• शनिबार, ८ बैशाख, २०८१
  • ०१:५९:५०

जटिल बन्दै बालविवाह 

  • Netizen Nepal
  • बिहीबार, ९ असार, २०७९- १७:२८:००/ Thursday 06-23-22

नेटिजन संवाददाता 
काठमाडौँ, ९ असार। गत वर्षमा काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरे । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत पाँच छात्रा र दुई छात्रले उमेर नपुग्दै विवाह गरेका हुन् ।

जिल्ला सदरमुकाम धुलिखेलमा अवस्थित उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ती विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटनाक्रमले देखाएको छ । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन् । 

शैक्षिकसत्र २०७८ मा स्थानीय देवीस्थान माविका सात विद्यार्थी ‘बालविवाह’ गरेको धुलिखेल–१ वडाध्यक्ष सन्तबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार स्कुल अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने हालसम्म कुनै निकायमा उजुरी भने परेको छैन ।

“विसं २०७८ मा विद्यालयको कक्षा ९ मा अध्ययनरत तीन र १० का चार विद्यार्थीले उमेर नपुग्दै विवाह गरे, मैले तत्कालीन वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापकसँग कुरा गरेँ तर उहाँहरूले आफूहरू एक्लैले मात्रै बालविवाह रोक्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो”, उहाँले भन्नुभयो, “मेरो आफ्नै टोलमासमेत बालविवाह हुँदा मैले अभिभावकलाई सम्झाउने कोसिस गरेँ तर उहाँहरूले उल्टै मलाई नै नराम्रो दृष्टिले हेर्नुभयो ।”

वडाध्यक्ष तामाङ यी बस्तीमा बालविवाह रोक्न अभिभावक, विद्यालय प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकाय सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ । “म निर्वाचित भएपछि आफ्नो वडाको वार्षिक योजनामा बालविवाह रोक्ने विभिन्न कार्यक्रम समावेश गरेको छु”, उहाँले भन्नुभयो ।

उहाँले बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको पाइएको जानकारी दिनुभयो । विद्यालयका शिक्षक रामेश्वर पौडेलले उमेर नपुग्दै विवाह गरेकामध्ये केही विद्यार्थीले विद्यालय आउन छाडेका छन् भने केही विद्यालयमा अध्ययनका लागि आइरहेको बताउनुभयो । उहाँका अनुसार चालु शैक्षिकसत्रको एक महिनामा भने कुनै विद्यार्थीले उमेर नपुग्दै विवाह गरेका छैनन् ।

वडाध्यक्ष तामाङले वडाकै योजनाअनुसार बालविवाह रोक्न अभिभावक र विद्यालयका शिक्षकसँग अन्तक्र्रिया गरी बालविवाहबाट पर्ने प्रभावबारेमा जानकारी दिइने बताउनुभयो । “यस्तो घटना न्यूनीकरणका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकले विद्यार्थीको चालचलनसमेत बुझ्नुपर्ने हुन्छ, हामी सबै तरिका अपनाई बालविवाहजस्तो ग्म्भीर समस्या सुल्झाउन लाग्नेछौँ”, तामाङले भन्नुभयो ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता  घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । धुलिखेल नगर महिला तथा बालबालिका शाखाका कार्यरत पूजा काफ्लेले नगरमा चेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । “त्यस्ता घटना नहुनुपर्ने हो, कसरी भयो ?”, उहाँ नै प्रतिप्रश्न गर्नुहुन्छ ।

काभ्रेका प्रहरीप्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले केही महिनाअघि जिल्लाको दक्षिणी भेगस्थित डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाको भ्रमण गर्ने क्रममा बालविवाहका घटना भइरहेको पाइएको बताउनुभयो । “हामीले त्यस क्षेत्रको भ्रमणका क्रममा विद्यालयमा कक्षा ७ सम्म विद्यार्थीको सङ्ख्या राम्रो नै हुने तर कक्षा ८ मा पुगेपछि बर्सेनि विद्यार्थीको सङ्ख्या न्यून हुने कारण खोज्दा बालविवाह रहेको पाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रहरी प्रमुख जोशीले जिल्लाका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताउनुहुन्छ । उहाँले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बालविवाहविरुद्ध उजुरी नपरेसम्म केही गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ ।”

नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने र विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।