• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:३६:४५

पुराना चौतारी संरक्षणका लागि बजेट विनियोजन

  • Netizen Nepal
  • सोमबार, १३ असार, २०७९- १३:१२:००/ Monday 06-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ जेठ । म्याग्दीको बेनी नगरपालिकाका पुराना चौतारीको पुनःनिर्माण गरी तिनीहरुको संरक्षण गर्ने अभियान थालिएको छ । यसै क्रममा वडा नं ७ स्थित  बसपार्क नजिक मालपोत भवन अगाडिको चौतारीलाई पुनःनिर्माण गर्न थालिएको छ ।

जीर्ण अवस्थाको उक्त चौतारीको मर्मत वडा नं ७ ले सुरु गरेको हो । बर, पिपलसहितको उक्त चौतारी संरक्षणका लागि वडाले रु एक लाख २७ हजार बजेट विनियोजन गरेको छ । वडामा भएका पुराना चौतारीको संरक्षणका लागि जीर्ण अवस्थाको सो चौतारीको मर्मत सुरु गरिएको बेनी नगरपालिका– वडा नं ७ का नवनिर्वाचित अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । चौतारीको एक छेउँमा ३ वटा मठ निर्माण गरिने छ । अर्को छेउँमा पिउने पानीका लागि सार्वजनिक धारासहित बगैँचा निर्माण गरिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

पर्यावरण र चौतारीमा फोहर नगरुन भनेर मठ निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । ढुङ्गाको पर्खाल लगाई ढुङ्गाकै छपनी ओछ्याएर बस्न सहज र आकर्षक बनाउने गरी निर्माण थालिएको छ । चौतारी अपाङ्गतामैत्री हुनेछ । ह्वील चियरको माध्यमबाट सिधैँ चौतारीमा गई विश्राम लिन मिल्ने गरी बाटो निर्माण गर्न लागिएको छ ।

वडावाट विनियोजित ८ लाख बजेटबाट नगरपालिका अगाडि नाली निर्माण तथा सरसफाई, मङ्गलाघाटमा नाली सरसफाइ, दोविल्लामा सडक ग्राभेललगायतका काम गरिएको छ । चौतारी पुनः निर्माणको कार्य पनि सोही बजेटमध्येबाट उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको हो । समयमै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खानले बताउनुभयो ।

बेनी बजारभित्र १७ चौतारी छन् । ती सबैको मर्मत तथा संरक्षणको कामलाई नगरपालिकाले निरन्तरता दिने बेनी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । बेनी बजारका स्थानीयवासी कृष्णप्रसाद श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र मेजरमान श्रेष्ठका अग्रजले करिव २ सय वर्ष अगाडि सो चौतारी निर्माण गरी बर र पिपल रोपेको बताइएको छ ।

 चौतारी निर्माणका लागि उहाँका आफन्तबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने गरी छलफल अघि बढाइएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनपा– २ को खान्दुलामा खानी निकालेर त्यस क्षेत्रमा पखाल्ने गरेको इतिहास पाइन्छ । त्यतिवेला त्यस चौतारीलाई खानी पखाल्ने चौतारी पनि भन्ने गरिन्थ्यो । सो चौतारीको ऐतिहासिक महत्व समेत रहेको छ । निकै पुरानो वर र पिपलको रुख रहेको सो चौतारी मान्छेहरु बस्नै नमिल्ने गरी फोहोर भएको थियो । ढुङ्गाका पर्खाल पनि भत्किने अवस्थामा पुगेका थिए ।