• बुधबार, १२ बैशाख, २०८१
  • ०५:०९:५७

झरी परेको दिन...

पार्वती अधिकारी 
तीन दिनदेखि लगातार पानी वर्षिरहेको थियो । ‘आजभोलि आकाश गडगडाउन छोडेको छ । खै किन हो ? वनको राजा सिंह गर्जिएजस्तै गर्जिएर पानी पर्नुअघि सुचना दिने मेघ कता जाँदो हो ? सायद रुझिन्छ भन्ने डरले ओडारभित्रै बसिरहेको पो हो कि’, मनमा तालतालका तर्कना आउँथ्यो । आकाश धुम्म थियो । पानी आधि आधि घण्टामा पर्दै, रोकिंदै, पर्दै रोकिंदै गरिरहेको थियो । बेलाबेला भने लगातार दुई– तीन घण्टा वर्षिरहन्थ्यो । आँगनमा हरियो लेउ पलाएको थियो । छानो र पालीबाट झरेको पानीका थोप्लाहरुले बलेसीमा ठुलाठुला खाल्डो परेको थियो । जताततै गजगज हिलोमात्रै । 

'ओहो, खोल्सामा पनि कति ठुलो बाढी आएको ?’, आमाले घरभन्दा परको खोल्सामा देखाउँदै भन्नुभयो ।  
वर्षभरि चुपचाप हुने खोल्सा एक्कासी उत्ताउली भएको देख्दा हामीलाई अचम्म लाग्थ्यो ।  खोल्सा एक्कासी खोला भएको हेर्न खुबै रमाइलो हुन्थ्यो । घरमुनीको खहरे खोलाको शान नै बेग्लै हुने त्यतिबेला । उसलाई हरेक खोल्साहरुले साथ् दिएका हुन्छन् । त्यसैले खोला फुरुङ्ग थियो । चुनावका बेला कार्यकर्ताले घेरिएको नेता जस्तै । खोलामा पनि खहरेको नाराबाजी चानचुनेको हुँदैनथ्यो । मानौं, अब ऊ सदनमा पुग्दै छ । हुन पनि हो , ऊ समुन्द्रमा जाँदै थियो । बिशाल र शान्त बगिरहेको समुद्रमा पुगेपछि खहरेहरुले पनि महसुस गर्दा हुन्, हामी केहि समय आउँदा डाँडापाखा थर्काउँदै आयौं, समुन्द्र बाह्रै महिना बग्दा पानि किन शान्त ? सायद, ठुलो भैसकेपछि चंचलता कम हुन्छ, हल्लिखल्ली कम मात्रामा गरिन्छ, जिम्मेवार बढी भइन्छ । समुन्द्र जिम्मेवार भैसक्यो ।  

मकैका कलकलाउँदा बोटहरु निथु्रक्क देखिन्थे । करेला र लौकाका पातहरु घोस्से मुन्टो लगाएर बस्दै थिए । पहाडलाई हरियो साडी खुबै सुहाएको थियो । साडीमा उसलाई आमाजस्तै देखिन्थ्यो, राम्री । बाख्रा चिसोले सिंकसिंक गर्दै सिंगान बगाइरहेको थियो । ’मान्छेको जाडो खाने बाख्रो आफैं चिसो मानेर बसिरहेको देख्दा मनमनै हाँसो लाग्यो । भैंसी पनि शरिरका रौँहरु ठाडो ठाडो पारेर शरीर कुक्रुक्क पारेर बसिरहेको थियो । भैंसीलाई पानी खुबै मन पर्छ । अरु बेला पनि धेरै पटक देखेकी थिएँ, आहाल देख्यो कि डुब्न गैहाल्थ्यो । गोठको छानोबाट चुहिएको पानी भैंसीको शरीरबाट तपतप चुहिरहेको थियो । बाछिटाले थलो हिलाम्मे हुन्थ्यो ।  ’बर्खामा त भैंसीको दुध पनि कसरी खानु ?’, आमा फतफताउँदै भन्नुहुन्थ्यो ।

