• बिहीबार, ६ बैशाख, २०८१
  • १२:१६:५१

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

  • Netizen Nepal
  • आइतबार, १२ असार, २०७९- १८:२१:००/ Sunday 06-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १२ असार। सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ । चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले जानकारी दिनुभयो । यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो ।

यो वर्ष जडीबुटी ल्याउन ठेक्का ढिला भएकाले पनि कम औषधि उत्पादन भएको हो । गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो । ठेक्का सम्झौता भने हुने क्रममा रहेको उहाँले सुनाउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा ५७ हजार ८२७ केजी औषधि उत्पादनको लक्ष्य थियो । गत आवमा पनि लक्ष्यको २३.२८ प्रतिशत अर्थात् १३ हजार ४६३ केजीमात्र औषधि उत्पादन भएको थियो । गत वर्ष भने ठेक्का गरेर जडीबुटी भण्डारमा भए पनि कोरोनाको प्रभावका कारण पनि कम उत्पादन भएको जनाइएको छ । चालु आर्थिक वर्षमा २३ लट अर्थात् १२ हजार ७५ केजी च्यवनप्राश बनेको छ । एक लटमा ५२५ केजी हुने पनि उत्पादन शाखा प्रमुख यादवको भनाइ छ ।