• शनिबार, ८ बैशाख, २०८१
  • ०९:३७:५८

दाप्चा–नमोबुद्ध सडकखण्ड सरसफाइ अभियान सुरु 

  • Netizen Nepal
  • शुक्रबार, २० श्रावण, २०७९- १७:५९:००/ Friday 08-05-22

नेटिजन संवाददाता 
काठमाडौँ, २० साउन । ऐतिहासिक तथा धार्मिक क्षेत्रसमेत रहेको नमोबुद्ध नगरपालिकाले नमोबुद्ध गुम्बा हुँदै ऐतिहासिक पुरानो बजार क्षेत्र रहेको दाप्चा जोड्ने सडकखण्डको सरसफाइ अभियान थालिएको छ । 

नगरपालिकाले पर्यटकीय क्षेत्रमा सुन्दर र हराभरा बनाउने उद्देश्यले सरसफाइ अभियान थालेको नगरपालिकाले जनाएको छ । पर्यटकीय क्षेत्रमा घुम्न जानेका लागि सुन्दर हराभरा स्थल निर्माण गर्न र त्यसको संरक्षण संवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व भएकाले त्यसको उचित व्यवस्थापनको लागि सरसफाइ अभियान थालेको नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बताउनुभयो । 

सो क्रममा नमोबुद्ध गुम्बा क्षेत्र प्रवेश गर्ने फूलबारीडाँडादेखि दाप्चा माथिल्लो हटिया हुँदै तल्लो हटिया र काँक्रेसम्मको सडकखण्ड आसपासमा सरसफाइ गरिने भएको छ । “हामीले बिहीबारदेखि सरसफाइ अभियान सुरु गरेका छौँ”, नगर प्रमुख लामाले भन्नुभयो, “सडक निर्माण गरेपछि ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ने बेलामा पानी सडकमा बगेर क्षति हुने भएकाले सडक विभागसँग समन्वय गर्दै नगरपालिकाले आफ्नो दायित्व पूरा गर्न नाली सफा गर्ने, सडक आसपासका झाडी सफाइलगायतका काम थालेका हौँ ।”

मुख्य सडक मार्गमा फालिएका फोहर टिप्ने, पहिरो पन्छाउने, ढल, नालीसमेत सफा गरिने कार्य जारी रहेको नगर प्रमुख लामाले बताउनुभयो । “वडा कार्यालयलाई क्रियाशील बनाएर आम नागरिक र घुम्न पुगेका पर्यटकका लागिसमेत सचेतना जगाउने उद्देश्यले अभियानका रुपमा सरसफाइ सुरु गरेका हौँ”, नगरप्रमुख लामाले भन्नुभयो । सो क्रममा नगरपालिकाले विभिन्न स्थानमा फोहर फाल्ने भाँडासमेत व्यवस्था गरेको छ ।

फूलबारीदेखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्मको सडकखण्डमा हुने सरसफाइ कार्य सम्पन्न नभएसम्म जारी रहने नगरपालिकाले जनाएको छ । यसअघि पनि विश्व वातावरण दिवसको सन्दर्भ पारेर नगरपालिकाले बिपी राजमार्ग सडकखण्डअन्तर्गत भकुण्डेवेशी बजार क्षेत्रमा साताव्यापी सरसफाइ अभियान चलाएको थियो । बजारका विभिन्न स्थानमा फोहर फाल्ने भाँडा राखेपछि पहिलाको तुलनामा बजार सफा देखिएको स्थानीय बासिन्दा बताउँछन् । नगरको फोहर व्यवस्थापनका लागि अन्य पहलसमेत भइरहेको नगरपालिकाले जनाएको छ ।