कहिले आँत नै सुक्नेगरि खडेरी पर्छ । कहिले भने कति पानी वर्षिन सकेको ? पृथ्वी किन समान तरिकाले चल्दैन ? ‘कतै जलवायु परिवर्तनको प्रभाव त होइन ? हामीले त जलवायुलाई नै असर गर्नेगरि केहि गलत काम गरेजस्तो लाग्दैन । अनि किन यस्तो भयो ?’, पिंढीको फलैंचामा बसेर सोच्दै थिएँ । घर अगाडीको अम्बाको बोटमा आँखा गयो ।  अम्बाको बोटमा सारौँको गुँड थियो । सारौँका बचेराहरु खानाका लागि चुच्चो बाहुँदै थिए ।  ‘झरीका कारण आमाले चारा खोज्न जान नसकेकाले होला बिचरा बचेराहरु भोकाएका’, मनमा दया जागेर आयो । हातमा एक मुठ्ठी चामाल लिएर अम्बाको रुख भएतिर गएँ । आमा सारौँ भुर्र उडेर टाढा गयो । बचेराहरु अझै मुख बाहुँदै थिए । अब के गर्नु ? चिसो लाग्ला भनेर घर भित्र लगेर भात खान दिंदै तातो र न्यानो कपडा लगाएर राख्न पनि नमिल्ने । 

आमा सारौँ नै भागेपछि ती बचेराहरुलाई खानेकुरा कसले खुवाउने ? हातको चामल फिर्ता लिएर घरभित्र छिरें । मझेरीमा पानी जमिरहेको थियो । भुइँमा राखिएको सबै सामानहरु डुबिसकेका थिए । मझेरीको बिचमा खाल्डो खनेर बनाइएको चुलोमा पानी भरिएर ओदान छोपिनै लागेको थियो । पानी कहाँबाट आयो ? एकछिन हेरेर वाल्ल परिरहें ।  ‘ओहो ! पानी त खंडप्वालबाट भित्र छिरिरहेको रहेछ । कसरी भयो त्यस्तो ?’ म हतारहतार प्लास्टिक ओडेर घरपछाडी हेर्न गएँ । पछाडीको ठुलो ढिस्को खसेर कर्सा पुरिएको रहेछ । आमा गोठमा भैंसीलाई घाँसपानी गर्दै हुनुहुन्थ्यो । पानी पर्दैमा भैंसीलाई भोक लाग्न छाड्दैन । आमा कहिले निथु्रक्कै रुझेर घाँस काट्न जानुहुन्थ्यो त कहिले गोबर फाल्न । आमाको व्यस्तता उस्तै थियो । जस्तो अघिपछि हुने गर्थ्यो । आमाको नजिकै गएर सबै कुरा बताएँ । आमाले घरभित्र गएर हेर्नुभयो । चामल, पिठो र अन्य भिजेर कुहिने खालका सामानहरुलाई निकालेर पिंढीमा राख्नुभयो । त्यसपछि हामी घरपछाडी गयौं । माथिको ढिस्को पुरै तल झरीसकेको थियो । अब त्यहाँबाट पहिरो जाने ठाउँ थिएन । आमाले कोदालो, कोदाली र साबेल लिएर आउनुभयो । हामी सबै मिलेर कर्साको पहिरो पन्छायौं ।  

पहिरो पन्छाउन निकै कठिन भयो । ठुला–ठुला ढुंगा र गेगर उचाल्दै फाल्दै गर्न निकै कठिन थियो । आमाको अनुहार पनि थकाइले रातो पिरो भएको थियो । आमाको अनुहार देखेर आफुलाई गाह्रो भएको कुरा भन्नै सकिंन । ढुंगा माटोको घर धेरै बेर पानीले भिज्यो भने गारो भत्किन सक्थ्यो । धन्न बेलैमा सुरक्षित बनाउन सकियो । त्यसपछि घरभित्र गयौं ।  घरभित्र पनि आहाल जमेको थियो । घुँडामाथि पुग्ने त्यो पानी फालेर कहिले सकिन्छ ? अत्यास लागेर आयो । सामान्य अवस्थामा त काम छल्न टाउको दुखेको देखि पेट दुखेको सम्मका बहाना बनाउन मिल्थ्यो । त्यस्तो बेला त केहि दुख्यो भने पनि नदुखेजसरी काम गर्नुपर्ने अवस्था थियो । घरको हालत देखेर सबै भन्दा धेरै त मन दुखेको थियो । के गर्नु ? जे दुखे पनि समस्याको समाधान हुनेवाला थिएन । आमाले बाल्टिन र बाटामा पानी उबाउने, हामीले लगेर फाल्ने ।  धेरैबेर फालेपछि बल्ल पानी सकियो । रातो मझेरी खैरो भएको थियो । जहाँ टेकेपनि चिप्लिएर लडिहाल्लाजस्तो । आमाले जसोतसो भुइँलाई चिल्लो बनाउनुभयो । 

