्तिलाई स्विकार्नुपर्छ, त्यत्तिकै उम्रेर आएका होइनन् यिनीहरू।"

अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म भाग मिलाउन सकस भएका बेला कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समेत आन्तरिक सकस  पोखेका थिए, "माधवजीहरू आफूहरू अझै एमाले नै हौँ भन्ने जसरी भाग चाहिएको कुरा गर्नुहुन्छ। त्यसरी त हुँदैन।"

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनले आफ्नो पार्टीलाई केन्द्र र प्रदेशहरूमा सरकारमा पुर्‍याएकोले घाटा नभएको भन्दै आफूहरूमाथि 'शङ्का-उपशङ्का नगर्न' भनिरहेका पाइन्थे।

कसलाई चाहिएको छ गठबन्धन?

मतदानको दिनसम्मै पनि गठबन्धनका नेताहरूमा एक अर्काप्रति आशङ्का व्याप्त देखिँदा त्यसलाई ती दलभित्रै र बाहिरबाट नियालिरहेका कतिपयले चुनावपछिको सम्भावित परिदृश्यसँग जोडेर हेरेका छन्। त्यसबेलै एउटा प्रश्न उब्जिएको छ- अहिलेको सत्ता गठबन्धन कसलाई सबैभन्दा बढी महत्त्व राख्छ? जसबारे पाँच दलीय नेताहरूले एक अर्कालाई देखाउने गरेका पाइन्छन्।

एक जना राजनीतिशास्त्री कृष्ण पोखरेल चाहिँ नयाँ बनेको दल एकीकृत समाजवादीलाई त्यो 'अस्तित्वको सवाल' भए पनि त्यो सबैभन्दा धेरै अर्थ नेपाली कांग्रेसलाई लाग्ने ठान्छन्। "तर स्थानीय तहको गठबन्धनले नै वार कि पार गर्दैन। मैले बुझेको के हो भने यसको अभिप्राय: प्रदेश वा सङ्घको चुनावसम्म गठबन्धन नटुटोस् भन्ने हो," पोखरेल भन्छन्।

एकीकृत समाजवादीले निकालेको सल्लाहकार परिषद्मा समेत नाम रहेका पोखरेलले भने, "एमाले फुटेर माले हुँदा उसको जे दुर्दशा भएको थियो, त्यही नहोस् भनेर एकीकृत समाजवादीले प्रयास गरिरहेको हो।" नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वभित्र भने गठबन्धनलाई लिएर 'पार्टीको निर्देशन मान्ने' अभिव्यक्ति आए तापनि त्यसको वकालत गरिरहेको बुझ्न नहुने पार्टी पङ्क्तिका नेताहरू बताउँछन्।

राजनीतिक टिप्पणी समेत गरिरहने कांग्रेसका एक जना युवा नेता शङ्कर तिवारीले चुनावी प्रचारका दौरान पार्टी सभापतिमा पराजित शेखर कोइराला र दुई महामन्त्रीहरू एकसाथ नदेखिनुलाई अर्थपूर्ण हेर्नुपर्ने बताउँछन्। उनी भन्छन्, "यस निर्वाचनपछि पनि एक पटक पुन: राष्ट्रिय चुनावमा गठबन्धन कसरी गर्ने भन्ने विषयमा व्यापक बहस हुनसक्छ। नीति अधिवेशन वा महासमिति बैठक आह्वान हुने सम्भावना समेत रहन्छ।"

परिणामले असर पार्ला?

यस निर्वाचनमा सत्ता गठबन्धनको सामना गर्न कतिपय ठाउँमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले समेत राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका केहीसँग तालमेल गरेको छ। एकजना राजनीतिक टिप्पणीकार नरेन्द्रजङ्ग पिटरले दुवै गठबन्धन उभिएको आधारलाई हेर्दा 'यसको परिणामले केही असर पार्ने नदेखिने' बताउँछन्।

"यी दुवै किसिमका गठबन्धनहरू आग्रह, सिद्धान्तहीनता र भयका कारण भएका छन्। आउँदा चुनावसम्मै यो भयले काम गर्छ," पिटर भन्छन्।
केन्द्रमा नेताहरू मिले पनि तल्लो तहमा स्थानीय राजनीति नै हाबी भएको यस पटक व्यापक रूपमा हुन नसकेका स्थानीय तालमेलले देखाएको जानकारहरू बताउँछन्। कतै तलका कार्यकर्ताले विरोध गरेर बागी उम्मेदवार उठाएका छन् त कतै उनीहरूका असन्तोष सार्वजनिक रूपमा देखा परेका छन्।

पार्टीहरूभित्रै अन्तर्घात भइरहने चुनावी माहौलमा धेरै पार्टीबीचमा त्यसो हुनुलाई कतिले अस्वाभाविक समेत मान्दैनन्। तर कुनै बेला माओवादीसँग आबद्ध रहेका पिटरका दृष्टिकोणमा यस पटकको चुनाव व्यापक रूपमा 'जित्न भन्दा हराउन धेरै भइरहेको देखेको' बताउँछन्।

पुन: बाम एकता होला?

यति बेलै प्रचण्डले भने कांग्रेसीलाई 'हसिँयाहतौडामा छाप हान्न अप्ठ्यारो भइरहेको देखिएको' भन्दै पुन: बाम एकताको सम्भावनाको सङ्केत गरिरहेका पाइन्छन्। तर कृष्ण पोखरेलले खास गरी एकीकृत समाजवादीको हकमा समानुपातिकतर्फ मात्र नभई प्रत्यक्षतर्फ समेत 'जे जति सीट आउँछ' त्यसले एउटा आकार लिने ठान्छन्।

गठबन्धन 'आंशिक मात्र सफल हुने' ठाने तापनि पोखरेल भन्छन्, "तर तीन वटै निर्वाचनको एउटा चक्र पूरा नभइकन वाम गठबन्धनको सम्भावना म देख्दिनँ।" "[नेकपा] टुटेकै केपी ओलीको अहमको कारण हो। सबै निर्वाचनले उनकोसमेत शक्ति कमजोर नपारेसम्म वाम एकताको सम्भावना म देख्दिनँ।"

टिप्पणीकार पिटरका ठम्याइमा भने यति सत्ता गठबन्धनको तालमेलले काम गरेमा र 'एमालेका लागि हिजोका दिनमा जसरी नतिजा नआउँदा त्यसले ओलीकै नेतृत्वमाथि प्रश्न उठाउन सक्ने' देखिन्छ।

तर अर्का थरी भने शक्ति सन्तुलन परिवर्तन हुँदा गठबन्धनभित्रको सकस झन् बढ्ने, त्यसले पार्टीहरूभित्रै नयाँ मतहरू हुने वा सत्ता समीकरण समेत फेरिन सक्ने ठान्छन्। बिबिसी