• शनिबार, ८ बैशाख, २०८१
  • ०७:२१:०९

उद्यम गर्न चाहने विद्यार्थीले अवसर पाउने

  • Netizen Nepal
  • बिहीबार, १९ श्रावण, २०७९- १८:११:००/ Thursday 08-04-22

नेटिजन संवाददाता 
काठमाडौँ, १९ साउन। विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीसँग उद्यमशीलताको सोच छ तर पुँजीको अभावमा त्यसलाई कार्यान्वयन गर्न नसक्नेलाई अवसर दिइने भएको छ ।

विश्वविद्यालय तहका विद्यार्थीबाट उद्यमशीलताको सोचको प्रतिस्पर्धा गराई छानिएकालाई लगानीको वातावरण बनाउन लागिएको हो । ‘कलेज आइडिया हन्ट २०२२’ का लागि अनलाइन आवेदन खुला गरिएको आइडिया स्टुडियोले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। 

पत्रकार सम्मेलनमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीले प्रतियोगिताका लागि अनलाइन माध्यमबाट उद्यमशीलताको सोच प्रस्तुत गरेर प्रतिस्पर्धामा सहभागी हुनसक्ने जानकारी दिनुभयो । आइडिया स्टुडियोले सन् २०१४ देखि यस्तो प्रतिस्पर्धा गर्दै आएको छ ।

प्रतिस्पर्धामा सहभागी भएर जित्नेले उद्यमशीलताका माध्यमबाट २०० जनासम्मलाई रोजगारी दिएको उदाहरण पनि कार्यक्रममा उहाँले प्रस्तुत गर्नुभयो । यो कार्यक्रमका लागि आइडिया स्टुडियोले राष्टिय युवा परिषद्, विश्ववन्यजन्तु कोष, त्रिभुवन विश्वविद्यालयलगायत निकायसँग सहकार्य गर्दै आएको छ ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले १६ देखि ४० वर्षबीचको युवा उमेरका जनसङ्ख्या ४० प्रतिशतभन्दा बढी रहेकाले युवालाई उद्यमशीलतामा आकर्षित गरी स्वदेशमै राख्ने नीतिअनुसार सहकार्य भइरहेको बताउनुभयो । हाल देशमा १० प्रतिशत युवाले मात्र रोजगारी पाउने गरेका छन् । बाँकी युवा विदेश जाँदा रचनात्मक काममा जनशक्तिको अभाव हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका उपनिर्देशक डा गङ्गाराम विश्वकर्माले शिक्षा सिद्धान्तमा आधारित हुँदा विद्यार्थीले प्रायोगिक र व्यावहारिक ज्ञान पाउन नसकेको बताउनुभयो । शिक्षालाई अनुसन्धान र व्यावहारिक ज्ञानमा पनि जोड्नुपर्ने उहाँको भनाइ थियो ।

यसअघि उद्यमशीलताको उत्कृष्ट सोच अघि सारी विजेता बन्न सफल उत्पला क्राफ्ट्सकी संस्थापक डोल्मा शेर्पाले एक जनाको सोचले के हुन्छ र भनेर नबसी अघि बढे सफलता पाउन सकिने अनुभव सुनाउनुभयो । विगतमा यस्तै प्रतियोगितामा विजयी हुनुभएकी विजेता अंशु प्रधानले अहिले बेत बाँसबाट बन्ने उद्योगका माध्यमबाट राम्रो आयआर्जन गर्न सफल भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका देशीय प्रतिनिधि डा घनश्याम गुरुङले अब उद्योग व्यवसाय सञ्चालन एवं विकास निर्माणका काम गर्दा वातावरण मैत्री हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । सन् २०१४ देखि सुरु भएको यो कार्यक्रममा हालसम्म २०० कलेजका दुई हजार ५०० विद्यार्थीले करिब ८०० उद्यमशीलताको सोच प्रस्तुत गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।