साँझ पर्नै लागेको थियो । आमा आगो फुक्ने तरखरमा लाग्नुभयो । हामी दिनभरिको भागदौडले भिजेको कपडा फेर्न थाल्यौं । अँगेनु चिसो थियो ।  दाउरा पनि चिसो ।  सलाई पनि भिजेको रहेछ । तखताको माथिपट्टी लाइटर रहेछ । आमा चिसो हातले लाइटर प्याटप्याट पर्दै हुनुहुन्थ्यो । लाइटर बल्ल बल्ल बल्यो । आमाले सुरुमा टुकी बाल्नुभयो । त्यसपछि प्लास्टिकको पाइप सल्काएर दाउरा बाल्ने कोशिश गर्नुभयो । चिसो चुलोमा चिसो दाउरा किन बल्थ्यो । फेरि आमाले जर्किनमा भएको मट्टीतेल ल्याएर दाउरामा खन्याउनुभयो ।  आगो ह्वार्र बल्यो । एकछिनपछि दाउरा अलिअलि बल्न थाल्यो । तर चुलोबाट आगोभन्दा बढी धुवाँ पुत्पुताइरहेको थियो । धुवाँको मुस्लोले आँखा पिरो भयो । धुवाँको पिरोसंगै मनको पिरो पनि मिसिएर आँसु खस्न थाल्यो । धुवाँ लागेको बेला रुन सजिलो हुने रहेछ । आमाको आँखाबाट पनि आँसु खसिरहेको थियो । उहाँको आँखा मात्र पिरो थियो कि मन पनि, पत्ता लगाउन सकिंन ।  

आमाले धुवाँमै खाना बनाउनुभयो । दाल,भात, तरकारी, दुध सबै कुरामा धुवाँको गन्ध आइरहेको थियो । जसोतसो त्यसैले पेट भर्ने कोसिस गरियो । यो धुवाँको गन्धमात्र थिएन, विवशताको गन्ध थियो । सायद जीवनका कठिनाइका गन्ध थिए । हामीले खाना नमिठो भयो भन्न सकेनौं । चुपचाप खायौं, जति रुचेको ।  

खानपिन सकेर हामी सुत्न जाने तरखर गर्यौं । मटान र बुँइगलमा ढुंगाका छानो थियो । माथि पुगेपछि पो थाहा पायौं, ढुङ्गाका कापहरुबाट पानी चुहिएर सामानहरु निथु्रक्क भिजाइसकेको रहेछ । मकैको कुन्युमा पानी पसेछ । भकारीको आधाआधि पनि चिसो थियो ।  किताब कापी भिजेर पल्टाउनै नमिल्ने भएका रहेछन् । अरु कुराको भन्दा बढी किताब कापीको माया लाग्यो । रोइदिउँ, रोइदिउँ पनि नलागेको होइन । आमाले नदेख्नेगरि आँसु पुछें । आमा पानी चुहिएको ठाउँमा प्लास्टिक राखेर छानो टाल्ने तरखरमा हुनुहुन्थ्यो । टाल्नै नमिल्ने ठाउँमा भने बाल्टिन र बाटाहरु राखिदिनुभयो ।  

दिनभरिको थकानले निकै गलेका थियौं । घरका सबै समस्याको समाधान भैसकेपछि हामी सुत्न गयौं । आमा मटानबाट आँगनतिर हेर्दै टोलाउँदै हुनुहुन्थ्यो । हामी एकैछिनमा भुसुक्क निदायौं । हामीले सोच्यौं, आमा पनि सुत्नुभयो ।  तर धेरै पछि मात्र थाहा पायौं, पानी परेका हरेक रात आमा झिमिक्क पनि गर्नुहुन्न रहेछ । हामीलाई सुताएर हाम्रो पहरेदारी पो गर्नुहुँदोरहेछ ।