पेट्रोल र डिजेलको उच्च मात्रामा मूल्य घट्यो, निगम ५० देखि ५५ अर्ब नोक्सानीमा
- Netizen Nepal
- शनिबार, ११ असार, २०७९- १५:३२:००/ Saturday 06-25-22
नेटिजन सम्बाददाता
काठमाडौँ, ११ असार। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को शनिवारको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
उहाँका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ । जसअनुसार हाल पेट्रोलमा १९९ रहेकामा रु २० घटेर १७९ कायम गरिएको छ । त्यस्तै डिजेलमा १९२ बाट रु २९ घटाएर १६३ कायम गरिएको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को निर्णयलगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरेर सो जानकारी दिनुभएको हो । “यो आजैको मन्त्रिपरिषद् बैठकको निर्णय हो । सुझावका आधारमा बैठकले निर्णय गरेको हो”, मन्त्री बडूले भन्नुभयो ।
उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरी मूल्य घटाइएको बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उहाँले उल्लेख गनुभयो । “यसले समग्र समाधान त हैन तर, तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ भन्ने सरकार र मन्त्रालयको विश्वास छ”, उहाँले भन्नुभयो ।
घाटा कसरी पूर्ति हुन्छ ?
नेपाल आयल निगमका अनुसार हाल सरकारले पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा र डीजलमा प्रतिलिटर ४९ रुपैयाँ ५३ पैसा डीजलमा कर लिँदै आएको छ। यसअघि इन्धनको मूल्यवृद्धिले बजारमा महँगी चरम रूपमा बढिरहेको भन्दै तत्कालका लागि कर छुट गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका थिए। यसअघि सरकारले पूर्वाधार कर शीर्षकअन्तर्गत पेट्रोल र डीजलमा लिँदै आएको राजस्वमा १०-१० रुपैयाँले छुट दिने निर्णय गरेको थियो।
सरकारले अहिले मूल्य घटाउने निर्णय लिँदा कुनकुन शीर्षकका करलाई समायोजन गरिएको खुलाएको छैन। सत्तापक्षीय दलका शीर्ष नेताको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले अहिले समग्रमा हामीले कर घट्यो भन्ने बुझौँ। समग्रमा कुन शीर्षक भनेर अहिले खुलाइएको छैन। तर यसबारेमा हामी गृहकार्य गरेर खुलाउँछौँ भन्ने जवाफ दिनुभयो।
नेपाल आयल निगमले केही महिनादेखि आफू निरन्तर घाटामा गइरहेको बताउँदै आएको छ। निगमलाई अझै मासिक करिब रु. चार अर्ब ७० करोड घाटा रही असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको असार ५ गते जारी गरिएको विज्ञप्तिमा निगमले भनेको छ। आयल निगमले चाहिँ यसअघि गरिएको कर छुटबारे पनि लिखित निर्णय नआएको र अहिलेको निर्णय पनि प्राप्त नभइसकेको जनाउँदै औपचारिक निर्णय प्राप्त भएपछि मात्रै विस्तृत बताउन सक्ने बताएको छ।खाना पकाउने ग्यासमा मात्रै प्रतिमहिना करिब दुई अर्ब २८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएकोछ